२६ जेठ २०८३, मंगलबार

भारतीय नागरिकको हत्या प्रकरण- चोरीतर्फ पनि मोडियो अनुसन्धान !

असार २०, २०७८
भारतीय नागरिकको हत्या प्रकरण- चोरीतर्फ पनि मोडियो अनुसन्धान !

ललितपुर महानगरपालिका– २ सानेपास्थित एक घरमा मृत फेला परेका भारतीय नागरिक ५९ वर्षीय सत्यनारायण तारिकको हत्या चोरी गर्ने उद्देश्यले भएको हुनसक्ने देखिएको छ ।

महानगरीय प्रहरी परिसर ललितपुरकी प्रमुख एसएसपी किरण बज्राचार्यका अनुसार बेडरूममा रहेको दराज र माथिल्लो कोठाको अर्को बेडरूममा रहेको स्टिलको दराज दुबै ह्यामरले हानेर फुटाएको अवस्थमा छ ।

सिंगो घरमा एक्लै बस्दै आएका सत्यनारायणको मेन गेट (च्यानल गेट) बन्द थियो भने दोस्रो तल्लाको झ्यालको तार च्यातेर भित्र पसेको देखिएको एसएसपी बज्राचार्यले बताइन् ।

‘झ्यालबाट भित्र छिरेको र बाहिर निस्केको पाइलका डामहरू देखिएका छन्,’ एसएसपी बज्राचार्यले भनिन्, ‘त्यसरी हेर्दा ढोकाबाट नभएर झ्यालबाट चोर्नकै लागि छिरेको देखिन्छ ।’ 

चोरी गर्न आएका व्यक्तिको प्रतिकार गर्दा उनीमाथि आक्रमण भएको हुनसक्ने संकेत ‘क्राइम सीन’ले गरेको प्रारम्भिक अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले जानकारी दिए ।

प्रहरी घटनास्थलमा पुग्दा पुरानो घरको दोस्रो तल्लाको बेडरूमको खुट्टे पलङमा घोप्टो परेको र रातो ब्ल्याङ्केटले छापेको अवस्थामा शव फेला परेको थियो । बेड रगताम्मे अवस्थामा थियो ।

प्रहरीले घटनास्थलमा तालिमप्राप्त २ वटा कुकुर समेत प्रयोग गरेको थियो । ती कुकुर घटनास्थलबाट भित्री गल्ली हुँदै केही पर पुगेर फर्किएका थिए ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा घटना शुक्रवार राति भएको देखिएको छ । त्यो बेलुका ठूलो पानी परेकाले कुकुरलाई अपराधीसम्म पुर्‍याउन नसकिएको अनुसन्धानमा खटिएका ती प्रहरी अधिकृतले बताए ।

घटनास्थलमा उनले प्रयोग गर्दै आएको एउटा मोबाइल छियाछिया हुने गरी फुटाइएको अवस्थामा पाइएको थियो भने अर्को मोबाइल सकुशल अवस्था थियो ।

प्रहरी घटनास्थलमा पुग्दा टिभी, बत्ती बलिरहेको थियो । त्यसैले हत्या रातिमा भएको हुनसक्ने प्रहरीले जनाएको छ ।

न्युरोडको एट्लान्टिक कम्प्युटर प्रालिमा सेल्स म्यानको काम गर्दै आएका उनी विगत २ वर्षदेखि उक्त कम्पनीमा कार्यरत थिए ।

उनी १० वर्षदेखि सानेपाको घरमा बस्दै आएको खुलेको छ ।

भारतको राजस्थान घर भएका सत्यनारायणकी श्रीमतीको ८ वर्ष अगाडि मृत्यु भएको थियो भने छोरीको भारतमै विवाह भएको कम्पनीका हेड अफ डाइरेक्टर प्रकाश ठाकुरले बताए ।

उनका अनुसार एक वर्षअगाडि कामकै क्रममा तारकेश्वर नगरपालिकाको जरंखुमा बाइक स्लीप भएर दुर्घटना हुँदा उनको दायाँ खुट्टा भाँचिएको थियो । उनले त्यस यता कोठाबाटै फोनबाट काम गर्दै आएका थिए । 

उनले मासिक ६५ हजार रुपैयाँ तलब बुझ्ने गरेको खुलेको छ । त्यसमध्येबाट २ जनालाई ६/६ हजार तलब दिएर खान पकाउन राखेका थिए ।

कसरी थाहा पायो प्रहरीले ?

उनले बिहान र बेलुका खाना पकाउन २ जना छुट्टाछुट्टै महिला राखेका थिए । बिहान खाना पकाउने ४० वर्षीया महिला र बेलुका खाना पकाउने अन्दाजी १९/२० वर्षीया युवती छन् ।

युवतीले भने सरसफाइको काम पनि गर्दै आएको छिमेकीले बताएका छन् ।

प्रहरीका अनुसार शुक्रवार बेलुका ८ः३० मा सत्यनारायण र ४० वर्षे महिलाबीच केही समय फोनमा कुराकानी भएको देखिएको छ । 

ती महिलाले प्रहरीसँगको बयानमा भोलि शनिवार भएकाले बिहान खाना पकाउन आउँदिनँ भन्नका लागि फोन गरेको बताएकी छन् ।

उनी डल्लु बस्दै आएकी छिन् ।

‘भोलि शनिवार बिहान खाना पकाउन आउँदिनँ, बरु बेलुका आउँला भनेर कुरा भएको उनले हामीलाई बताएकी छन्,’ एसएसपी किरण बज्राचार्यले भनिन् ।

उनी शनिवार बेलुका खाना पकाउन आइन्, तर भित्रबाट च्यानल गेट लगाइएको थियो । बत्ती भने बलेकै अवस्थामा थियो । 

उनले फोन गरेको र फोन नउठेको प्रहरीलाई बताएकी छन् । त्यसपछि उनी फर्किइन् ।

आज बिहान (आइतवार) ७ बजे खाना पकाउन आइन्, तर हिजोकै जस्तै भित्रबाट च्यानल गेट बन्द थियो र बत्ती पनि बलिरहेको थियो ।

त्यसपछि उनले भारतको राजस्थानमा रहेकी उनकी छोरीसँग सम्पर्क गरिन् । सत्यनारायणले काम गर्ने कम्पनीका म्यानेजरलाई पनि फोन गरिन् ।

त्यसपछि प्रहरीलाई खबर गरेको देखिएको छ । प्रहरी घटनास्थलमा बिहान करीब साढे ७ मा पुगेको थियो ।

शंकाको घेरा तयार पार्दै प्रहरी

प्रहरीले अनुसन्धानको एउटा घेरामा काम गर्ने २ जना महिलालाई राखेको छ । सेल्समा काम गर्ने सत्यनारायणले आर्थिक वर्षको अन्त्यमा पैसा संकलन गरेको हुनसक्ने र त्यही पैसा चोरी गर्ने उद्देश्यले हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

‘काम गर्ने कामदारहरू पनि शंकाको घेरामा हुनु स्वाभाविक हो, यो अनुसन्धानको एउटा पाटो पनि हो, तर वास्तविक कुरा अनुसन्धानपछि नै खुल्ला,’ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले लोकान्तरसँग भने । 

प्रहरीले अहिले सत्यनारायणको शव उठाएर पोष्टमार्टमका टिचिङ अस्पताल पठाएको छ ।

प्रहरीले उनको मोबाइलको कल डिटेल लिएर उनीसँग कुराकानी भएका व्यक्तिहरूका बारेमा पनि खोजतलास गरिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्