२७ जेठ २०८३, बुधबार

गाउँगाउँ पुगेर बंगुरपालनको व्यावसायिक प्रशिक्षण

भदौ २६, २०७८
गाउँगाउँ पुगेर बंगुरपालनको व्यावसायिक प्रशिक्षण
प्रतिकात्मक तस्वीर

घरै बसेर परिवारका सदस्यले थोरै लगानीमा सजिलै बढी आम्दानी गर्न सकिने व्यवसायका रूपमा पछिल्लो समय बंगुरपालनप्रति गाउँका किसानको आकर्षण बढ्दै गएको छ ।

परम्परागतरूपमा गरिने बंगुरपालनलाई आधुनिक र व्यावसायिक बनाउन सक्ने हो भने यसमा लागेका किसानको आर्थिकस्तर नै फेरिने सम्भावना रहेको बताइएको छ ।

यही सम्भावनालाई दृष्टिगत गर्दै नेपाल वेलहोप एग्रिटेक प्रालि र मेरीगोल्ड बंगुर फार्मले परम्परागत बंगुरपालन गर्दै आएका किसानलाई व्यावसायिक बनाउन सघाउने उद्देश्यले गाउँगाउँ पुगेर विज्ञद्वारा प्रशिक्षण प्रदान दिने अभियान सञ्चालन गरेको छ ।

ती संस्थाले झापा, मोरङ, सुनसरी र उदयपुरमा बंगुरपालनको पकेट क्षेत्र मानिएका पालिकामा किसानलाई भेला गरेर व्यावसायिक बंगुरपालनका बारेमा वैज्ञानिक प्रशिक्षण प्रदान गरिरहेका छन् ।

शुक्रवार झापाको बाहुनडाँगीमा जिल्लास्तरीय एक दिवसीय प्रशिक्षण कार्यक्रम गरिएको हो । झापाका १५ पालिकाबाट सहभागी १५० भन्दा बढी किसान सो प्रशिक्षण कार्यक्रममा सहभागी भएका छन् ।

किसानलाई आधुनिक बंगुरपालनका लागि आवश्यक पर्ने खोर, पाठापाठीको प्रजाति, दाना र औषधिसम्बन्धी उपयोगी जानकारी प्रदान गरिएको मेरीगोल्ड बंगुर फार्मका सञ्चालक पुनम राईले बताए ।

नेपाल वेलहोप एग्रिटेक प्रालिका प्रबन्ध निर्देशक कुमार पौडेल, डा. सुवास रेग्मी र डा. नगेन्द्र खड्काले किसानलाई प्रशिक्षण दिएका थिए । परम्परागत तरिकाले भन्दा आधुनिक ढंगले बंगुरपालन गर्दा बढी फाइदा हुने जानकारी प्रशिक्षणबाट पाएको कार्यक्रमका सहभागी अभिषेक लिम्बूले बताए ।

प्रालिका प्रबन्ध निर्देशक पौडेलले उदयपुरको गाईघाट र बेलटार, सुनसरीको धरान र इटहरी, मोरङको पथरी तथा झापाको मेचीनगरमा बंगुरपालन व्यवसाय फस्टाइरहेको हुँदा यसलाई आधुनिक, व्यावसायिक र उन्नत तुल्याउन प्रशिक्षण अभियान सञ्चालन गरिएको जानकारी दिए ।

प्रालिले उच्च चिनियाँ तथा नेदरल्याण्डको प्रविधि प्रयोग गरेर बंगुर, कुखुरा, बाख्रा, गाईभैंसी र माछालाई खुवाइने २१ प्रकारका दाना उत्पादन तथा बिक्री गर्दै आएको समेत उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्