
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न तयार रहेको बताएका छन् । ‘एक कार्यकालभन्दा बढी पार्टीको अध्यक्ष पदमा बस्दिनँ, अरूको जस्तो नक्कली घोषणा होइन,’ उनले भने ।
पेशागत महासंघ नेपालले शनिवार ललितपुरमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले दोस्रो पुस्ताका नेताहरू पार्टीमा आए नेतृत्व छाड्न तयार रहेको बताएका हुन् ।
‘आउनुहोस् दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न म अहिले पनि तयार छु । आउनुहोस्– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को अध्यक्ष बन्नुहोस्,’ उनले भने, ‘पदको लडाईं होइन यो विचारको लडाईं हो । सिद्धान्तको लडाईं हो मूल्य र मान्यताको लडाईं हो ।’
यस्तै उनले केपी ओली प्रतिगामी कदम सच्याउन तयार नभएपछि नयाँ पार्टी पुनर्गठन गर्नु परेको स्पष्टोक्ति दिए । आफूविरुद्ध कुप्रचार भइरहेको भन्दै उनले त्यस्ता झुट प्रचारको भ्रममा नपर्न पनि आग्रह गरे ।