
काठमाडौं, २३ जेठ – झण्डै डेढ घण्टा सदनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवामाथि खनिएका एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डबाट जवाफी 'फायरिङ' बेहोरेका छन् ।
मंगलवार सदनमा ओली र देउवा पछि बोलेका प्रचण्डले ओलीले उठाएका हरेक प्रश्नको जवाफ दिएका छन् । विशेषगरि भरतपुरमा भएको घटनाप्रति निकै आक्रमक ढंगले प्रस्तुत भए । ‘भरतपुरमा भएको घटना अत्यन्तै गलत हो,’ प्रचण्डले सदनमा भने, ‘मैले त निर्वाचन आयोगका प्रमुखलाई त्यहाँ गलत भएको छ, तपाईंहरुलाई जे ठीक लाग्छ त्यही गर्नुहोस् भनेर भनेको थिएँ ।’
ओलीले भरतपुर घटना प्रति सदनमा प्रचण्डको जवाफ मागेका थिए । प्रचण्डले सदनमा भरतपुरमा भएको घटना गलत भएको तर त्यसको निकास निर्वाचन आयोगले निकाल्ने उत्तर दिए ।
निर्वाचन आयोग संबैधानिक अंग भएकोले उसको निर्णय नै मान्नु पर्ने अवस्था रहेको बताए । अझ अहिले त सो विषय अदालतमा प्रवेश गरेकोले अब त्यसको टुंगो अदालतबाटै लाग्ने प्रचण्डले बताए ।
तर भरतपुर घटनाको विषयलाई लिएर एमालेले माओवादीको लोकतन्त्रमाथिको निष्ठामा गम्भीर प्रश्न उठाएको प्रति चाहिँ प्रचण्ड निकै आक्रमक रुपमा प्रस्तुत भए । ‘भरपुरको एउटा वडामा भएको घटनाको विषयलाई लिएर तपाईंहरुले हामी माथि शंका गर्न मिल्छ ?,’ प्रचण्डले भने, ‘हामीले नचाहेको भए सेना समायोज, शान्ति प्रक्रिया लगाएका विषय टुंगोमा पुग्थे कि पुग्दैनथिए ?’
साथै प्रचण्डले बरु आफूहरुलाई लोकतान्त्रिकरण हुन कति समय लागेको हो त्यो विषयमा एक पटक सोच्न ओलीलाई आग्रह गरे । यस विषयमा उनले माओवादीले दोस्रो संबिधानसभामा हार्दै गर्दाको दृष्टान्त पनि सुनाए ।
‘हामीले दोस्रो संबिधानसभा चुनावमा हार्दै गर्दा मलाई साथीहरुले हार सहन सकिँदैन । मत पत्र जलाऔं । च्यातौं भनेर भन्नुभएको थियो,’ उनले भने, ‘तर मैले त्यो कुरा मानिन, हाम्रो लोकतन्त्रमाथिको निष्ठामा गम्भीर आघात पर्ने भएकोले परिणाम स्वीकार्नुपर्ने अडान लिएँ ।’
मध्य रातमा मतपत्र च्यात्ने कि भन्ने छलफल भएको भएपनि आफूहरुले त्यसो नगरेको बताए । बरु सहन नसकेर मतगणना स्थल छोडेको चाहिँ उनले बताए ।
त्यसैले भरतपुरको एउटा वडामा कम मत आउँदैमा माओवादीले मत पत्र च्यात्ने डिजाइन गर्न नसक्ने उनले बताए । ‘भरतपुर घटना अत्यन्तै अनपेक्षित हो,’ उनले भने, ‘एमालेले हाम्रो लोकतन्त्रप्रतिको निष्ठामा शंका गर्न मिल्दैन ।’
उनले ओलीलाई आफूहरुको लोकतन्त्र प्रतिको इमान्दारिताको प्रमाण के के चाहियो भनेर प्रतिप्रश्न समेत गरे । ओलीले भरतपुरमा भएको घटनामा ‘ग्रान्ड डिजाइन’ भएको र त्यसका भित्रि कुरा खोलेमा लाज हुने बताएका थिए ।
तर, प्रचण्डले ओलीलाई जवाफी 'फायरिङ' गरे, ‘तपाईंलाई भन्न त के लाज भयो र ? भन्नुहोस न, म सबै प्रश्नको जवाफ दिन तयार छु ।’ गलत गर्नेलाई लाज लाग्ने भएकोले ओलीले भन्दैमा लाज मान्नु पर्ने अवस्था नरहेको भनेर प्रचण्डले व्यंग्य समेत गरे ।