रुससँग डटेर युद्ध गरिरहेका युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीको हत्या गर्ने प्रयास भइरहेको छ ।
रुसले राष्ट्रपति जेलेन्स्कीसहित युक्रेनका २४ उच्च अधिकारीको हत्या गर्न छुट्टै सैन्य टोली परिचालन गरेको टाईम्स अफ लन्डनले समाचार प्रकाशित गरेको छ ।
रुसी टोलीले २४ फेब्रुअरीदेखि हालसम्म जेलेन्स्कीलाई मार्न ३ पटक प्रयास गरेपनि सफल हुन सकेको छैन । रुसी टोलीले जेलेन्स्की रहेको ठाउँ यकिन गर्न नसक्दा सफल हुन नसकेको युक्रेनका एक उच्च अधिकारीले अन्तर्वार्तामा बताएका छन् ।
जेलेन्स्की कहाँ लुकेका छन् ? सबैतिर चासो छ । तर उनी गोप्य ठाउँबाट रुसविरुद्ध युद्ध रणनीति बनाइरहेका रिपोर्टमा उल्लेख छ ।
युक्रेनमाथि रुसले सैन्य हमला गरेको १०औं दिनसम्म राष्ट्रपति जेलेन्स्की डटेर युद्ध गरिरहेका छन् । रुसी सेनाले विभिन्न शहरमा कब्जा जमाउँदै गएको छ भने युद्ध झन्झन् खतरनाक हुँदै गएको छ ।
रुसले जेलेन्स्कीलाई राजधानी किभ छाड्न चेतावनी दिएको थियो । त्यसपछि जेलेन्स्कीले राजधानी किभ छाडे कि किभमै छन्, सर्वत्र चासो छ ।