२६ जेठ २०८३, मंगलबार
संस्कृति

सुदूरपश्चिमका बस्तीमा प्राचीन युद्धको झल्को दिने भुवा अभ्यास

पुस १०, २०७८
सुदूरपश्चिमका बस्तीमा प्राचीन युद्धको झल्को दिने भुवा अभ्यास

प्राचीन युद्ध कौशलको झल्को दिने झाँकी अर्थात् भुवा नाच प्रदर्शन शुरू भएको छ । दमाहाको तालसँगै एक हातमा तरवार र अर्को हातमा ढाल नचाइने दृश्य सहितको भुवा नाचको प्रदर्शन आजभोलि सुदूरपश्चिमका गाउँबेशीमा हुँदैछ ।

यो भुवा कैको
पाँच पौण्डु देउको
का बाट उब्जी
मन्त लोक उब्जी
त्याँ बाट इन्द्रका बार
इन्द्रका बार भुवा खेलायो ... 

यस्ता लय र भाकासहित आजभोलि खुलामञ्च अथवा खुला ठाउँ गुञ्जमान हुन थालेका छन् ।

जनाउको रूपमा भुवा पुस महिनाको पूर्णिमाको राति भुवाखाडोमा आगो बालेर प्रारम्भ गरिन्छ । तथापि यस पर्वको विधिवत शुरूआत पुसे औंसीदेखि हुने जानकारहरू सुनाउँछन् ।

देउडा गायक तथा पूर्व अन्तर्राष्ट्रिय कबड्डी खेलाडी लक्ष्मण अधिकारीले पुसे औंसीमा ५ पाण्डपहरूको पूजापाठ गरी भुवा शुरू हुने बताए । यो वर्ष पुस १८ गते राँको बाल्दै विधिवत रूपमा शुरूआत हुने बताइएको छ ।

भुवाको ऐतिहासिकता

हाल लोपोन्मुख अवस्थामा रहेको भुवा पर्वको ऐतिहासिक, सांस्कृतिक महत्त्व रहेको छ । बाजुुरेली सेवा समाजका अध्यक्ष चेतन थापा भन्छन्, ‘भुवा प्राचीन संस्कृति हो । प्राचीनकालीन युद्धको भाका हो । कौशलको प्रदर्शनी हो । जसको आफ्नै मौलिक विशेषता छ, हाम्रो पहिचान हो ।’

पुसे औंसीको अघिल्लो मध्यरातबाट शुरू हुने भुवा महाभारतको पाण्डप र कौरवबीचको युद्धदेखि यो पर्व आरम्भ भएको जनविश्वास रहँदै आएको छ । सोही लडाइँको सम्झना तथा पाण्डपहरूको जीतको खुशीयालीमा पर्व मनाउन थालिएको अधिकारी बताउँछन् ।

भुवा पर्वको ऐतिहासिक पक्ष गीतिलयमा उनले यसरी सुनाए –

पहिलो भुवो, माथि मन्ता लोग, ईन्द्रका बारा
दोसरो भुवा, ब्राह्मण घरि
तेस्रो भुवो, कृष्ण घरि
चौथो भुवो, पाँच पाण्डा घरि
वा है भुवो, मुलुक सनिसार
वा है भुवो, नरलोग आयो
नरलोग दुनियाँले, वाई बासा राख्यो
मिठाई फलु ख्वायो, स्वागत अर्‍यो
वा है भुवो, केदारनाथ आयो
युधिष्ठिर राजाले, वाई बासा राख्यो
स्वागत अर्‍यो, 
मन्दिर बनाउनाको, सल्लाह अर्‍यो, 
युधिष्ठिर राजाले, आइडिया दियो
कान्छा सहदेव, चौकोठ खारिदे
काइला नकुल, रोल गारो बनाइदे
साइला अर्जुन, देवाल चिणाइदे
माइला भीम, पत्थर भरिदे
द्रौपता रानी, देवाल पोताइदे
वा है भुवो, हरिद्वार आयो
हरिद्वार हरिज्यूको, दर्शन अर्‍यो, नुवाइधुवाई अर्‍यो,
वा है भुवो, रामेश्वर गयो, नुवाइधुवाई अर्‍यो

वा है भुवो, हाति ढुंगा आयो
हाति ढुंगा हाति देवको, दर्शन अर्‍यो
वा है भुवो, गौरीकुण्ड आयो 
गौरीकुण्ड गरम पानी, गौमुख्या धारा, नुवाइधुवाई अर्‍यो 
वा है भुवो, वारि मण्डी आयो
वा है भुवो, पशुपति आयो, दर्शन अर्‍यो ... ।।

पर्वमा ढाल र तरवारसहित चाली खेल्ने प्रचलन रहँदै आएको छ । जसको शुरूआतदेखि समाप्तिसम्म आफ्नै विधिप्रक्रिया रहेको अधिकारी सुनाउँछन् ।

उनका अनुसार पुसे औंसीको राति भुवा खडोमा आगो बालिन्छ । आगो तापेर नुवाइधुवाई सरसफाई गरेर घरमा मीठो–मसिनो खाना बनाइएको हुन्छ । खाना खाएर आफ्ना हतियारहरू ढाल तरवारलाई चम्किलो बनाउने काम गरिन्छ । ढाल कालोले पोतिन्छ भने तरवारलाई धारिलो र चम्किलो बनाइन्छ ।

यसरी चम्किलो बनाइएको तरवारहरू चाली खेल्दा घाममा टलक्क टल्किन्छन् । औंसीको भोलिपल्ट लुगाकपडा धोएर हातहतियार सजाउने, टल्काउने काम हुन्छ अनि द्वितीया तिथिको दिनमा विशेष ढंगले प्रदर्शन गरिने बताइन्छ ।

भुवा खेलको पहिरन पनि विशेष प्रकारको हुन्छ । भुवा खेल्ने पुरुषहरूले सेतो भोटोसहित जामा, पछाडि कुमदेखि खुट्टासम्म पुग्ने गरी पिठ्युमा एउटा सेतो चादर जस्तो पहिरनुपर्छ । टाउकोमा पगरी बाँध्नुपर्छ । अधिकारीले पुनः देउडालयको भाका यसरी सुनाए –

एक हात तरवार हुन्छ एक हात ढाल हुन्छ
गजरान्त दमाऊ बजी बाजाको ताल हुन्छ
जसोजसो बाजो बज्यो, खेल्न्याको चाल हुन्छ 
खेल्नाकी रमाइलो हुन्छ हेरनाकी माल हुन्छ
चानामि लायाको टीको टल्क्याको लाल हुन्छ
जान्यो भन्या गज्जब हुन्छ नजान्या झाल हुन्छ
हेरन्या उत्ति खेल्न्या उत्ति वरपर उति
खेल्नाकी दम पन चाइदो उसै चाइदो फुर्ति

दिउँसोको समयमा भुवाखाडोमा गएपछि भुवाको रौनक शुरू हुन्छ । बाजागाजाका साथ दमाहाले पनि अनेक धुन बजाउँछन्, बाजागाजा लस्कर हुँदै औंसी र प्रतिपदाका दिन चम्काएका ढाल तरवार बाजागाजा भुवाको लयमा चम्कन शुरू हुन्छ ।

बायाँ हातमा ढाल, दायाँ हातमा तरवार लिई बाजाको तालसँगै गुरुको निर्देशनअनुसार सुस्तगतिबाट भुवा खेल खेल्ने गरिन्छ । खेलमा २० भन्दा वटा चाली र ६३ कवच हुन्छ ।

यसैबीच स्थानीयले आ–आफ्नो घरमा मीठामीठा परिकारहरू पकाउँछन् र आपसमा बाँडेर खान्छन् । दशैंपछिको ठूलो पर्वको रूपमा लिइने यस पर्वमा वर्षदिनसम्म भेटघाट नै नभएका ईष्टमित्र, दाजुभाइबीचको सम्बन्ध प्रगाढ हुने जनविश्वास उत्तिकै छ । हातमा तरवार र ढाल लिई सामूहिक रूपमा बाजागाजासहित घरघरमा गई भोस्को खेल्दा घरमा श्रीसम्पत्ति भित्रिने र खेलको माध्यमबाट समाजका विकृति–विसंगतिको अन्त्य भई समतामूलक समाज निर्माण हुने जनविश्वास रहँदै आएको बताइन्छ ।

४० वर्षपछि कञ्चनपुरमा भुवा

लोपोन्मुख अवस्थामा रहेको भुवा पर्वको संरक्षणको लागि सुदूरपश्चिम प्रदेश सरकारले भुवा पर्वको दिन सार्वजनिक बिदा समेत दिँदै आएको छ । प्रदेश सरकारले पुस १८ गते सार्वजनिक बिदा दिने भएको छ । 

यसैबीच कञ्चनपुरमा ४० वर्षपछि भुवा नाचको शुरूवात गरिएको छ । भीमदत्त नगरपालिका–७ हल्दुखालस्थित सिद्ध सामुदायिक सेवा समितिले गाउँमा भुवा भस्सो शुरू गरेको छ । नयाँ पुस्तालाई पर्वबारे सचेतीकरण गर्न अभियानकै रूपमा शुरू गरेको अधिकारी बताउँछन् ।

भुवा पर्व सुदूरपश्चिमको बझाङ, बाजुरा, अछाम, डोटी तथा पहाडबाट बसाइँसरी कैलाली–कञ्चनपुर झरेका पर्व मनाउँदै आएका छन् । कर्णाली प्रदेशका केही जिल्लामा समेत पर्व मनाउने गरिन्छ ।

यति मात्रै होइन, पछिल्लो समय विभिन्न देशमा रहने नेपालीले पनि भुवा पर्व मनाउन थालेका छन् । यूएईमा सुदूरपश्चिम सेवा समाजले भुवा पर्व मनाउँदै आएको अधिकारी बताउँछन् ।

salt training

कमेन्ट गर्नुहोस्