चैत ४, २०७८
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा चालू आर्थिक वर्ष २०७८/०७९ को पुस मसान्तसम्ममा स्थानीय तहमा भएका अनियमिततासम्बन्धी ७ हजार १९३ थान उजुरी दर्ता भएका छन् । आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार चालू आर्थिक...
काठमाडाैं | माघ २, २०७८
अर्काको नागरिकता दुरुपयोग गरी कम्पनी खडा गरेर करोडौं कारोवार गर्दै राजश्व छलि गर्ने गिरोह नै सक्रिय रहेको पाइएको छ । राजश्व अनुसन्धान विभागले राजश्व छलीको विषयलाई लिएर उच्च अदालत पाटनमा दर्ता गरेको मुद्दाले यस्तो रहस्योद्घाटन गरेको हो ।
गाउँमा सामान्य जीवन बिताइरहेका, वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरूको नागरिकता दुरुपयोग गरी खोलिएका कम्पनीमार्फत नक्कली कारोवार गरी राजश्व छल्ने गरेको पाइएको छ ।
यस्तै घटनाको शिकार भएका छन्, रामसरोज यादव ।
धनुषाको कमला नगरपालिका वडा नम्बर २ माची गाउँका २५ वर्षीय यादवले ११ करोड ६० लाख ७२ हजार ९४८ रुपैयाँ बराबर राजश्व चुहावट गरेको भन्दै उच्च अदालत पाटनमा मुद्दा परेको छ ।
राजश्व अनुसन्धान विभागको अनुसन्धानमा यादवको नामबाट करोडौं राजश्व छलि गरेको फेला परेपछि उनको विस्तृत विवरण खोजी गरिएको थियो। त्यस क्रममा यादवको नागरिकता दुरुपयोग गरी अरू नै व्यक्तिले उनको नाममा कारोवार गरिरहेको भेटिएको हो।
यद्यपि कारोवार गर्ने वास्तविक व्यक्तिको पत्तो भने अझै लागेको छैन ।
आरोपित यादव एक सामान्य नागरिक हुन् ।
पछिल्लो ८ वर्षदेखि उनले वैदेशिक रोजगारीको सिलसिलामा कतार र कुवेतमा मजदुरी गर्दै आएको कुरा अदालतमा पेश भएको पासपोर्टबाट प्रमाणित हुन्छ।
उनी दुई/तीन वर्षको अन्तरालमा बिदामा गाउँ फर्किने गरेको बताउँछन् ।
गाउँमा चार धुर घडेरीमा उनको सामान्य कच्ची घर छ । बुवाआमा, श्रीमती तथा दुई सन्तान छन् । पैतृक सम्पत्तिको नाममा पाँच कठ्ठा खेत मात्र छ ।
तर काठमाडौंमा उनकै नाममा कारोवार हुने गरी तीन छुट्टाछुट्टै कम्पनी सञ्चालनमा छन् । उनकै नाममा करोडौं कारोवार हुने गरेको छ ।
एकैदिन करोडौं रकम उनको नाममा सञ्चालन भएका विभिन्न बैंकका खातामा जम्मा हुने तथा जम्मा भएकै दिन वा त्यसको भोलिपल्ट उनीसहित अन्य विभिन्न व्यक्तिका नाममा जारी भएका चेकबाट झिक्ने गरिएको खुलेको छ ।
उनको नामबाट कारोवार गर्ने हिमालयन नेपाल सप्लायर्स प्रालि, जिमी सप्लायर्स प्रालि र युनिक नेपाल सप्लायर्स प्रालि हुन् । तीनवटै कम्पनीको कारोवार यादवकै खाताबाट हुने गरेको छ ।
हिमालयन सप्लायर्स प्रालिको सञ्चालक महोत्तरीको पिपरा गाउँपालिका वडा नम्बर ५ हर्दिया गाउँका नसिवकुमार झा रहेका छन् ।
जिमी सप्लायर्स प्रालिका सञ्चालक जनकपुर उपमहानगरपालिका वडा नम्बर ४ बस्ने नितिन झा र युनिक नेपाल सप्लायर्सका सञ्चालक जनकपुर उपमहानगरपालिका वडा नम्बर १० बस्ने प्रकाश मिश्र रहेको कुरा खुलेको छ ।
यसरी गरियो करोडौंको राजश्व छली
हिमालयन नेपाल सप्लायर्स प्रालि (स्थायी लेखा नम्बर ६०३५०७९४२)को नाममा सानिमा बैंक लिमिटेड कलंकी शाखामा रहेको चल्ती खाता विभागले अध्ययन गरेको थियो।
उक्त खाता सञ्चालक रामसरोज यादव रहेको, फर्मको नामबाट जारी भएका सम्पूर्ण चेकहरूमा खाता सञ्चालक यादवकै हस्ताक्षर प्रयोग भएको देखिन्छ ।
अधिकांश बैंकिङ कारोवार हेर्दा एकै मितिमा रकम जम्मा हुने र सोही मितिमा वा भोलिपल्ट जम्मा भए बराबरको रकम रामसरोज यादव, रमेश, सुनिल लगायतका विभिन्न व्यक्तिको नाममा चेक जारी गरी झिक्ने गरेको देखिन्छ ।
संस्था दर्ताको बखत उपलब्ध गराएको फोन नम्बर तथा बैंकमा खाता खोल्दा केवाईसी विवरणमा उपलब्ध गराएको फोन नम्बरमा सम्पर्क गर्दा सम्पर्क हुन नसकेको मिसिलमा उल्लेख छ।
'यस विभागमा उपस्थितिका लागि घर ठेगानामा पत्राचार गर्दा उपस्थित नभएको र उपस्थितिका लागि ७ दिनको म्याद दिई २०७६ फागुन २२ गतेको गोरखापत्रमा सूचना प्रकाशित गरिएकोमा फर्मका सञ्चालक नितिन झा तथा बैंक खाता सञ्चालक रामसरोज यादव उपस्थित नभएको,' विभागको अभियोगपत्रमा उल्लेख छ ।
फर्मको ठेगानामा गई बुझ्दा उक्त फर्मको त्यस स्थानमा कारोबार स्थल नरहेको र सोका सञ्चालक भनिएका व्यक्ति हालसम्म नदेखेको, निजहरूले त्यस स्थानमा बसेर उक्त फर्मको नाममा कुनै पनि खरिद बिक्री कारोवार नगरेको व्यहोराको स्थलगत मुचुल्का समेत विभागले पेश गरेको छ ।
आसिकुडा विवरणअनुसार उक्त फर्मले आर्थिक वर्ष २०७२/७३ को जेठ महिनामा ९ लाख १० हजार १५१ रुपैयाँको मात्र पैठारी गरेको देखिन्छ ।
पैठारी गरेको मालवस्तुको प्रकृति र उक्त फर्मले बिक्री देखाएका फर्महरूको कारोबारको प्रकृति समेत मेल नखाएको अनुसन्धानबाट देखिएको छ।
मिसम्याच विवरण अनुसार उक्त फर्मले खरिद गरेको भनी रिपोर्टिङ गरेका अधिकांश फर्महरू झुटा तथा नक्कली मूल्य अभिवृद्धि कर बिजकको कारोबार गर्ने भनी पहिचान भएका फर्महरू भएको देखिन्छ ।
अनुसन्धानका क्रममा फर्मका सञ्चालक तथा बैंक खाता सञ्चालक उपस्थित नभएको, २०७६ साउनदेखि मूल्य अभिवृद्धि कर विवरण नबुझाएको, आर्थिक वर्ष २०७५/०७६ देखि आय विवरण नबुझाई नन फिलर रहेको देखिएको छ ।
'बैंक खाताबाट कुनैपनि पार्टीलाई खरिदबापत भुक्तानी भएको नदेखिएको, बैंक खातामा जम्मा भएको रकम जम्मा भएकै दिन वा लगत्तै विभिन्न व्यक्तिका नाममा निकालिएको, कारोवार स्थल, गोदाम नभएकोसम्बन्धी स्थलगत मुचुल्का लगायतको तथ्यले प्रस्तुत फर्मले झुटा तथा नक्कली मूल्य अभिवृद्धि कर बिजकको कारोवार गरेको पुष्टि हुने देखिन्छ,' विभागले दर्ता गरेको अभियोग पत्रमा उल्लेख छ ।
हाइवे लिंक प्रालि (स्था.ले.नं.३०३९७२७४५)का सञ्चालक जनार्दन भण्डारीसँग आर्थिक वर्ष २०७५/०७६ मा उक्त फर्मले कारोवार गरेको देखिन्छ। तर उक्त फर्मका सञ्चालक भण्डारीविरुद्ध पनि राजश्व चुहावटको अभियोगसहित काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ।
हिमालयन नेपाल सप्लायर्स प्रालिबाट लिएको बिजक एकै व्यक्ति नसिब कुमार झा(ग्यालेक्सी सप्लायर्सका प्रोप्रराइटर) भन्नेबाट लिएका हौं, निजको सम्पर्क नम्बर ९८०३०###८१ हो भनेर भण्डारीले विभागलाई बयान दिएका छन्।
'हामीले सेवासम्बन्धी प्लानिङ, सर्भे, ट्रान्समिसन जस्ता कामका लागि कामदार लगाउनुपर्ने हुन्छ, भुक्तानी पनि सोहीअनुसार हुन्छ,' भण्डारीले बयानमा भनेका छन्, 'सोको बिजक नहुँदा उक्त फर्महरूबाट हामीले बजार मूल्य अनुसारको बिजक लिएका हौं । खर्च मिलाउनका लागि उक्त पार्टीहरूबाट खरिद बिजक लिएका हौँ।'
विविध वस्तुको आयात गर्ने, सामान्य तयारी कपडाको खुद्रा व्यापार गर्ने, भवन निर्माण सामग्री तथा हार्डवेयर सामानको खुद्रा व्यापार गर्ने उद्देश्य देखाएर जिमी सप्लायर्स दर्ता भएको छ । आर्थिक वर्ष २०७२/०७३ देखि कारोबार गर्ने गरेको उक्त फर्मको सञ्चालक नितिन झा रहेको भए पनि बैंक खाता सञ्चालक रामसरोज यादव नै रहेको अनुसन्धानबाट खुलेको छ।
उक्त फर्मले आर्थिक वर्ष २०७२/७३ देखि २०७४/०७५ सम्मको आय विवरण पेश गरेको र मासिक रूपमा बुझाउनु पर्ने मूल्य अभिवृद्धि कर विवरण २०७६/०७७ को साउनसम्म बुझाएको छ ।
आर्थिक वर्ष २०७२/०७३ मा खरिद गरेको भनी प्रतिवेदन गरेका न्यु देव इन्टरप्राइजेज, चन्दन सप्लायर्स, एसपी इन्टरनेसनल प्रालि, पवन पुत्र ट्रेडर्स, आर्थिक वर्ष २०७३/०७४ मा खरिद गरेको भनी प्रतिवेदन गरेको न्यु सुप्रिम ट्रेडर्स र पवन पुत्र ट्रेडर्स लगायतका फर्महरू झुटा तथा नक्कली मूल्य अभिवृद्धि कर बिजकको कारोबार गर्ने भनी पहिचान भएको विभागको अभियोग पत्रमा उल्लेख छ ।
प्रस्तुत फर्मले झुटा तथा नक्कली मूल्य अभिवृद्धि कर बिजक जारी गरेको अनुपातमा स्थानीय खरिद देखाउने गरेको देखिन्छ ।
जिमी सप्लायर्सको नाममा सेञ्चुरी कमर्सियल बैंक पुतली सडकमा रहेको खाताको सञ्चालक रामसरोज यादव नै रहेको अनुसन्धानमा खुलेको छ ।
उक्त खातामा पनि रकम जम्मा भएलगत्तै निकाल्ने गरिएको छ ।
'अधिकांश बैंकिङ कारोबार हेर्दा एकै मितिमा रकम जम्मा हुने र सोही मितिमा वा भोलिपल्ट जम्मा भए बराबरको रकम राम सरोज यादव, विपिन, सुमन लगायतको नाममा चेक जारी गरी झिकेको देखिन्छ,' विभागको अभियोगपत्रमा उल्लेख छ ।
त्यसैगरी तेस्रो कम्पनी युनिक नेपाल सप्लायर्सका बैंक खाता सञ्चालक पनि रामसरोज यादव नै छन् । एनआईसी एसिया बैंक लिमिटेडमा खोलिएको उक्त खातामा पनि एकै मितिमा रकम जम्मा हुने र सोही मितिमा वा भोलिपल्ट जम्मा भए बराबरको रकम सुनिल, रामसरोज यादव, सुमन, सञ्जीव लगायतका विभिन्न व्यक्तिको नाममा चेक जारी गरी झिकेको देखिन्छ।
यसरी उल्लेख गरिएका तीनवटा सप्लायर्स कम्पनीहरूले रामसरोज यादवको नाममा बैंक खाता सञ्चालन गरेर करोडौं रुपैयाँको आर्थिक कारोबार गरेको विभागको अनुसन्धानमा देखिएको छ।
विभागले ती कम्पनीका सञ्चालकहरू र बैंक खाता सञ्चालकलाई राजश्व चुहावट गरेको अभियोगमा मुद्दा दर्ता गरेको हो । त्यसका साथै लेखा परीक्षण गर्ने डीआर उपाध्याय एण्ड एसोसिएट्सका प्रोपराइटर देवराज उपाध्याय र जे गुरुङ एण्ड एसोसिएट्सका प्रोपराइटर जगन्नाथ गुरुङलाई पनि मतियारको रूपमा प्रतिवादी बनाइएको छ ।
यादव साधारण तारेखमा रिहा
गत ५ नोभेम्बरमा बिदामा घर आएका बेला अदालतबाट समन (बोलावट) आएपछि उनी झसंग भए । त्यसपछि उच्च अदालत पाटनमा हाजिर भएका उनी साधारण तारेखमा रिहा भएका छन् ।
उच्च अदालत पाटनका न्यायाधीशद्वय बालेन्द्र रुपाखेती र सरलाकुमारी पाण्डेको संयुक्त इजलासले यादवलाई २०७८ पुस २५ साधारण तारेखमा रिहा गर्ने आदेश गरेको छ ।
उनले आरोपमा इन्कार रही अदालतसमक्ष बयान दिएका छन् ।
अभियोग दाबीमा लेखिएका कम्पनीबारे जानकारी नरहेको, आफ्नो संलग्नता नरहेको, बैंक खाताबारे पनि अनभिज्ञ रहेको उनले बताएका छन् ।
'यी प्रतिवादी उपर बैंक खाता सञ्चालन गरेको आधारमा अभियोग दाबी रहेको देखिएकोमा मिसिल संलग्न रहेको रामसरोज यादवको नागरिकताको प्रमाणपत्र र यी प्रतिवादीले पेश गरेको नागरिकताको प्रमाणपत्रमा भिन्नता रहेको,' अदालतद्वारा गरिएको आदेशमा उल्लेख छ ।
त्यसैगरी बैंकसमक्ष पेश गरेका कागजातहरूमा रहेको रामसरोजको दस्तखत र ती प्रतिवादीको दस्तखतमा समेत भिन्नता रहेको आदेशमा उल्लेख गरिएको छ।
'यी प्रतिवादी रामसरोज यादव लामो समयदेखि वैदेशिक रोजगारीमा कतार तथा कुवेतमा रहेको निजले पेश गरेको पासपोर्टबाट देखिएको छ । रामसरोज यादवका बाजेका नाम भनी अभियोग पत्रमा लेखिएको र यी प्रतिवादीको बाबुको नागरिकताको प्रमाणपत्रमा लेखिएको नाम फरक रहेको,' आदेशमा थप उल्लेख गरिएको छ, 'तत्काल प्राप्त प्रमाणहरूबाट प्रस्तुत अभियोगदाबीको कसुरमा यी प्रतिवादीको संलग्नता रहेको कुरामा विश्वास गर्न सकिनेसम्मको अवस्था विद्यमान रहेको देखिन नआएकाले थप प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी हाललाई मुलुकी फौजदारी कार्यविधिसंहिता २०७४ को दफा ६९ अनुसार मुद्दाको पुर्पक्ष निमित्त तारेखमा राख्नू।'
यादवका तर्फबाट बहस गरेका अधिवक्ता धनप्रसाद गौतमका अनुसार उक्त मुद्दामा नागरिकता दुरुपयोग गरेर नक्कली कम्पनी खडा गरी करोडौंको कारोवार गरेको देखिन्छ ।
'कम्पनी खडा गरिएको कुरा सत्य नै हो । आर्थिक कारोवार भएको पनि देखिएकै छ तर कारोवार गर्ने व्यक्ति को हुन् भनेर राजश्व अनुसन्धान विभागले पहिचान गर्न नै सकेको छैन,' अधिवक्ता गौतमले थपे, 'नागरिकताको दुरुपयोग गरेर निर्दोष मानिसको नाममा कम्पनी दर्ता गर्ने, बैंक खाता सञ्चालन गर्ने, करोडौंको राजश्व दुरुपयोग गर्ने गिरोह नै सक्रिय भएको कुरा उजागर भएको छ ।'
यस्ता केस अन्यत्र पनि प्रशस्तै रहेको उनले बताए ।
राजश्व अनुसन्धान विभागले यसरी कारोवार गर्ने वास्तविक व्यक्ति को हुन् ? गिरोहमा को-को संलग्न छन् भन्नेतर्फ अनुसन्धान गर्नुपर्ने उनले बताए ।
त्यसैगरी कम्पनी रजिस्ट्रारको कार्यालयले पनि कम्पनी दर्ता गर्नुपूर्व नागरिकताको प्रतिलिपिबाहेक स्थानीय मुचुल्का समेत गर्नुपर्ने आवश्यकता देखिएको उनको भनाइ छ ।
'नभए नागरिकताको दुरुपयोग गरेर जो कोहीले पनि नक्कली कम्पनी दर्ता गरेर नक्कली कारोवार गर्दै जाने र सोझा नागरिक फस्दै जाने खतरा रहिरहन्छ,' गौतमले थपे, 'त्यसबाहेक बैंकले समेत खाता खोल्दा नागरिकता अनुसारको मानिस सही हो वा होइन भन्ने कुरा समेत राम्रोसँग हेर्नुपर्ने हुन्छ ।'
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा चालू आर्थिक वर्ष २०७८/०७९ को पुस मसान्तसम्ममा स्थानीय तहमा भएका अनियमिततासम्बन्धी ७ हजार १९३ थान उजुरी दर्ता भएका छन् । आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार चालू आर्थिक...
नेपालमा कुनै पनि हिमाल आरोहण नगरेका तथा आरोहणमा असफल भएकालाई समेत सफल आरोहणको आधिकारिक प्रमाणपत्र दिने 'गोरखधन्दा' मौलाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभाग, ट्रेकिङ ए...
राज्यको लगानीमा अध्ययनका लागि अस्ट्रेलिया पुगेका कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव राजेन्द्र अधिकारी विगत ६ वर्षदेखि बेपत्ता छन् । दुई वर्षका लागि सरकारी कोटामा अध्ययन गर्न अस्ट्रेलिया पुगेका अधिकारी उत...
तस्करी गरेर नेपाल भित्र्याइँदै गर्दा बरामद भएको रक्तचन्दनको सुरक्षा सरकारका लागि टाउको दुखाइको विषय बनेको छ । बरामद रक्तचन्दनलाई डेढ दशकदेखि शसस्त्र प्रहरीले पहरा दिइरहेको छ । देशको प्रमुख प्रशासनिक केन्द्र सिं...
राष्ट्रिय प्राणी उद्यान, सूर्यविनायक भक्तपुरको कार्यालय भवन, पानीट्यांकी सहितका भौतिक पूर्वाधार निर्माणदेखि बैठक भत्तासहितका अन्य खर्चमा व्यापक अनियमितता भएको निष्कर्षसहित राष्ट्रिय सतर्कता केन्द्रले कारवाहीका लागि निर्...
त्रिभुवन विश्वविद्यालय सेवा आयोगले विश्वविद्यालयमा स्थायी पदपूर्तिका लागि लिएको परीक्षामा गम्भीर धाँधली भएको पाइएको छ । प्रश्नले मागेको उत्तर नै नलेखी उत्तरपुस्तिका खाली छाडेका परीक्षार्थीलाई उच्च अंक दिएर प्रथम&...
स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...
जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...
‘इधम जिवेत सुखम जिवेत ऋण कृत्वा घ्रितम पिवेत’ सुन्नमा मजा आउँछ तर सुनदेखि नूनसम्म विदेशबाट आयात गर्ने देशका नागरिक हामी वर्तमानमा रमाउँछौं । संसारमा खुशी मानिसमध्ये हामी पनि पर्छाैं अर्थात् भौतिक...