
सर्वोच्च अदालतमा मंगलवारदेखि गोलाप्रथाका आधारमा पेशी तोकिने भएको छ ।
नेपाल बार एसोसिएसनका पदाधिकारीसँग आइतवार भएको भेटवार्तामा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले मंगलवारदेखि नमूनाको रूपमा गोलाप्रथाबाट पेशी तोक्ने बताएका हुन् ।
मंगलवार नमूनाको रूपमा गोलाप्रथाद्वारा पेशी तोक्ने प्रतिबद्धता जनाएका बारकी उपाध्यक्ष रक्षा बस्यालले लोकान्तरलाई जानकारी दिइन् । प्रधानन्यायाधीश जबराले मंसिरदेखि मुद्दाको पेशी अटोमेसनमा लैजाने प्रतिबद्धता समेत जनाएको भेटमा सहभागी अर्का एक पदाधिकारीले जानकारी दिए ।
सर्वोच्च अदालतमा भइरहेका विकृति अन्त्य गर्नका लागि पेशी तोक्दा गोलाप्रथामा जानुपर्ने सुझाव न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले दिएको थियो ।
प्रधानन्यायाधीश जबराका सम्बन्धमा उठेका विषयबारे बारका पदाधिकारीले भोलि सर्वोच्च अदालतका सबै न्यायाधीशहरूसँग छलफल गर्ने तयारी गरेका छन् ।