प्लाष्टिक उद्योग बन्द गर्न कागेश्वरी मनोहरा न्यायिक समितिको आदेश

कागेश्वरी मनोहरा नगरपालिका न्यायिक समितिले वडा नं ५ स्थित थली चौरनजिकै आवश्यक प्रक्रिया पूरा नगरी सञ्चालन गर्न खोजिएको पशुपति रिसाइकल इण्डष्ट्रीज प्रालिलाई काम रोक्न आदेश दिएको छ ।

स्थानीय टोलवासी र सँधियारको स्वीकृति नलिई आवश्यक कानूनी प्रक्रियासमेत पूरा नगरी प्लाष्टिक रिसाइकल गर्ने उद्योग सञ्चालन गर्न लागिएकामा स्थानीयवासीको उजुरी र विरोधका कारण सञ्चालन नगर्न आज समितिका संयोजक नगरउपप्रमुख बिन्दु सिम्खडा पुडासैनीको नेतृत्वको इजलासले आदेश दिएको नगरपालिकाका प्रवक्ता एवं वडा नं. ५ का अध्यक्ष राजाराम पुडासैनीले बताए ।


Advertisement

 स्टोर चलाउने भन्दै प्लाष्टिक रिसाइकल गर्ने उद्योग सञ्चालन गर्न खोजेपछि स्थानीयवासीले वडाकार्यालय, नगरपालिकासमेतमा ज्ञापनपत्र बुझाउँदै विरोध जनाउँदै आएका थिए ।

न्यायिक समितिको इजलासमा आज बहस भइरहेका बेलासमेत २०० जनाभन्दा बढी स्थानीयवासीले नगरपालिका घेराउ गर्दै नाराजुलुस गरेका थिए । वडाबाट स्वीकृति नै नलिई उद्योगीले टहरा बनाएको पनि वडाअध्यक्ष पुडासैनीले जानकारी दिए ।


Advertisement

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्