२६ जेठ २०८३, मंगलबार

बुद्ध एयरको प्रतिवेदन क्यानले बनाएको छानबिन समितिलाई

बुद्ध एयरको प्रतिवेदन क्यानले बनाएको छानबिन समितिलाई

बुद्ध एयरले बुझाएको प्रतिवेदन नेपाल नागरिक उड्डयन प्राधिकरणको छानबिन समितिलाई सुम्पिएको छ । 

नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक राजकुमार क्षेत्रीका अनुसार बुद्ध एयरले आन्तरिक छानबिन गरेको प्रतिवेदनलाई प्राधिकरणको तर्फबाट गठित छानबिन समितिलाई बुझाइएको हो । 

'बुद्ध एयरले दिएको प्रतिवेदनलाई हामीले नखोल्ने निर्णय गर्‍याैं, नखोलिएको उक्त प्रतिवेदन जस्ताको तस्तै प्राधिकरणको तर्फबाट गठित छानबिन समितिलाई बुझाउने भनेर गरिएको निर्णयअनुसार बुझाएका छौं,' क्षेत्रीले लोकान्तरसँग भने,'हाम्रो छानबिन समितिले नै उक्त प्रतिवेदन खोलेर हेर्नेछन्, आफ्नो तर्फबाट पनि हाम्रो छानबिन समितिले गरेको छानबिनअनुसार प्रतिवेदन बुझाएपछि मात्र आवश्यक कारवाही प्रक्रिया अगाडि बढाउनेछौँ ।' 

प्राधिकरणको तर्फबाट क्याप्टेन डी.आर. लामाको संयोजकत्वमा इन्जिनियर रितेशराज पाण्डेसहित चार सदस्यीय छानबिन समिति बनेको छ । 

उक्त समितिले छानबिन सकेर बुझाउने प्रतिवेदनमा भएको सिफारिसअनुसार प्राधिकरणले कारवाही प्रक्रिया अगाडि बढाइने क्षेत्रीले बताए । 

११ असोजमा काठमाडौंबाट विराटनगर उडेको जहाजमा देखिएको समस्याबारेको आन्तरिक जाँचबुझ रिपोर्ट बुद्ध एयरले आज नागरिक उड्डयन प्राधिकरणलाई बुझाएको थियो । 

ल्याण्डिङ गियर इन्डिकेटरमा समस्या देखिएपछि विराटनगरमा अवतरण गर्न नसकेर सो जहाज (९ एन–एनआई) काठमाडौं फर्किएको थियो । 

विराटनगर विमानस्थलमा अवतरण हुन नसकेपछि काठमाडौं फर्किएको सो जहाज त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण गरेको थियो । चालक दलका सदस्य र सबै यात्रुहरू सकुशल थिए । 

बुद्ध एयरले सुरक्षा निर्देशिका अनुसार जहाजमा रहेको इन्धनलाई कम गर्न केहीबेर काठमाडौंको आकाशमा फन्को मारेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्