
मोरङको सुन्दरहरैँचा-७ मा डेढ वर्षीया बालिकाको रहस्यमय मृत्यु प्रकरणमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
अनुसन्धानका लागि उनीहरूलाई नियन्त्रणमा लिइएको एसपी जनार्दन जिसीले जानकारी दिए ।
बालिका शुक्रवार साँझ ५ बजेतिर घरबाट हराएकी थिइन् । परिवारले खोज्दा ६ बजेतिर नजिकैको झाडीमा बालिका चिच्याइरहेको अवस्थामा फेला पारेका थिए ।
ती बालिकाको सामूहिक बलात्कारका कारण मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ । ‘अहिले हामीले अनुसन्धान अगाडि बढाइरहेका छौँ,’ एक प्रहरी अधिकृतले भने, ‘घटना हेर्दा जटिल देखिएको छ । आक्रोशित स्थानीयवासीले पक्राउ पर्नेको घरमा तोडफोड गर्न सक्ने भएकाले उनीहरूको घरमा समेत प्रहरी परिचालन गरिएको छ ।’
पक्राउ पर्नेको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन ।
बालिकालाई फेला पारेपछि परिवारले गछियाको गछिया मेडिकल हलमा लगेका थिए ।
सुन्दरहरैँचा–७ का वडाध्यक्ष चैतनीय सिटौलाले भने, ‘त्यहाँ जाँच गर्दा शरीरका विभिन्न अंगमा चोटपटक तथा योनीबाट रगत बगिरहेको देखेपछि प्रहरीलाई खबर गरिएको थियो ।’
त्यहाँबाट बालिकालाई उपचारका लागि विराटनगरको नोबेल अस्पतालमा लगिएको थियो । उनको उपचारका क्रममा शुक्रवार मध्यरात मृत्यु भएको थियो ।