
बागलुङ जिल्लामा १३औं पटक हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइने भएको छ ।
१२औं पटक आम औषधि सेवन अभियान सञ्चालन भइसकेको बागलुङमा अझै हात्तीपाइले रोगका बिरामी फेला परेकाले १३औं पटक आम औषधि सेवन कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।
गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले आम औषधि सेवन कार्यक्रम सञ्चालनका लागि बागलुङका सरोकारवालासँग समीक्षा तथा योजना गोष्ठी सम्पन्न गरेको छ । जिल्लाका दशवटै स्थानीय तहले फागुनको १५ गतेदेखि अभियान अन्तर्गतका विभिन्न कार्यक्रम सञ्चालन गर्ने कार्ययोजना बनाएका छन् ।
हात्तीपाइलेको प्रारम्भिक खोजीका क्रममा जाँच गरिएकामध्ये २.४६ प्रतिशतमा संक्रमण देखिएकाले आम औषधि सेवन अभियान १३औं पटक सञ्चालन गर्नुपरेको हो । २०७७ माघ महिनामा आम औषधि सेवन अभियान सञ्चालन पूर्व गरिएको परीक्षणमा १० जनामा पुनः संक्रमण देखिएको थियो । त्यसयता गत चैतमा एक पटक आम औषधि सेवन अभियान सञ्चालन भइसकेको छ ।
इपिडेमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार संक्रमितको दर २ प्रतिशतभन्दा कम नआएमा लगातार २ वर्ष आम औषधि सेवन अभियान सञ्चालन गरेर औषधि खानुपर्छ ।
बागलुङ नगरपालिका–१४ को नारायणस्थानमा ८ जना र कुश्मीशेरामा २ जनामा संक्रमण फेला परेको थियो । दुवै ठाउँमा ३०० जनामा परीक्षण गरिएको थियो ।