
चौथो संस्करणको पाँचपोखरी विन्टर ट्रेल हाफ म्याराथनको उपाधि सोलुखुम्बुका सुमन कुलङ राईले जितेका छन् । उपाधिसँगै उनले नगद ५० हजार जितेका छन् ।
सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाको चार हजार २०० मिटर उचाइको पाँचपोखरीमा सम्पन्न प्रतियोगितामा कुलुङले निर्धारित दूरी १ घण्टा ५५ मिनेट ५२ सेकेण्डमा पूरा गर्दै पहिलो भए । दोस्रो र तेस्रो स्थानमा आर्मीका गोपाल तामाङ र श्रीकास राईले क्रमश २ घण्टा २९ सेकेण्ड र २ घण्टा १ मिनेट ४० सेकेण्डमा दौड पूरा गर्दै नगद ३० हजार र २० हजार हात पारेका छन् । चौथो र पाचौँ स्थान अर्जुन कुलुङ र तीर्थ तामाङले जितेका छन् ।
महिलातर्फ धादिङका रसिला तामाङ पहिलो भइन् । उनले २ घण्टा ४४ मिनेट ४३ सेकेण्डमा दौड पूरा गरे ।
उपाधिसँगै उनले नगद ५० हजार पाकी छन् ।
सिन्धुपाल्चोकका नितु तामाङले निर्धारित दूरी २ घण्टा ४६ मिनेट २५ सेकेण्डमा दौड पूरा गर्दै दोस्रो स्थान प्राप्त गरिन् । तेस्रो, चौथो र पाँचौँ स्थान क्रमश प्युठानका संगिता बुढामगर, आश्मा विश्वकर्मा र निर्मला राईले हात पारे ।
त्यस्तै सिन्धुपाल्चोकका सहभागीतर्फ पुरुषमा संच तामाङ र महिलामा नितु तामाङले पहिलो स्थान हात पारेका छन् भने भेट्रान पुरुषतर्फ गोर्खाका भीमबहादुर गुरुङ र महिलामा राधा श्रेष्ठ पहिलो भएका छन् ।
प्रतियोगितामा सहभागि खेलाडीको हौसला बढाउन एसियाली म्याराथनका स्वर्ण विजेता वैकुण्ठ मानन्धरले पनि दौडमा सहभागिता जनाएका थिए ।
जिल्लाको थाङ्पाल गाउँपालिकाको रैथानेश्वरीदेखि शुरू २१ किलोमिटरको म्याराथन ४ हजार २०० मिटर उचाइको पाँचपोखरीबाट शुरू भएको हो ।
पर्यटन प्रवर्द्धनका लागि खेलकुद भन्ने मुल नाराका साथ स्वस्थ्य रहन खेलकुद र खेलकुदका माध्यमबाट पाँचपोखरीको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बागमती प्रदेश खेलकुद परिषद सदस्य सचिव सूर्यलाल भण्डारीले बताए ।