
प्रधानमन्त्री केपी शर्मा ओलीले एउटै दलका सदस्य सत्ता र प्रतिपक्ष बन्ने परिकल्पना लोकतन्त्रमा नगरिने बताएका छन् ।
मंगलवार दिउँसो देशवासीका नाममा सम्बोधन गर्दै ओलीले सर्वाेच्चको अपब्याख्याले पछि फर्किने गरी संविधानको संशोधन गरेको बताए ।
सर्वाेच्चले धारा ७६(५) मा दलीय ह्वीप नलाग्ने फैसला गरेपछि ओलीले असन्तुष्टि व्यक्त गरेका छन् ।
‘यस राजनीतिक विकृतिको मूल्य चुकाउनुपर्नेछ । अत्याधिक न्यायिक सक्रियता देखियो,’ उनले भने ।
ओलीले प्रतिनिधिसभा पुनःस्थापना गर्दै सर्वाेच्च अदालतले गरेको फैसलाको भाषाले चिन्तित तुल्याएको बताए । उनले सर्वाेच्चको फैसलाका असर लामो समयसम्म रहिरहने बताए ।
‘लोकतन्त्रको रक्षामा यी फैसला सहयोगी रहे कि असहयोगी ? यसबाट दलीय व्यवस्था बलियो भयो कि कमजोर ? यसको समीक्षा भविष्यले गर्ने नै छ,’ उनले भने ।
फैसलाको पालना गर्ने विषयमा पार्टी स्पष्ट रहेपनि फैसलाको भाषाले चिन्तित तुल्याएको उनले बताए । निर्वाचन लोकतन्त्रको प्राणवायु भएपनि जनतामा जाने कार्यलाई निरंकुश भन्ने प्रचारबाजी भएको गुनासो उनले गरे ।