भारतको उत्तराखण्डका नवनियुक्त मुख्यमन्त्री पुष्कर सिंह धामीले शपथ लिनुअघि उनको एक पुरानो विवादित ट्वीटको चर्चा चल्न थालेको छ ।
६ वर्षअघि उनले ट्वीट गर्दै अखण्ड भारतको नक्सा देखाएका छन् । त्यसमा नेपालको भूभाग पनि भारतभित्र परेको देखाइएको छ ।
तर भारतीयहरूले नै उक्त नक्सा समस्याग्रस्त रहेको बताइरहेका छन् । उनीहरूका अनुसार, उक्त नक्सामा लद्दाखका कतिपय भूभाग तथा पाकिस्तान अधीनस्थ कश्मीरको भूभाग परेको छैन ।
— Pushkar Singh Dhami (@pushkardhami) August 14, 2015
भारतमा नक्सासँग छेडछाड गरेर देखाउने धेरैजना समस्यामा परेका छन् । हालै मात्र सामाजिक सञ्जाल ट्विटरले आफ्नो वेबसाइटमा भारतको गलत नक्सा देखाएपछि प्रहरीसमक्ष दुईवटा उजुरी दायर गरिएको छ । पोहोर साल पनि ट्विटरले लेहलाई चीनको एक भाग भनी देखाएको थियो ।
धामी उत्तराखण्डमा विगत चार महिनामा तेस्रा मुख्यमन्त्री हुन् । उनले आज बेलुका ५ बजे शपथ लिँदैछन् ।
तीरथ सिंह रावतले पदबाट राजीनामा दिएपछि यी ४५ वर्षीय सांसद मुख्यमन्त्री बन्न लागेका हुन् । उत्तराखण्ड भाजपामा आन्तरिक संघर्ष चर्को छ ।