
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले एमाले–माओवादी बीचको एकता टुट्नुको कारणबारे समीक्षा गर्नुपर्ने बताएका छन् ।
पार्टीको आठौं राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई आइतवार प्रज्ञा भवनमा सम्बोधन गर्दै प्रचण्डले कहाँ गल्ती भयो भनेर समीक्षा गर्नुपर्ने बताएका हुन् ।
'मैले एमालेका अध्यक्ष ओलीजीलाई फोन गरें । उहाँ झापामा हुनुहुँदोरहेछ । काठमाडौंमा भएको भए आइहाल्थें भन्नुभयो । सम्मेलनमा कोही अरू नेता नबोलाउने भएकाले म यता आएँ भन्नुभयो । मैले सकेसम्म आउनुस् भनें, उहाँले म महासचिवलाई पठाउँछु भन्नुभयो,' प्रचण्डले ओलीसँगको संवाद उल्लेख गरे ।
त्यसपछि प्रचण्डले केही समयअघि बोलेका एमाले महासचिव शंकर पोखरेलको प्रसंग उद्धृत गरे ।
पोखरेलले पार्टी एकता जोगाउन नसकिएकोमा पछुतो लागेको बताएका थिए ।
सोही प्रसंगमा प्रचण्डले भने- 'हामीले पार्टी एकता गरेर गल्ती गरेका थिएनौं । सिंगो एमालेका साथीहरूलाई भन्न चाहन्छु । कहाँ थियो त गल्ती ? समीक्षा गरौं । के कारण हामीले देखेको सपना आफैँले भत्कायौं ?'
उनले यस विषयमा आफ्नो पार्टीमा छलफल चलाउन पनि आग्रह गरे ।