२६ जेठ २०८३, मंगलबार

सन्थालको व्यवस्थित बस्ती बनाउँदै सरकार, यी सुविधासहित संरचना बनाइँदै

साउन ८, २०७८
सन्थालको व्यवस्थित बस्ती बनाउँदै सरकार, यी सुविधासहित संरचना बनाइँदै

मोरङको उर्लाबारीमा सन्थाल जातिको व्यवस्थित बस्ती निर्माणका लागि ठेक्का सम्झौता भएको छ ।

अल्पसंख्यक र लोपोन्मुख जातिको उत्थान गरी उनीहरूलाई व्यवस्थित र एकीकृत बस्तीमा बसाउने कार्यक्रमअन्तर्गत बस्ती निर्माणको सम्झौता भएको हो ।

शहरी विकास मन्त्रालय अन्तर्गतको संघीय आयोजना कार्यान्वयन एकाइका प्रमुख गंगाप्रसाद यादवले मोरङको उर्लाबारी नगरपालिकास्थित रातोहोली खोल्सी किनारमा बस्ती निर्माण गर्न लागिएको जानकारी दिए ।

उनले भने, ‘सन्थाल बस्ती निर्माणका लागि सम्झौता भई ठेकेदार कम्पनीले कार्यादेश समेत पाइसकेको छ । अब काम छिट्टै शुरू हुन्छ ।’

यसअघि सो बस्ती निर्माणका लागि गुरुयोजना तथा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण सम्पन्न भइसकेको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष फागुन १८ गते सो बस्ती निर्माणको शिलान्यास गरेका थिए ।

एकाइ प्रमुख यादवका अनुसार अबको २ वर्षभित्र सो एकीकृत बस्तीको निर्माण सम्पन्न हुनेछ । कूल लागत १८ करोड रुपैयाँमा निर्माणको जिम्मा सगुन/शर्मा (ज्वाइन्ट भेञ्चर) ले पाएको छ । अहिले नदी किनारामा ७० सन्थाल घरपरिवार नरकट र खरको छानाले बारेर बनाएको घरमा बसिरहेका छन् ।

बस्तीसँगै सामाजिक तथा आर्थिक पूर्वाधारअन्तर्गत विद्यालय, स्वास्थ्य चौकी, सडक, खानेपानी, बिजुली बत्ती, मनोरञ्जन स्थल, खोल्सी संरक्षण, सरसफाइ, बाल विकास केन्द्र, सामुदायिक भवन लगायतको संरचना पनि निर्माण गरिने उनले जानकारी दिए ।

सन्थाल जातिका लागि सात विघा क्षेत्रफलमा १३२ घर निर्माण सहितको बस्ती विकास भइरहेको छ । प्रतिपरिवारलाई ३५ वर्गमिटर क्षेत्रफलमा २ वटा कोठा, एउटा भन्साकोठा, एउटा चर्पी र स्नान घर सहितको घर निर्माण गरी वितरण गरिने छ ।

उनले भने, ‘समग्रमा प्रतिघरपरिवार ८० वर्गमिटर जग्गा पर्न आउँछ । कूल १८ करोड रुपैयाँको लागतमा सो बस्ती निर्माण भइरहेको छ । अबको १८ महिनामा घर निर्माण सम्पन्न भई बढीमा २ वर्षभित्र घर उहाँहरूलाई वितरण भइसक्ने छन् ।’ जम्मा १२६ घर निर्माण गरिने छ ।

सो ठाउँमा सन्थाल समुदायको कुल १३२ घरपरिवारको बसोबास रहेको छ । राष्ट्रिय जनगणना–२०६८ अनुसार मुलुकभरि सन्थाल जातिको कूल जनसंख्या करीब ५२ हजार रहेको छ । गोरखापत्र दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्