
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई अपवित्र गठबन्धनबाट बनेको सरकारको संज्ञा दिएका छन् ।
आफू नेतृत्वको प्रगतिशील र जनपक्षीय सरकारका विरुद्ध आक्रमण गरेर अहिलेको सरकार बनाइएको उनको टिप्पणी छ ।
ललितपुरको च्यासलस्थित पुष्पलाल स्मृति प्रतिष्ठानमा सोमवार शुरू भएको एमाले केन्द्रीय कमिटी बैठकलाई सोमवार सम्बोधन गर्दै ओलीले देशभक्त शक्तिविरुद्धको गठबन्धन बनेको आरोप लगाएका हुन् ।
‘हामीलाई गर्नु गाली गरिसकेपछि, प्रतिगामी, तानाशाह सबै कुरा भनिसकेपछि अहिले अपवित्र साठगाँठको संस्कृति शुरू भएको छ । उहाँहरू बहुदलीय प्रतिस्पर्धात्मक प्रणालीमा होइन अपवित्र गठबन्धन र साठगाँठको संस्कृति शुरू भएको छ,’ ओलीले भने ।
ओलीले अहिलेको सरकारबाट देश र जनताका समस्या समाधान गर्न नसक्ने दाबी गरे । उनले पार्टीकै एउटा तप्काले आफ्नै पार्टीको सरकार ढालेर विपक्षी नेतालाई प्रधानमन्त्री बनाउने अपराधपूर्ण काम गरेको आरोप लगाए ।
माधव नेपाल पक्ष उपस्थित नरहेको केन्द्रीय कमिटी बैठकमा विधान संशोधन प्रस्ताव पेश गरिँदैछ । सोमवार बसेको स्थायी कमिटी बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको थियो ।