अमेरिकासँग नेपाल पराजित

फाइल फोटो

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा नेपाल अमेरिकासँग ६ विकेटले पराजित भएको छ ।


Advertisement

ओमानको अल अमिरात क्रिकेट मैदानमा शुक्रवार राति सम्पन्न खेलमा नेपालले जीतका लागि दिएको १७५ रनको लक्ष्य अमेरिकाले २९ दशमलव ३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो ।


Advertisement

नेपाल अमेरिकासँग एकदिवसीयमा पहिलो पटक पराजित भएको हो । अमेरिकाको जीतमा स्टेभेन टेलरले ९२ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ६३ बलमा १२ चौका र ३ छक्का प्रहार गरे । 

मोनान्क पटेलले अविजित ३८ रन जोड्दा जस्करण मल्होत्राले अविजित ३६ रन बनाए । सुसान्त मोदानीले २ रन जोडे । 


Advertisement

नेपालका सन्दीप लामिछाने र करण केसीले २/२ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४८ ओभरमा सबै विकेट गुमाउँदै १७४ रनको योगफल बनाएको थियो ।

नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले ५५ रनको अर्धशतकीय इनिङ्स खेले । उनले १०५ बलमा ३ चौका प्रहार गरे । ओपनर कुशल भुर्तेलले ३६ रन जोड्दा डेब्यु खेलाडी गुलशन झाले २८ रन बनाए । करण केसीले १२, विनोद भण्डारीले १० तथा रोहित पौडेल र सोमपाल कामी २/२ रनमा आउट भए । 

ओपनर आसिफ शेख पनि तीन रनमा आउट भए । सन्दीप लामिछाने ११ रनमा आउट हुँदा सुशन भारीले अविजित दुई रन जोडे । अमेरिकाका कप्तान सौरभ नेत्राभाल्करले ४ विकेट लिए भने केली फिलिपले ३ विकेट लिए । करिमा गोर, एल्मोर हुचिन्सन, नास्टुश केनिजेगेले १/१ विकेट लिए ।

यसअघि सोमवार भएको पहिलो खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा नेपाल ओमानसँग ५ विकेटले पराजित हुन पुगेको थियो । नेपालले अन्तिम खेल ओमानसँग आइतवार खेल्नेछ । 

कमेन्ट गर्नुहोस्