नुवाकोट बस दुर्घटना अपडेट : ८ गम्भीर घाइतेलाई काठमाडौं पठाइयो

नुवाकोट बस दुर्घटना अपडेट : ८ गम्भीर घाइतेलाई काठमाडौं पठाइयो

नुवाकोटबाट काठमाडौँतर्फ जाँदै गरेको बस किस्पाङ गाउँपालिका–५ मनकामनामा  दुर्घटना हुँदा ३८ जना घाइते भएका छन् । घाइतेमध्ये आठ जनाको अवस्था गम्भीर भएकाले थप उपचारको लागि काठमाडौं लगिएको छ । 


Advertisement

किस्पाङ गाँउपालिका–१ भाल्चेबाट त्रिशूली हुँदै काठमाडौं जान लागेको बा ४ ख ५७६२ नम्बरको बस आज बिहान ११ बजे मनकामना आइपुग्दा ब्रेकले काम नगरेपछि दुर्घटनामा परेको नुवाकोट प्रहरीले जनाएको छ । 


Advertisement

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक हरिबहादुर वलीका अनुसार यात्रुले खचाखच भरिएको बस मनकामनाको धारापाखो भन्ने स्थानमा अनियन्त्रित भएर दुर्घटनामा परेको हो ।

घाइते भएकामध्ये गम्भीर अवस्थाका चार जनालाई हेलिकप्टर र चार जनालाई एम्बुलेन्समार्फत काठमाडौं पठाइएको छ । 


Advertisement

बाँकी ३० जनाको त्रिशूली अस्पताल नुवाकोटमा उपचार भइरहेको छ । घाइते भएका अधिकांश बसको छतमा बसेका यात्रु रहेको प्रहरीले जनाएको छ । 

बसले नियन्त्रण गुमाउन थालेसँगै छतमा यात्रा गरिरहेका हाम्फाल्दा टाउको र खुट्टामा चोट लागेको छ ।

बसको ब्रेक नलागेपछि चालकले विपरीत दिशातर्फ मोडेर बसलाई नालीमा अड्काएका कारण ठूलो क्षति हुनबाट जोगिएको किस्पाङ गाउँपालिकाका अध्यक्ष छत्रबहादुर लामाले बताए । 

दुर्घटनाको समयमा उक्त बसमा ५० जना भन्दा बढी यात्रु रहेको र उनीहरू दशैं मनाएर काठमाडौंतर्फ जान लागेका थिए । 

कमेन्ट गर्नुहोस्