२६ जेठ २०८३, मंगलबार
सरसर्ती २४ घण्टा

५० वर्षमाथिका नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने सरकारको निर्णय

फागुन २७, २०७८
५० वर्षमाथिका नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने सरकारको निर्णय

सरकारले ५० वर्षमाथिका नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ५० वर्ष भन्दा माथि उमेर समूहका नागरिकहरुको मिर्गौला, कलेजो, मुट लगायत अन्य रोगसम्वन्धी परीक्षणहरु सरकारले नियमित रुपमा वर्षको एकपटक निशुल्क रुपमा गर्ने निर्णय गरेको हो । यसको लागि मन्त्रालयले प्रस्ताव अघि सारेको थियो ।

यसैगरी मृत्यु पश्चात आफ्नो शरीरको अंगदान घोषणा गरेका स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको प्रश्तावमा सरकारका सबै मन्त्रीहरुले पनि सोही निर्णय कार्यान्वयन गर्ने भएका छन् । स्वास्थ्य सेवा दिवश २०७८ को अवसर पारेर मन्त्री खतिवडाले यस्तो घोषणा गरेका थिए ।  मन्त्रीलाई साथ दिँदै मुख्य सचिव शंकरदाश बैरागीले पनि अंगदान गर्ने घोषणा गरेका थिए । 
यस्तै मन्त्रीपरिषद बैठकले जेष्ठ नागरिक अस्पताल निर्माण गर्न स्वास्थ्य मन्त्रालयले राखेको प्रस्तावलाई समेत स्विकृत गरेको छ । सो अस्पताल निर्माणका लागि मन्त्रालयले एक कार्यदल मार्फत काम अघि बढाइसकेको छ । 
यसैगरी मन्त्रिपरिषद् बैठकले नेपाल आयल निगमको कार्यकारी निर्देशकमा उमेसिंह थानीलाई नियुक्त गर्ने निर्णय गरेको हो । 
००००
सरकारले २०७९ सालमा दिने सार्वजनिक विदा टुंगो लगाएको छ । आगामी वर्षको विदा टुंगो लगाएर गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गरेको हो । 
सरकारले शनिबार बाहेक पर्व विदा, जात्रा विदा, महिला कर्मचारीलाई मात्रै दिइने विदा, शिक्षण संस्थाको लागि मात्रै हुने विदा, दशैं, तिहारको विदा, दिवस विदा, जन्म जयन्ती विदा लगायतको सार्वजनिक विदा टुंगो लगाएको हो ।
जसअनुसार दशैँ बिदा लम्बिएको छ । अघिल्लो यस वर्षसम्म एकादशीको दिनसम्म बिदा हुने गरेकामा अब द्वादशीसम्म दशैँ बिदा हुनेछ ।
००००
सरकारले हवाई मार्ग तथा स्थल मार्ग भई विदेशबाट नेपाल आउने यात्रीले कोरोना विरुद्धको पूर्ण खोप लगाएको प्रमाणपत्र पेस गर्नुपर्ने व्यवस्था गरेको छ । त्यस्तो प्रमाणपत्र पेस गर्न नसक्ने यात्रुले यात्रा शुरू गर्नु ७२ घन्टाभित्रको कोभिड १९ परीक्षणको नेगेटिभ रिर्पोट भएको प्रमाणपत्र पेस गर्नुपर्ने अध्यागमन विभागले जनाएको छ ।
मन्त्रिपरिषद्को फागुन १६ गतेको निर्णयअनुसार यस्तो व्यवस्था भएको विभागले जनाएको छ ।
००००
निर्वाचन आयोगले गणकलाई सहज होस् भनेर मतपत्र हरियो रङको बनाउने निर्णय गरेको प्रष्ट पारेको छ । 
बिहीवार भएको पत्रकार सम्मेलनमा सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले गणकलाई अन्य रङ राख्दा अप्ठ्यारो हुने भएपछि मतपत्रको रङ हरियो बनाइएको बताएका हुन् ।
००००
न्याय परिषदको बैठकले उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठलाई सर्वोच्च अदालतको न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ ।
कायम मुकायम प्रधानन्यायाधीश दीपक कार्कीले बिहीबार राखेको न्याय परिषदको बैठकले श्रेष्ठलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको हो ।
००००
स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरीसम्बन्धी सूचना प्रकाशित–प्रसारित नगरिएको नेपाल प्रहरीले स्पष्ट पारेको छ । 

 निर्वाचनमा आवश्यक पर्ने अस्थायी सुरक्षाकर्मी भर्नासम्बन्धी सूचना जारी भएको भनी सामाजिक सञ्जालमा राखिएको पाइएको उल्लेख गर्दै प्रहरी प्रधान कार्यालयले  एक विज्ञप्ति जारी गरी हालसम्म यस्तो सूचना प्रकाशित प्रसारित नगरिएको जानकारी गराएको छ ।
००००
गृह मन्त्रालयले भिजिट भिसा र सोबाट सिर्जित समस्या समाधानका लागि अध्यागमन विभागलाई पत्र लेखेर आवश्यक व्यवस्था गर्न भन्दै १९ बुँदे निर्देशन दिएको छ । भ्रमण भिसामा गएर उतै बस्ने तथा त्यस्ता व्यक्ति विभिन्न समस्यामा पर्ने गरेका घटना सार्वजनकि भएपछि सरकारले भ्रमणमा जाने व्यक्तिको हकमा कडाइ गर्न थालेको हो । उक्त समस्या समाधानका लागि केही अघि कार्यदल बनी आवश्यक अध्ययन गरी प्रतिवेदन दिइएको छ ।
००००
निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका सन्दर्भमा राजनीतिक दललाई आयोगबाट हालसम्मको कार्यप्रगति जानकारी गराउँदै अपेक्षाबारे छलफल गरी रायसुझाव लिने भएको छ । 
सङ्घ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने १७ राजनीतिक दलका प्रतिनिधिलाई शुक्रबार बिहान ११ः३० बजे छलफलका लागि आमन्त्रण गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
००००
संखुवासभाको मादी नगरपालिकामा बिहीवार भएको बस दुर्घटनामा १५ जनाको मृत्यु भएको छ । ५ जना घाइते भएका छन् ।
संखुवासभाबाट झापाको दमक जाँदै गरेको बस मादी नगरपालिका(६ सातघुम्ती भन्ने ठाउँमा दुर्घटना भएको हो । घटनामा मृत्यु हुने अधिकांश मादी नगरपालिकाका रहेको दुर्घटना भएको मादी नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष धननारायण तामाङले जानकारी दिए ।
००००
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनलाई चुनावसम्म लैजान सक्ने संकेत गरेका छन् । बिहीवार वीरगञ्जमा कांग्रेस पर्साका नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई बधाई तथा प्रमाणपत्र हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्थानीय तहदेखि संघीय चुनावसम्म गठबन्धन गर्ने विषयमा छलफल हुने बताएका हुन् ।
००००
अर्थ मन्त्रालयले एक लाख म्यादी प्रहरी भर्नाका लागि स्वीकृति दिएको छ । 
आगामी वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि नेपाल प्रहरीले एक लाख १८ हजार म्यादी प्रहरी आवश्यक पर्ने जनाएको थियो । तर, अर्थ मन्त्रालयले एक लाख म्यादी प्रहरीको मात्र स्वीकृति दिएको अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले जानकारी दिए ।
००००
छिल्लो २४ घण्टामा ११२ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ३२८ नमूना परीक्षणमध्ये ७७ पीसीआर र ३५ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो । 
यस्तै पछिल्लो २४ घण्टामा कुनै संक्रमितको पनि मृत्यु भएको छैन ।
००००
अभिनेत्री करिश्मा मानन्धरले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर एमाले प्रवेश गर्ने चाहना व्यक्त गरेकी छन् । मानन्धर बिहीवार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनको निवास बालकोट पुगेकी थिइन् ।

salt training

कमेन्ट गर्नुहोस्