
नेपाल धितोपत्र बोर्डको अध्यक्षमा रमेशकुमार हमाल नियुक्त भएका छन् । बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले हमाललाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । अध्यक्ष छनोटका लागि गठित समितिले अन्तिम चरणमा तीन जनाको नाम सिफारिश गरेको थियो ।
छनोट समितिले हमालसहित डा. गोपालप्रसाद भट्ट र कृष्णराज पोखरेलको नाम सिफारिश गरेको थियो । समितिको सिफारिशमा परेका तीन जनामध्येबाट मन्त्रिपरिषद् बैठकले हमाललाई बाँकी कार्यकालका लागि नियुक्त गर्ने निर्णय गरेको हो । बोर्ड अध्यक्षका लागि १५ जनाले आवेदन दिएका थिए ।
तत्कालीन अध्यक्ष भीष्मराज ढुंगानालाई सर्वोत्तम सिमेन्टको शेयर गैरकानूनी रूपमा किनेको भन्दै सरकारले गत असोज १९ गते बर्खास्त गरेको थियो । बर्खास्तमा परेका ढुंगानालाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २०७६ साल पुसमा नियुक्त गरेको थियो ।
इलेक्ट्रिकल इन्जिनीयरिङमा स्नातक गरेका डोटी सिलगढीका हमालले ८ वर्ष नेपाल विद्युत् प्राधिकरणमा काम गरेका थिए । त्यसपछि उनले थाइल्यान्डको बैंककबाट इन्टरनेशनल बिजनेश (फाइनान्स)मा स्नातकोत्तर गरेका छन् । सन् २००७ देखि २०१० सम्म गैरआवासीय नेपाली संघ (एनआरएनए), थाइल्यान्डको अध्यक्ष भएका उनी ६ वर्षअघि मात्र नेपाल फर्किएका थिए । नेपाल फर्किएलगत्तै उनी थाइल्यान्डको चर्चित होटेल ब्रान्ड दूषित थानीको चेन होटेलका रूपमा काभ्रेमा पाँचतारे होटेल निर्माण गरिरहेका छन् ।
नवनियुक्त अध्यक्ष हमालले साना लगानीकर्ताको हितमा काम गर्ने बताए । धितोपत्र बजारमा साना लगानीकर्ताको पहुँच बढाउन आगामी दिनमा आफ्ना तर्फबाट पहल हुने भनाइ हमालको छ ।
साथै बजारलाई पारदर्शी र विश्वासिलो बनाउनेतर्फ आफूले ध्यान दिने प्रतिक्रिया हमालले दिएका छन् । आर्थिक अभियान दैनिकमा खबर छ ।