प्रतिनिधि सभाबाट बजेटसम्बन्धी सबै विधेयक पारित

सरकारले भदौ २५ गते संसदमा पेश गरेको पूरक बजेट प्रतिनिधि सभाबाट पारित भएको छ ।


Advertisement

विनियोजन विधेयक असोज ४ गते पारित भएकोमा बजेटका पूरक विधेयक बिहीवार पारित भएका हुन् । 


Advertisement

बिहीवार बसेको प्रतिनिधि सभा बैठकबाट आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ पारित भएको हो ।

प्रतिनिधि सभाबाट पारित विनियोजन विधेयक राष्ट्रिय सभाबाट पनि पारित भएको छ । 


Advertisement

पूरक विधेयकको रुपमा रहेका आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पारित भएसँगै प्रतिनिधि सभाबाट बजेट पारित भएको हो ।

यी विधेयक राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभामा आएपछि प्रमाणीकरणको लागि राष्ट्रपतिकोमा जानेछन् ।

पूर्ववर्ती केपी शर्मा ओली सरकारले अध्यादेश मार्फत जेठ १५ गते ल्याएको बजेट प्रतिस्थापनका लागि सरकारले भदौ २५ गते विनियोजन विधेयक प्रतिनिधि सभामा पेश गरेको थियो । 

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोध र नाराबाजीका बाबजुत प्रतिनिधि सभाबाट बजेट पारित भएको हो ।

माधव नेपाल लगायत १४ सांसदलाई पदमुक्त गर्ने पत्र कार्यान्वयन नगरेको भन्दै एमालेले संसदको अधिवेशन शुरु भएको दिनदेखि संघीय संसदका दुवै सदनमा अवरोध गरिरहेको छ । 

बजेट सम्बन्धी विधेयक पारित गरेर प्रतिनिधि सभा बैठक असोज ११ गते सोमवार सम्मको लागि स्थगित भएको छ । 

राष्ट्रिय सभाबाट पारित भएर सन्देशसहित प्रतिनिधि सभामा फिर्ता भएको विनियोजन विधेयक २०७८ आजै राष्ट्रपतिबाट प्रमाणीकरण हुने र भोलिदेखी बजेट कार्यान्वयनमा जाने अर्थमन्त्री जनार्दन शर्माले बताए ।

‘विधेयक आजै प्रमाणीकरण भएर भोलिदेखि बजेट कार्यान्वयनमा जान्छ,’ मन्त्री शर्माले संसद भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै भने ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्