
काठमाडौं महानगरपालिका-१४ बल्खुमा बा ३ ख ९३६९ नम्बरको मिनी ट्रकले बा ८८ प २२१ नम्बरको मोटरसाइकललाई शनिवार बिहान ठक्कर दिँदा मोटरसाइकलमा सवार काठमाडौं सीतापाईला बस्ने कैलाली गोदावरी नगरपालिका-१२ घर भएका २७ वर्षीय चेतराज जोशीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको बल्खुस्थित बयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक काठमाडौं सीतापाइला बस्ने २२ वर्षीय ईश्वर भण्डारीको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रुपन्देही गैडहवा गाउँपालिका-६, गुलरियामा यूपी ५५ डब्लु ९६३० नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री सोही गाउँपालिका-७ बस्ने ४५ वर्षीया बाचिदेवी हरिजनको शुक्रवार दिउँसो मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका साइकलयात्री र मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।
रौतहट, चन्द्रपुर नगरपालिका-५ चाँदीपुल नजिकै सडकमा यूपी ३५ एटी ४२७३ नम्बरको ट्रकले ना.३५ प १८९३ नम्बरको मोटरसाइकललाई शुक्रवार राति ठक्कर दिँदा मोटरसाइकल चालक चन्द्रपुर नगरपालिका-२ जुडिवेला बस्ने ३७ वर्षीय सोनालाल चौधरीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको चपुरस्थित एपोलो सिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
चितवन भरतपुर महानगरपालिका-११ आँपटारीमा हाल नम्बर नखुलेको गाडीको ठक्करबाट हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरुषको शुक्रवार राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा संलग्न गाडीको प्रहरीले खोजी गरिरहेको छ ।
खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१३ माथिल्लो नुनथलामा स १ त ७०७१ नम्बरको ट्याक्टर आफैं अनियन्त्रित भई सडकबाट अन्दाजी ३० मिटर तल खसेर शुक्रवार राति दुर्घटना हुँदा ट्याक्टरका सहचालक सोही नगरपालिका-४ डाँडाखर्क बस्ने १९ वर्षीय डिलक्स राईको घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्युठान मल्लरानी गाउँपालिका-४ घलडाँडामा ना ४ ख ५१९४ नम्बरको बसको ठक्करबाट पैदलयात्री प्युठान नगरपालिका-१० बडरा घर भई मल्लरानी गाउँपालिका-४ टुनिखर्क बस्ने ५२ वर्षीय हुकुम नेपालीको शनिवार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तेह्रथुम लालीगुराँस नगरपालिका-४ फुलेकमा को २ त ८४२६ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट अन्दाजी ३० मिटर तल खसेर शनिवार बिहान दुर्घटना हुँदा ट्याक्टरमा सवार २ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा लालीगुराँस नगरपालिका-५ बस्ने २२ वर्षीय पन्चबहादुर मङ्रातीको घटनास्थलमै र सोही ठाउँ बस्ने १६ वर्षीय छिनबहादुर सार्कीको बिपी स्वास्थ्य प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार अन्य २ जनाको सोही प्रतिष्ठानमा उपचार भइरहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।