माघ १८, २०८०
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
भदौ ३१, २०७८
२०७३ सालमा नेकपा एमाले र माओवादी केन्द्र गठबन्धन भत्काएर कांग्रेसलाई सत्तामा पुर्याउने ‘गेम चेन्जर’ थिए विमलेन्द्र निधि ।
त्यही वर्ष वैशाखमा एमाले र माओवादी केन्द्रको गठबन्धन भत्काएर कांग्रेस–माओवादी केन्द्रको गठबन्धन बनाउने प्रयास असफल भयो । प्रधानमन्त्री लिएर कांग्रेससँग मिल्न तयार भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अन्तिम क्षणमा एमालेसँगै मिले । सत्तारोहणको सबै तारतम्य मिलाएको कांग्रेस एकाएक पछारियो । कांग्रेसका नेता प्रचण्डसँग आगो भए ।
त्यसबेला देउवाले कांग्रेसका नेताहरूसँग भन्ने गरेका थिए, ‘फुटेको कांग्रेसको सभापति भइयो, सिंगो कांग्रेसको पनि सभापति भइयो । ३ पटक प्रधानमन्त्री पनि भइयो । अब गणतन्त्रपछिको नयाँ व्यवस्थामा प्रधानमन्त्री बन्ने रहर छ ।’
देउवाले निधि लगायतको टीमसँग यो रहर व्यक्त गरेपछि निधिले माओवादी केन्द्रका नेताहरू कृष्णबहादुर महरा र वर्षमान पुनसँग संवाद बाक्लो बनाए । २ महिनाअघि खेर गएको प्रयास निधिले २ महिनापछि सफल बनाइदिए ।
एमाले–माओवादी गठबन्धनको सरकार ढल्यो र कांग्रेस–माओवादी गठबन्धन बन्यो । पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बने । उनले एक चरणको स्थानीय तहको चुनाव गराए । अर्को चरणको चुनाव गराउनका लागि पूर्व सहमतिअनुसार कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री छाडिदिए ।
एमालेलाई प्रतिपक्षमा पुर्याएर चुनावी सरकारको नेतृत्व आफ्नो पार्टीमा ल्याउने राजनीतिक खेलाडी थिए सभापति शेरबहादुर देउवाका विश्वासपात्र विमलेन्द्र निधि ।
विमलेन्द्र निधिले गरेका कैयौं गोप्य भेट र राष्ट्रिय, अन्तर्राष्ट्रिय शक्तिसँग गरेको ‘डिल’को परिणाम थियो कांग्रेस–माओवादी गठबन्धन । त्यही सरकारमा उनी उपप्रधानसहित गृहमन्त्री बनाइए ।
त्यति मात्रै होइन, सत्तारोहण गराएको गुन देउवाले निधिलाई उपसभापति मनोनयन गरेर तिरे । त्यसअघि देउवाले उनका अर्का विश्वासपात्र गोपालमान श्रेष्ठलाई उपसभापति बनाउने वचन दिएका थिए तर निधिले श्रेष्ठलाई पछि पारिदिए । देउवालाई कांग्रेस भित्रको राजनीतिक मोर्चा र सत्तारोहणमा सफल बनाउन सबैभन्दा बढी खट्ने मध्येका हुन् निधि ।
तर त्यसबेला सत्तामा रहँदा निधि र देउवाबीच दरार देखियो । कांग्रेस सभापति देउवा जयबहादुर चन्दलाई आईजीपी बनाउन चाहन्थे तर निधि त्यसको विपक्षमा थिए ।
‘सभापति जयबहादुलाई आईजीपी बनाउने पक्षमा हुनुहुँदो रहेछ तर विमलेन्द्रबाट आईजीपी नियुक्तिमा सधैं विवाद भयो । विमलेन्द्रले प्रणालीबाट आउँदा जो बन्छ उसैलाई दिउँ भन्ने अडान राखे । पछि त्यही विवाद अदालतमा पुर्यो । प्रधानन्यायाधीश सुशीला कार्कीलाई महाअभियोग लगाउने अवस्थासम्म आयो । त्यसले पार्टीलाई नै क्षति गर्यो,’ कांग्रेसका एक नेताले भने ।
आईजीपीको विषयमा कुरा नमिल्दा २ नेताबीच बोलचाल नै बन्द हुने अवस्थामा पुगेको कांग्रेसका नेताहरू बताउँछन् । त्यसबेला निधि र देउवाबीच समन्वयन गर्न नेताहरू एनपी साउँद र ज्ञानेन्द्रबहादुर कार्कीले भूमिका निर्वाह गरेका थिए । पछि उनीहरूबीच सम्बन्ध सामान्य रूपमा सुध्रिएको थियो ।
हुन त देउवा र निधि दुवै विश्वेश्वरप्रसाद कोइरालाले ‘प्रोजेक्सन’ र संरक्षण गरेका नेता हुन् । देउवा डडेल्धुराबाट आएर संघर्ष गरेका भए पनि निधिलाई कांग्रेसका संस्थापक मध्येका नेता महेन्द्रनारायण निधिको सुपुत्र भएको विरासत थियो ।
नेपाली कांग्रेसको प्रमुख भातृ संगठन नेपाल विद्यार्थी संघको दोस्रो अध्यक्ष हुन् शेरबहादुर देउवा । देउवापछि संघको नेतृत्वमा विमलेन्द्र निधि पुगे । जनकपुरमा भएको संघको महाधिवेशनबाट पार्टी नेता बीपी कोइरालाको प्रस्तावमै निधि संघको अध्यक्ष बनेका कांग्रेस नेताहरू बताउँछन् । भलै त्यतिबेला निधिको पक्षमा महाधिवेशनको मत थिएन ।
नेपाल विद्यार्थी संघ हुँदै पार्टी राजनीतिमा आएका यी २ नेता शुरूमा फरक गुटमा थिए । पार्टी राजनीतिमा आएपछि देउवा कोइराला गुटमा लागे भने निधि कृष्णप्रसाद भट्टराईले नेतृत्व गरेको गुटमा थिए ।
देउवा र निधिको सम्बन्ध २०५३ सालको पोखरा महाधिवेशनपछि जोडिएको हो । महाधिवेशनमा गिरिजाप्रसाद कोइराला पार्टी सभापतिमा उम्मेदवार बन्ने भए । भट्टराई गुटबाट रामचन्द्र पौडेललाई उम्मेदवार बन्न प्रस्ताव गरिएको तर उनले नमानेपछि देउवालाई भट्टराई गुटमा भित्र्याइयो तर देउवालाई उम्मेदवार बनाउन ल्याइएको भए पनि अन्तिममा चिरञ्जीवी वाग्लेलाई अघि सारियो । वाग्लेले चुनाव जितेनन् ।
विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा आएपछि छुटेको देउवा र निधिको गुट अब एकै ठाउँमा आइपुग्यो । देउवा र निधिबीच त्यसबेलादेखि सहकार्य शुरू भएको र एकअर्काको परिपूरकको रूपमा काम गर्न थालेको कांग्रेसका नेताहरू बताउँछन् ।
पोखरा महाधिवेशनपछि कांग्रेसमा विग्रह आयो । आन्तरिक विवाद चरमोत्कर्षमा पुग्यो । २०५७ सालमा शेरबहादुर देउवाले पार्टी विभाजन गरेर नेपाली कांग्रेस प्रजातान्त्रिक बनाए । त्यसबेला निधिले देउवालाई साथ दिए । देउवा जेलमा हुँदा पनि पार्टीमा देउवासँग समन्वय गरेर पार्टी उपसभापति गोपालमान श्रेष्ठलाई सघाउने र पार्टीको दस्तावेज बनाउने काममा निधि निरन्तर खटेका थिए ।
त्यसबेला नारायण खड्का, खुमबहादुर खड्का, दीपकुमार उपाध्याय, बलबहादुर केसी, मिनेन्द्र रिजाल, प्रकाशमान सिंह लगायतका प्रभावशाली नेताले देउवालाई साथ दिएका थिए तर ती सबै नेता पछिसम्म देउवासँग रहन सकेनन् । गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि लगायतका नेताबाहेक अरू सबै नेताहरू देउवा क्याम्प छाडेर विपक्षी क्याम्पमा गए तर निधिले देउवालाई निरन्तर साथ दिइरहे । उनकै साथमा देउवा पार्टीको ‘फर्स्ट म्यान’ र सरकारको नेतृत्वमा पुगे ।
१३औं महाधिवेशनको त्यो सहमति
निधि र देउवाबीचको सम्बन्धमा चिसोपना रसाएको १३औं महाधिवेशनपछि नै हो । शेरबहादुर देउवाले कांग्रेसको नेतृत्व सम्हाल्ने अवसर पाएको पनि १३औं महाधिवेशनबाट नै हो । त्यसअघि गिरिजाप्रसाद कोइराला र सुशील कोइरालासँग उनले सभापतिको चुनाव हारेका थिए ।
देउवामा फुटेको कांग्रेसको सभापति भएको तर सिंगो कांग्रेसको ‘फर्स्ट म्यान’ हुन नसकेको हिनताबोधले घर गरेको थियो । उनी १३औं महाधिवेशनबाट जसरी पनि पार्टी सभापति हुन चाहन्थे ।
निधिनिकट एक नेताका अनुसार १३औं महाधिवेशनमा देउवाले जसरी पनि सभापति हुनुपर्यो भनेका थिए । देउवाले आफू फुटेको कांग्रेसको सभापति भएको तर पटक–पटकको प्रयासमा पनि सिंगो कांग्रेसको सभापति हुन नसकेकाले १३औं महाधिवेशनको अवसर गुम्न नदिने आफ्नो समूहमा बताएका थिए । उनले आफ्ना सहयोगी निधिसँग पनि सहयोग मागे ।
त्यसबेला निधिले देउवासँग शर्त राखे । १३औं महाधिवेशमा देउवालाई सभापतिमा जिताउने तर १४औं महाधिवेशनमा आफूलाई सहयोग गर्नुपर्ने निधिको शर्त थियो । देउवाले त्यसबेला खुशीसाथ निधिको शर्त स्वीकारको निधिनिकट नेताहरू बताउँछन् ।
‘यसपटक जसरी पनि तपाईंलाई जिताउने गरी लाग्छौं तर अर्को महाधिवेशनमा तपाईं नै समर्थक भएर म सभापति उम्मेदवार बन्ने हो । सहयोग चाहिन्छ,’ निधिको भनाई उदृत गर्दै एक नेताले भने ।
देउवाले १४औं महाधिवेशनमा निधिलाई सहयोग गर्ने शर्त मानेपछि निधिले पदाधिकारीमा पनि उम्मेदवारी दिएनन् । केन्द्रीय सदस्यमा उम्मेदवारी दिएर चुनावी अभियानमा खटे । ‘पदाधिकरीमा उम्मेदवारी दिएर आफू जित्ने तर सभापतिमा देउवा हार्ने भयो भने राम्रो सन्देश जाँदैन भनेर उहाँले पदाधिकारीमा पनि उम्मेदवारी दिनुभएन । निधि खटेकै कारण देउवाले सभापतिको चुनाव जितेका हुन्,’ उनले भने ।
त्यति मात्रै होइन, निधिले महामन्त्री पदको उम्मेदवारी छाडेर अर्को खेमाको अर्जुननरसिंह केसीलाई ल्याएर महामन्त्रीको उम्मेदवारी बनाए । त्यसबेला देउवलाई सभापतिमा जिताउनकै लागि त्यसो गरिएको लामो समयदेखि निधिका प्रेस संयोजक रहेर काम गरेका रामजी दाहाल बताउँछन् ।
निधि उम्मेदवार बन्ने भएपछि शुरू भयो खटपट
पटक–पटक मिति सरेको कांग्रेसको १४औं महाधिवशेन भदौ १८ गतेबाट शुरू गर्ने निर्णय कांग्रेसले गरेको थियो । देउवाले असारको पहिलो हप्ता आफू फेरि सभापतिमा उम्मेदवार बन्ने छलफलका लागि सहयोगी नेताहरूलाई बूढानिलकण्ठस्थित निवासमा बोलाएका थिए । त्यहाँ उनले आफूले दोस्रो पटक सभापति उम्मेदवारीको लागि तयारी गरेको र सहयोग गर्न आग्रह गरे ।
तर निधिले अघिल्लो महाधिवेशनमा भएको सहमति स्मरण गराए । अघिल्लो महाधिवेशनमा आफूले देउवालाई सभापतिमा जिताएको र अहिले आफूलाई सहयोग गर्नुपर्ने निधिले बताए तर देउवाले महाधिवेशनमा जो पनि उम्मेदवार बन्न पाउने भन्दै निधिको कुरालाई हलुका रूपमा लिइदिए ।
निधिको एउटा जब्बर स्वभाव छ – कुनै पनि अडानबाट पछि नहट्ने । प्रहरी आईजीपी बनाउने बेलामा पनि उनको यस्तै अडानले विषय अदालत पुग्यो । न जयबहादुर चन्द आईजीपी बन्न पाए, न त नवराज सिलवाल नै । त्यो प्रकरणले बरु देउवा–निधिको ‘परिपुरक’ सम्बन्धमा दरार ल्याइदियो ।
पार्टी सभापतिमा उम्मेदवार बन्ने अडान पनि निधिले छाडेनन् । देउवाले सहयोग गर्ने वचन पनि दिन सकेनन् । अन्ततः निधिले निर्णय गरे – आफ्नै क्याम्पमा विद्रोह गर्ने र देउवासँगै सभापतिमा चुनाव लड्ने ।
अहिले निधि देउवालाई छाडेर निकै अगाडि बढेका छन् । १४औं महाधिवेशन सुनिश्चित नहुँदै उनले सभापति पदमा उम्मेदवारी घोषणा गरेर प्रचार अभियान शुरू गरेका छन् । काठमाडौंको थापागाउँस्थित एक पार्टी प्यालेसमा उनले प्रचार कार्यालय बनाएका छन् । महाधिवेशनको सम्मुखमा सरकारको नेतृत्वमा पुगेका देउवा र निधिको बाटो छुट्टिएको छ ।
देउवा र निधि कतिसम्म टाढा पुगेका छन् भन्ने पछिल्लो प्रमाण हो – डडेल्धुराको वडा अधिवेशनको सन्दर्भमा निधिले देउवालाई पठाएको पत्र । डडेल्धुरा देउवाको गृहजिल्ला हो । त्यहाँको क्रियाशील सदस्यता विवरण सार्वजनिक भए पनि विवादका कारण अधिवशेन हुन सकेको थिएन । जिल्ला सभापतिले वडा अधिवशेन रोकेका थिए तर देउवाले निर्वाचन अधिकृतमार्फत अधिवेशन अघि बढाउन दबाब दिएपछि निधिले पत्र नै लेखेर देउवासँग संघर्ष शुरू गरे ।
आगामी महाधिवेशनमा सभापति बन्न नसके १५औं महाधिवेशनमा युवा पुस्ता नेतृत्व दाबी गर्न आइपुग्ने र त्यसबेला आफ्नो दाबी सान्दर्भिक नहुने निष्कर्षसहित निधि चुनावी मैदानमा छन् । देउवा भने निधिले अझै सहयोग गरे हुन्थ्यो भन्ने पक्षमा छन् तर निधि निकै अगाडि बढेकाले पछाडि फर्कने सम्भावना नै नरहेको उनको सचिवालयका सदस्यहरू बताउँछन् ।
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...