
शनिबार काठमाडौं उपत्यकाको मौसम खुलेको छ । बिहानैदेखि काठमाडौंको वातावरण घमाइलो बनेको छ । पछिल्ला केहीदिन राजधानीमा निरन्तर वर्षा भएको थियो भने केही स्थानमा बाढीले जनजीवन प्रभावित समेत बन्न पुगेको थियो ।
यद्यपि उपत्यकामा दिउँसो भने मौसममा फेरबदल आउने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाको भनाइ छ । महाशाखाका अनुसार हाल नेपालको मौसममा भारतको पूर्वी राजस्थानमा आसपासमा अवस्थित न्युन चापीय क्षेत्र र बंगालको खाडीको मध्यपूर्वी भुभागमा अवस्थित न्युन चापीय क्षेत्रको सामान्य प्रभाव रहेको छ। साथै मनसुन न्यून चापीय रेखा औसत भन्दा दक्षिण तर्फ रहेको छ।
शनिबार दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यस्तै राति पनि मौसम दिउँसोकै जस्तै बदली र केही स्थानमा वर्षा हुनेछ ।