२६ जेठ २०८३, मंगलबार
केन्द्रीय कमिटी बैठक

एमालेले थाल्यो चुनाव केन्द्रित छलफल : केही मान्छे बाहिरिँदा कस्तो प्रभाव पर्न सक्छ ?

एमालेले थाल्यो चुनाव केन्द्रित छलफल : केही मान्छे बाहिरिँदा कस्तो प्रभाव पर्न सक्छ ?

नेकपा एमालेको बैठकमा आगामी चुनाव केन्द्रित छलफल हुन थालेको छ ।

मंगलवारको केन्द्रीय कमिटी बैठकमा एमालेका सातै प्रदेशका अध्यक्षहरूले आगामी निर्वाचनमा हुनसक्ने पार्टीको अवस्थाबारे रिपोर्टिङ गरेका छन् ।

बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले प्रदेश अध्यक्षहरूले पार्टीको अवस्थाबारे जानकारी दिएका बताए । ‘पार्टीबाट केही मान्छे बाहिरिँदा कस्तो प्रभाव पर्न सक्छ, आसन्न निर्वाचनमा एमालेको अवस्था कस्तो रहन सक्छ भनेर छलफल भयो,’ उनले भने ।

प्रवक्ता ज्ञवालीले भने, ‘विभिन्न प्रदेशबाट प्रदेश कमिटीका अध्यक्षबाट रिपोर्ट सुन्यौं । उहाँले आफ्नो प्रदेशमा एमालेको संगठनात्मक अवस्था कस्तो छ ? राजनीतिक शक्ति सन्तुलनको अवस्था कस्तो छ ? पार्टी गतिविधि कस्ता छन् भनेर छलफल भयो । पार्टीभित्र रहेको अन्योल छिटोभन्दा छिटो समाप्त भएर पार्टी लयमा अगाडि बढ्नुपर्छ, पार्टीलाई चुस्तदुरुस्त बनाउनुपर्छ, अभियान, प्रशिक्षण अगाडि बढाउनुपर्छ । सरकारमा रहँदा गरेका कामबारे पार्टीपंक्तिलाई जानकारी गराउनुपर्छ । आफ्नै पनि केही कमी छन् भने गहन आत्मसमीक्षा गर्नुपर्छ भन्ने निष्कर्ष रह्यो ।’

प्रदेशबाट उठेका प्रश्नमाथि बुधवारको बैठकमा महासचिव ईश्वर पोखरेलले जवाफ दिने ज्ञवालीले बताए ।

बैठकले पार्टीको विवाद समाधानका लागि बनेको कार्यदलले गरेको १० बुँदे सहमतिलाई सिर्जनात्मक ढंगले कार्यान्वयन गर्ने दृष्टिकोण बनाएको छ । प्रवक्ता ज्ञवालीले बैठकमा कार्यदलका संयोजक सुवासचन्द्र नेम्वाङले १० बुँदे सहमतिबारे जानकारी गराएका बताए ।

‘बैठकमा १० बुँदेलाई सिर्जनात्मक ढंगले कार्यान्वयन गर्ने दृष्टिकोण निर्माण भयो,’ प्रवक्ता ज्ञवालीले भने ।

नयाँ सरकारले सुकुम्वासी आयोग विघटन गर्न खोजेको चर्चाबारे समेत बैठकमा छलफल भएको प्रवक्ता ज्ञवालीले बताए । उनले भने, ‘सरकारले भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने आयोगलाई विघटन गर्न खोजिएको चर्चा छ । आयोगका अध्यक्ष देवी ज्ञवालीले गरेका कामबारे बैठकलाई जानकारी गराउनुभयो । ७५३ वटै स्थानीय तहसँग सम्झौता गरेर लगत संकलन गरेको, स्थानीय तहबाट प्रमाणीकरण गर्ने र वास्तविक भूमिहीनलाई राज्यबाट जग्गा उपलब्ध गराउने काम आयोगले गरिरहेको छ, राजनीतिक आग्रह राखेर विघटन गरे गलत हुनेछ भनेर उहाँले बैठकलाई जानकारी गराउनुभएको छ ।’

बैठक भोलि बुधवार दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ । केन्द्रीय कमिटी बैठक सोमवारदेखि शुरू भएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्