२६ जेठ २०८३, मंगलबार

भरतपुर अस्पतालमा कोभिडका बिरामी घटे, सुत्केरी सेवा लिने बढे

असार १८, २०७८
भरतपुर अस्पतालमा कोभिडका बिरामी घटे, सुत्केरी सेवा लिने बढे

भरतपुर अस्पतालमा कोभिडका बिरामी घटेसँगै सुत्केरी सेवा लिनेको संख्या बढेको छ । कोभिडका बिरामी बढी हुँदा जोखिम बढ्न सक्ने भन्दै बाहिर महँगो खर्चमा सुत्केरी गराउने गरिएको थियो ।

भरतपुर अस्पतालमा निःशुल्क प्रसूति सेवा दिइन्छ । शल्यक्रिया गर्नुपरेमा त्यही सेवाका लागि निजीमा चर्को शुल्क असुल्ने गरिन्छ । 

अस्पतालका स्त्री तथा प्रसूति रोग विभागका प्रमुख डा. सुनिलमणि पोख्रेल कोभिडका बिरामी घटेसँगै प्रसूतिका बिरामी बढेको बताउँछन् । 

कोभिडका बिरामी धेरै हुँदा दैनिक १२ देखि १५ जना अस्पतालमा सुत्केरी हुने गरेकोमा यो संख्या बढेर २० देखि २५ पुगेको उनको भनाइ छ ।

विगतका वर्षहरूमा अस्पतालमा दैनिक ३५ देखि ५० जनासम्मले सो सेवा लिएको स्मरण गर्दै उनले क्रमशः बढ्दै जाने बताए । 

प्रसूतिमध्ये ३६ प्रतिशत हाराहारीको शल्यक्रिया गरिने गरेको पोख्रेलको भनाइ छ । विगतमा यो प्रतिशत ३० हाराहारी थियो । 

कोभिडका बिरामी बढ्दै गर्दा पनि भरतपुर अस्पताल सुत्केरीका लागि सुरक्षित रहेको उनको तर्क छ । अस्पतालको स्त्रीरोग विभागमा १२ विशेषज्ञ चिकित्सकसहित स्नातकोत्तर गर्दै गरेका चिकित्सक र ७० नर्स छन् ।

अस्पतालका रहेका क्याबिनमा कोभिडका बिरामी रहेकाले सुत्केरी भएकालाई समस्या भएको छ । हाल १४ पुराना क्याबिनबाहेक अन्यत्र सबैमा कोभिडका बिरामी छन् । 

अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले यो हप्ता हेरेर अर्को हप्ताबाट कोभिडका बिरामी राखिएको क्याबिन खाली गरेर सुत्केरी लगायतका बिरामीलाई दिइने जानकारी दिए । 

अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले असार १ गते १२ जना सुत्केरी भएकोमा १५ गते २४ पुगेको जानकारी दिए ।

अस्पतालमा १९० कोभिडका बिरामी राख्न मिल्छ । कोभिडका बिरामी बढ्दा जेठको पहिलो साता अधिकांश शय्या भरिएको पौडेलले जानकारी दिए। आज यो संख्या ७० मा झरेको छ । 

अस्पतालमा कोरोना सङ्क्रमित महिलाको समेत प्रसूति गरिन्छ । निजी अस्पतालले प्रसूति गराउनु पर्ने महिला सङ्क्रमित भएमा पनि भरतपुर अस्पताल पठाउने गर्दछन् । कोरोना संक्रमण देखिए यता अस्पतालमा ३२ संक्रमितले सुत्केरी सेवा लिइसकेका छन् । तीमध्ये १० जनाको शल्यक्रिया गरिएको हो । पौडेलले संक्रमित प्रसूतिका बिरामीलाई राख्ने र शल्यक्रिया गर्ने ठाउँ छुट्टै भएकाले आमाहरूले सुरक्षित महसुस गर्ने गरेको जानकारी दिए । 

उनका अनुसार यहाँ चितवनसहित १९ जिल्लाका महिला प्रसूतिका लागि आउँछन् । 

salt training

कमेन्ट गर्नुहोस्