
प्रधानमन्त्री शेरबहादुर देउवाले द्वन्द्वकालीन घटनाका पीडितहरूलाई चाँडै न्याय दिलाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
राष्ट्रिय मानव अधिकार आयोग नेपालद्वारा शुक्रवार काठमाडौंमा आयोजित ७३ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले द्वन्द्वकालीन घटनाका पीडितहरूलाई चाँडै न्याय दिलाउने बताएका हुन् ।
उनले नेपालमा मानव अधिकारसम्बन्धी धेरै अधिकार दिएको बताउँदै राम्रोसँग क्षतिपूर्ति दिएर भए पनि द्वन्द्वकालीन घटनाका पीडितहरूलाई न्याय दिलाउने बताए । प्रधानमन्त्री देउवाले नेपालले गरिरहेको कामको प्रशंसा सारा संसारले नै गरेको भन्दै मानवअधिकारसम्बन्धी आवश्यक काम गर्न सरकार तयार रहेको बताए ।
‘नेपालमा यत्रो द्वन्द्व भए आफैँ नेतृत्व गरेर वार्ता शुरू गरेर हामीले हिजो इन्सर्जेन्सीमा लागेका मित्रहरू आज मिनिस्ट्रीमा आएका छन्,’ उनले भने, ‘सबैलाई हामीले आश्वस्त पार्नुपरेको छ । नेपाल आफैंले पनि धेरै कामहरू गर्न सक्छ भन्ने कुरा प्रमाणित भएको छ । केही कुरा छन् भने त्यसमा पनि हामी हेर्ने नै छौँ ।’
राष्ट्रिय मानव अधिकार आयोग, नेपालका अध्यक्ष तपबहादुर मगरले राष्ट्रिय मानव अधिकार आयोगमा वर्तमान पदाधिकारी नियुक्तिपछि आयोगले सन् २०२१ देखि २०२६ सम्मका लागि रणनीतिक योजना निर्माण गरेको बताए ।