
बालबालिकालाई कोरोना भाइरसले खासै असर गर्दैन, सङ्क्रमण भइहाले पनि चाँडै निको भइहाल्छ भन्ने सोचाइ र बुझाइ धेरैको छ ।
तर, यो सोचले गम्भीर स्थिति पु-याउन सक्ने विज्ञको चेतावनी छ ।
कोरोनाको तेस्रो लहरले बालबालिकालाई बढी समस्यामा पार्न सक्छ भन्ने आइरहँदा बालबालिकालाई महामारीबाट जोगाउन सबैले ध्यान दिनुपर्ने चिकित्सकको सुझाव छ ।
कोरोना भारसविरुद्ध कुनै पनि मुलुकमा बालबालिकालाई खोप लगाइएको छैन ।
बालबालिकामा कोरोना सङ्क्रमण हुन थाल्यो भने सङ्क्रमण दर कति चाँडो बढ्छ र त्यसले कति क्षति पु-याउन सक्छ भन्ने अनुमान गर्न कठिन भइरहेको छ ।
धुलिखेल अस्पतालका नर्स मनिता कर्माचार्यकी छ वर्षीया छोरीलाई कोरोना सङ्क्रमण भएपछि निकै गाह्रो भयो । उनले भनिन्, ‘‘साना बालबालिकालाई कोरोनाले गाह्रो हुँदैन भन्ने मेरो पनि सोचाइ थियो । तर, मेरो सोचाइ गलत रहेछ । भोगेपछि थाहा भयो । छोरीलाई बचाउन धेरै कठिन भयो ।’’
सबै परिवारका सदस्य कोरोना सङ्क्रमित भएपछि छोरीलाई पनि सातौँ दिनमा परीक्षण गराएँ । उनका अनुसार छोरीलाई समेत पोजेटिभ आयो तर खासै लक्षण नदेखिएकाले चिन्ता लागेको थिएन । सङ्क्रमित भएको रिपोर्ट आएपछि छोरीलाई पेट दुख्ने, पातलो दिसा लाग्ने, खान रुचि नहुने, बान्ता हुनेजस्ता समस्याले हैरान बनायो ।
कर्माचार्यले भनिन्, ‘‘कोरोनाले बालक, वृद्ध कसैलाई पनि छोड्दैन । त्यसैले वृद्धवृद्धा र बालबालिकालाई सुरक्षित राख्नु नै सबैभन्दा बुद्धिमत्तापूर्ण काम हो ।’’
कान्ति बाल अस्पतालका निर्देशक डा. आरपी बिच्छाका अनुसार बालबालिकालाई कोरोनाबाट बचाउन अभिभावकले बढी सावधानी अपनाउनुपर्छ ।
उनका अनुसार कोरोना सङ्क्रमणले बालबालिकामा सुरुमै सामान्य रुघा तथा खोकी लाग्ने, ज्वरो आउने, घाँटी दुख्ने लक्षणसँगै श्वासप्रश्वासमा समस्या देखिनेछ ।
अहिले फ्लु र श्वासप्रश्वाससँगै पाचन प्रणालीमा पनि समस्या देखिएको जानकारी दिँदै उनले अरुचि, पेट दुख्ने, पखाला चल्ने, बान्ता आउने, जिउ दुख्ने, शरीरमा डाबर देखिने बताए ।
सङ्क्रमित बालबालिकाको अवस्था सामान्य, जटिल वा गम्भीर भनेर छुट्याउनुपर्ने सुझाव दिँदै डा. बिच्छाले थपे, ‘‘सामान्य अवस्थामा सङ्क्रमित बालबालिकालाई फ्लु र पाचन प्रणालीको समस्या देखिन सक्छ । तर ज्वरो आउँदैमा, रुघाखोकी लाग्दैमा वा पेट दुख्दैमा, पखाला चल्दैमा आत्तिनुपर्दैन । सिटामोल र झोलिलो पदार्थ खुवाएर बच्चालाई घरमै सुरक्षित राख्न सकिन्छ ।
यसैगरी श्वासप्रश्वासमा समस्या देखिन थाल्ने, अक्सिजनको मात्रा ९४ प्रतिशतभन्दा कम हुने वा बच्चा सुस्त बन्दै जाने, आँखा भित्र गढ्ने, पानी नपिउने, पिसाब नफेर्नेजस्ता समस्या भएमा अस्पताल लैजानुपर्ने उनको सुझाव छ ।
बालबालिकाको शरीरमा अक्सिजनको मात्रा ९२ प्रतिशतभन्दा कम भएमा पूरा वाक्य बोल्नसमेत नसक्ने जिब्रो, ओठ, कानको लोती, औँलाका टुप्पा नीलो हुने समस्या देखिन सक्छ ।
सामान्य लक्षण देखिएको अवस्थामै बालबालिका वा किशोरकिशोरीमा कोरोना भाइरसको परीक्षण वा एन्टिबडी परीक्षण गर्नुपर्ने बालरोग विशेषज्ञ डा. जुन डङ्गोलको सुझाव छ ।
उनका अनुसार बालबालिकाको उपचारका लागि संरचनागत स्रोत, साधनदेखि विज्ञ जनशक्ति अभाव छ । त्यसैले यो परिस्थितिमा सावधान रही बालबालिकालाई सङ्क्रमण हुन नदिनेतर्फ सचेत हुनुपर्छ ।
डा. डङ्गोलले भने, ‘‘सङ्क्रमण भएको छ भने शारीरिक रूपमा गलेका बालबालिकालाई मानसिक तनाव हुने वातावरण सिर्जना गर्नुहुँदैन । गोरखापत्र दैनिकमा यलु जोशीले खबर लेखेकी छन् ।