२६ जेठ २०८३, मंगलबार

प्रधानमन्त्री देउवाले गरे उच्चस्तरीय साइडलाइन बैठक

कात्तिक १७, २०७८
प्रधानमन्त्री देउवाले गरे उच्चस्तरीय साइडलाइन बैठक
फाइल फोटो

संयुक्त अधिराज्यको ग्लास्गोमा जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औं सम्मेलन (कोप–२६) अन्तर्गत २ दिने विश्व नेताहरूको शिखर सम्मेलनमा सहभागी हुन आएका प्रधानमन्त्री शेरबहादुर देउवासँग बेलायतका रक्षामन्त्री बेन वालेसले साइडलाइन बैठक गरेका छन् ।

सम्मेलनको दोस्रो दिन २ नोभेम्बरमा भएको भेटमा रक्षामन्त्री वालेसले प्रधानमन्त्री देउवासँग बेलायती गोर्खा सैनिकको गुनासो र हितका साथै नेपाललाई कोरोना विरुद्धको भ्याक्सिनमा बेलायतको सहयोगका विषयमा पनि छलफल गरेका भेटमा सहभागी परराष्ट्र सचिव भरतराज पौड्यालले जानकारी दिए ।

यसअघि प्रधानमन्त्री देउवा बेलायती प्रधानमन्त्री बोरिस जोनसन र स्कटल्यान्डका सरकार प्रमुखले सरकार प्रमुखहरूको स्वागतमा आयोजना गरेको स्वागत समारोहमा सहभागी भएका थिए । सो अवसरमा प्रधानमन्त्री देउवाले वन तथा भूउपयोग व्यवस्थापन सम्बन्धी उच्चस्तरीय कार्यक्रमलाई प्रतिष्ठित प्यानलका रूपमा सम्बोधन गर्दै स्वेच्छिक कार्बन बजार र उत्सर्जन घटाउने वन औजारमा नेपालको चासो रहेको धारणा व्यक्त गरेका भेटमा सहभागी वन तथा वातावरण मन्त्रालयका सचिव डा. प्रेमनारायण कँडेलले जानकारी दिए ।

प्रधानमन्त्री देउवासँग विश्व बैंक समूहका प्रबन्ध निर्देशक मारी पाङ्गेस्टुले नेपाललाई हरित विकास, जलवायुजन्य असर र कोभिड–१९ रोकथाममा सहयोग गर्नेलगायत विषयमा छलफल गरेका भेटमा सहभागी अर्थसचिव मधुकुमार मरासिनीले जानकारी दिए ।

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) की डेपुटी सीईओ एलेक्सिया लाटोर्टुले प्रधानमन्त्री देउवासँग भेट गरी नेपाललाई प्रदान गरेको एमसिसी कम्प्याक्ट अनुदानका विषयमा छलफल भएको थियो ।

प्रधानमन्त्री देउवाको मंगलवार नै आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदी, श्रीलंकाका राष्ट्रपति गोटाबय राजपाक्षे र मङ्गोलियाका राष्ट्रपति उखना खुरेलसुख्दसँग द्विपक्षीय भेटवार्ता भएको थियो । अन्तर्राष्ट्रिय समुद्री संगठनका महासचिव किटैक लिमले पनि प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट गरी समुद्री क्षेत्रमा नेपालीलाई रोजगारीका नयाँ अवसर प्रदान गर्न सकिने सम्बन्धमा सन्दर्भमा कुराकानी गरेका थिए ।

शिखर सम्मेलनको पहिलो दिन १ नोभेम्बरमा उनले नेपालका तर्फबाट सम्बोधन गरेका थिए । सम्मेलनमा ११७ देशका राष्ट्रप्रमुख र सरकार प्रमुखले सम्बोधन गरेका थिए । 

प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डल बुधवारै इडिनबर्ग विमानस्थलबाट कतारको दोहा हुँदै स्वदेश फर्कने कार्यक्रम रहेको छ । सम्मेलनमा सहभागी हुने सिलसिलामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री देउवा शुक्रवार राति संयुक्त अधिराज्य पुगेका थिए ।

३१ अक्टोबरदेखि ग्लास्गोमा शुरू भएको कोप–२६ १२ नोभेम्बरसम्म चल्नेछ । – भीष्मराज ओझा/रासस

salt training

कमेन्ट गर्नुहोस्