
पछिल्लो समय उद्योग व्यवसायमा लगानी बढ्दै गएको छ । गाउँमै बसेर आयआर्जनका निम्ति विभिन्न उद्योग सञ्चालन गर्ने युवाको अहिले होडबाजी नै छ । पाल्पा पहाडी जिल्ला भए पनि सदरमुकाम तानसेनमा मात्र नभई गाउँगाउँमा पनि उद्योग खुल्ने क्रम बढिरहेको छ ।
घरेलु तथा साना उद्योग कार्यालय पाल्पामा आर्थिक वर्ष २०७७÷७८ मा ६१९ उद्योग र ३८३ वटा वाणिज्य फर्म गरी जम्मा एक हजार दुई फर्म दर्ता भएको पाइएको छ । यहाँ दर्ता भएका उद्योग तथा फर्मबाट रु ६५ लाख राजश्व सङ्कलन भएको छ । दर्ता भएका उद्योगहरूमध्ये अधिकांश प्राइभेट उद्योग रहेका छन् भने केही साझेदारी र प्रालि उद्योग छन् ।
उत्पादनमुलक ५१, कृषि तथा वनजन्य ४२८, पर्यटन र सेवामूलक ७०÷७० वटा दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका उद्यम विकास सहजकर्ता मनोज घिमिरेले जानकारी दिए ।
पछिल्लो समय महिलाको नाममा उद्योग दर्ता हुने क्रम बढ्दो छ । यसवर्ष दर्ता भएका उद्योगमध्ये २९८ महिलाको नाममा छन् । जुन अघिल्लो आवभन्दा बढी हो । पुरुषको नाममा ३८९ उद्योग दर्ता भएको उद्यम विकास सहजकर्ता घिमिरेले जानकारी दिए । वाणिज्य फर्मतर्फ दर्ता भएका फर्महरूमा अधिकांश किराना पसल रहेको पाइएको छ ।