
अफ्रिकाबाट युरोपका लागि प्रस्थान गरेका आप्रवासीहरू चढेको डुंगा ट्युनिसियाली सामुद्रिक तटमा दुर्घटना हुँदा कम्तीमा ४३ जनाको मृत्यु भएको छ ।
लिबियाको जुवारा बन्दरगाहबाट आप्रवासी लिएर छुटेको डुंगा भूमध्य सागर पार गर्ने क्रममा ट्युनिसियाको जार्जीस नजिक डुबेको हो । १२७ जना आप्रवासी चढेको उक्त डुंगा दुर्घटनामा परेका कम्तीमा ८४ जनाको उद्धार गरिएको छ ।
मृत्यु हुनेहरूमा अधिकांश महिला र बालबालिका छन् । डुंगामा लिबिया, सुडान, बंगलादेश, इजिप्ट र इरिटियाका नागरिकहरू यात्रारत रहेको बताइएको छ ।
डुंगा दुर्घटना हुनुको प्रमुख कारण इन्जिनमा आएको खराबी भएको प्रारम्भिक अनुमान गरिएको छ । घटनाबारे अनुसन्धान थालिएको छ । दुर्घटनाग्रस्त डुंगामा क्षमताभन्दा बढी यात्रु सवार थिए ।