सावनको डोलामा पिङ खेल्दै रानाथारु गाउँका दिदीबहिनी

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारीका रानाथारु समुदायका व्यक्तिले गाउँको बीच भागमा दिदीबहिनीका लागि डोला (पिङ) राखेका छन् ।


Advertisement

साउनको पहिलो सातामै राना समुदायले डोला राखेका हुन् । यो रानाथारु समुदायको परम्परागत चलन हो ।


Advertisement

रानाथारु बसोवास गर्ने गाउँमा साउनमा सार्वजनिक स्थानमा पिङ राख्ने गरिन्छ । परम्परागत पहिरनमा सजिएका राना थारु महिलाहरु आफ्नै स्थानीय भाषा र परम्परागत शैलीमा गीत गाउदै पिङमा मच्चिएर आनन्द लिने गर्दछन् ।

सामूहिक भेला हुने सार्वजनिक ठाउँमा दाजुभाइले दिदीबहिनीहरुका लागि पिङ राख्ने चलन पुरानै रहेको भलमन्सा रामप्रसाद रानाले बताए । ‘यो चलन परम्परागतरूपमा चल्दै आएको छ,’ उनले भने,  ‘दिदीबहिनीहरूले पिङमा मच्चिँदै रमाइलो गर्दै माङ्गलिक गीतहरू गाउने गर्दछन् । पिङलाई रानाथारु भाषामा डोला भन्ने गरिन्छ । ४ वटा काठको खाँबोमा डोरीमा काठको फल्याक बाँधेर पिङका रूपमा प्रयोग गरिन्छ ।


Advertisement

पिङ खेल्ने दिदीबहिनीको उत्साह थप्नका लागि ठूलो आवाजमा दाजुभाइले गीत गाउने चलन यस समुदायमा रहेको छ । यसबाट दिदीबहिनी र दाजुभाइबीच आत्मीयता बढ्ने भएकाले यसलाई बढी महत्त्व दिइने गरिएको राना थारु अगुवा गेंदुराम रानाले बताउँछन् ।

दिदीबहिनीले पानी समेत नपिएर निराहार बसी दाजुभाइको दीर्घायुको कामना गर्ने गर्दछन् । यसै अवसरमा उनीहरुले तीज मनाउने गर्दछन् । निराहार बसेका दिदीबहिनीले प्रसादका रूपमा परम्परागत पकवान सिमही, पपरा, पुरी, गुलगुला बनाउने गर्दछन् । 

गडरौंदा जातको घाँसमा विवाहिताले सात गाँठा र अविवाहिताले पाँच गाँठा पारी चाँदीको गहनाले काटेर नदीको बीच भागमा पुगेर बत्तिसँगै विसर्जन गर्ने चलन रहेको छ । विसर्जन गर्ने बेला दिदीबहिनीले दाजुभाइलाई धन सम्पत्ति, उन्नति र नदीको धार जस्तै दाजुभाइको आयु बढोस् भनी वरदान माग्ने गर्दछन् । जति टाढा घाँस बगेर जान्छ त्यति बढीनै दाजुभाइको आयु बढ्ने विश्वास यस समुदायमा रहेको छ । विसर्जन गर्न जाने बेला गाँउका युवाहरुले दिदीबहिनीहरुलाई बाटोमा लामो डोरीमा बेरेर घेर्ने प्रयत्न गरी हँस्यौली ठट्यौली र मनोरञ्जन लिने गर्दछन् । यसलाई राना थारु भाषामा झुड्की छिराउने भन्ने गरिन्छ ।
   
माइतीलाई भेट्न नपाएका दिदीबहिनीहरु यसै अवसरको सदुपयोग गर्दै भेटघाट गर्न आउने भएकाले यसलाई वर्षभरिको सुखदुःख साटासाट गर्ने अवसरका रुपमा लिने गर्दछन । यस अवसरमा घरघरमा बनाइएका परम्परागत पकवान सिमही, पपरा, पुरी, गुलगुला आफन्तलाई बाँड्दै घरका सबैले सँगै बसेर खाने चलन यस समुदायमा रहेको छ । तीजका अवसरमा महिलाहरुले घंघरिया, अंगिया, फतुइ र घुँगट लगाउने गर्छन् भने आभूषणमा पैडा, कठुला, हरवालगायत घाँटीदेखि खुट्टासम्म लगाउने गर्दछन ।

कैलाली र कञ्चनपुरमा मात्रै बसोबास भएका राना समुदायको यो महत्वपूर्ण पर्वका रूपमा रहेको छ । दिदीबहिनीले दाजुभाइको दीर्घायुको कामना गर्दै यस पर्वलाई मनाउँछन् । साउनको शुक्ल तृतीयाका दिन यस पर्वको विधिवत्रूपमा समापन गरिन्छ ।

दाजुभाइले तीज पर्व आउन १५ दिन अगावै दिदीबहिनीको घरमा गएर निम्ता दिई बोलाएर ल्याउनुपर्ने चलन रहेको छ । परम्परागत राना थारु समुदायका महिलाहरुले मनाउने यो पर्व साउन महिनाभरि मनाइने गरिन्छ । आधुनिक परिवेशसंँगै यस पर्वको मौलिकता खस्किँदै जान थालेको छ । युवा पुस्ताले यस पर्वलाई महत्त्व नदिँदा ओझेलमा समेत पर्न थालेको छ । केही राना थारु गाउँमा जागरुक युवाहरुले परम्परागत संस्कृति र चालचलन जोगाउनका लागि समाजमा जागरणका माध्यमबाट कार्यक्रम अगाडिसमेत बढाउँदै आएका छन ।  – राजेन्द्र पनेरु/रासस

कमेन्ट गर्नुहोस्