
मकवानपुरका फरक दुई स्थानमा आज बिहान दुई पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
बिहान करिब ५ः३० बजेको समयमा बकैया गाउँपालिका–३ स्थित बकैयाखोला पुलको रडमा सलको पासो लगाई झुण्डिएको अवस्थामा दाङ बबई गाउँपालिका स्थायी ठेगाना भएका हाल बकैया–४ तामाखोला बस्ने ३५ वर्षीय भीमबहादुर खत्रीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए। उनका अनुसार मृतक खत्री स्थानीय क्रसर उद्योगमा मजदुरी गर्दै आउका थिए ।
त्यसैगरी हेटौँडा उपमहानगरपालिका–२ सङ्गमचोकस्थित आफ्नै डेरामा एक पुरुष मृतावस्थामा फेला परेका छन् । दैनिक ज्याला मजदुरी गरी जीवनयापन गर्दै आएका डिके भनिने करिब ५० वर्षीय पुरुषको शव बिहान ७ः०० फेला परेको प्रहरी उपरीक्षक रिमालले जानकारी दिए। डिके भनिने पुरुषको थप पहिचान खुल्न सकेको छैन ।
दुवै शव परीक्षणका लागि हेटौँडा अस्पताल ल्याउने तयारी भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।