
असोज ४ देखि ६ गते सम्मका लागि निर्धारित नेकपा एमालेको विधान अधिवेशन ललितपुरको गोदावरीस्थित नवनिर्मित सभाहलमा हुने भएको छ ।
अधिवेशन व्यवस्थापन समिति संयोजक रामबहादुर थापा ‘बादल’ सहितका नेताहरूले मंगलवार गोदावरीस्थित सभाहलको निरीक्षण गरेका छन् ।
थापासहित समितिका सदस्यहरू शेरबहादुर तामाङ, खीमलाल भट्टराई, विनोद श्रेष्ठ, सुजिता शाक्य, सुशीला नेपाल, पासाङ शेर्पा तथा ललितपुर जिल्लाका नेता हरिकृष्ण व्यञ्जनकार, मधुसुदन पौडेल र पुरुषोत्तम आचार्यको टोलीले सभाहलको निरीक्षण अनुगमन गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालको आखिरीमा ‘सनराइज’ सभाहलको उद्घाटन गरेका थिए । उद्घाटन भए पनि सो सभाहलमा राष्ट्रियस्तरको कुनै कार्यक्रम भएको थिएन ।
थापा नेतृत्वको टोलीले अधिवेशन तयारीको सिलसिलामा प्रतिनिधिहरूको आवतजावत गर्ने सातदोबाटो–गोदावरी खण्डमा सडक स्तरीकरण गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ । ६ वर्षअघि विस्तार शुरू गरिएको गोदावरी सडक हिलाम्मे छ ।