२६ जेठ २०८३, मंगलबार

गण्डकीमा जनप्रतिनिधि र कर्मचारी गरी ५ हजारलाई प्रशिक्षण

गण्डकीमा जनप्रतिनिधि र कर्मचारी गरी ५ हजारलाई प्रशिक्षण

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसमक्ष गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानले वार्षिक प्रतिवेदन बुझाएको छ । 

प्रतिष्ठानका कार्यकारी निर्देशक ऋषिराम पाण्डेले मुख्यमन्त्रीलाई उक्त प्रतिवेदन बुझाउँदै प्रदेश र स्थानीय तहका लागि क्षमता विकासका कार्यक्रम गत आर्थिक वर्षमाा शुरू गरेको बताए । 

सम्बन्धित तहको आवश्यकताको पहिचान र प्रशिक्षण सामग्रीको निर्माण गर्ने काम पनि शुरू भइसकेको उनले जानकारी गराए । स्थानीय तहमा सार्वजनिक खरिद, स्थानीय आर्थिक विकास र राजश्व सुधार कार्ययोजनासम्बन्धी प्रशिक्षण सामग्रीसमेत तयार भइसकेका छन् । 

प्रतिवेदनअनुसार गत आर्थिक वर्षमा स्थानीय तह र प्रदेशस्तरका कर्मचारी र जनप्रतिनिधि गरी चार हजार ९२७ जनाले प्रशिक्षण पाएका छन् । सञ्चालित प्रशिक्षणको प्रभावकारिताबारे अनुगमन पनि थालिएको कार्यकारी निर्देशक पाण्डेले बताए । 

उक्त अवसरमा मुख्यमन्त्री पोखरेलले नागरिकलाई अनुभूति हुने गरी सुशासन जनमैत्री सेवा दिनेखालका जनशक्ति उत्पादनमा जोड दिन निर्देशन दिए । 

नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन गरी लक्ष्य हासिल गर्न कर्मचारीकै भूमिका महत्त्वपूर्ण हुने भन्दै मुख्यमन्त्री पोखरेलले प्रभावकारी रुपमा कार्य सम्पादन गर्ने जनशक्ति उत्पादनमा प्रतिष्ठान लाग्नुपर्ने बताए । सैद्धान्तिकभन्दा व्यवहारिक ज्ञानमा जोड दिन पनि उनले निर्देशन दिए । 

गण्डकी प्रदेशका प्रमुख सचिव डा. दामोदर रेग्मीले प्रतिष्ठानले दक्ष जनशक्ति उत्पादनमा पुर्‍याउँदै आएको योगदानको कदर गर्दै आगामी दिनमा अझ प्रभावकारी रुपमा काम गर्न आग्रह गरे । 

प्रतिष्ठानले प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमअन्तर्गत प्रादेशिक सुशासन केन्द्रमार्फत् सञ्चालन गरिने कार्यक्रमको कार्ययोजना निर्माण तथा प्रशिक्षण अवधारणा बनाएर काम गर्दै आएको छ । 

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान ऐन–२०७५ अन्तर्गत स्थापित प्रतिष्ठानले २०७६ फागुनदेखि काम थालेको हो । प्रतिष्ठानले ५ वर्षे रणनीतिक योजना तर्जुमा गरी कार्यान्वयनमा समेत ल्याइसकेको छ । 

salt training

कमेन्ट गर्नुहोस्