
काठमाडौं, २८ असार — दार्जीलिङकी एक विद्यार्थी दिल्ली विश्वविद्यालयमा भूगोल विषयमा तेस्रो कटअफमा नाम निकालेकोमा खुशी थिइन् । गोर्खाल्यान्ड आन्दोलनका बाबजुद उनी भर्ना हुने म्यादको अन्तिम दिन कलेज पुगेकी थिइन् ।

कलेजका कर्मचारीले उनको प्राप्तांक प्रतिशत हिसाब गरे अनि उनका प्रमाणपत्रहरू लिए । त्यसपछि उनलाई कलेज वेबसाइटमा आफ्नो नाम चेक गर्न लगाएर दिउँसो ४ बजेपछि शुल्क तिर्न लगाए ।
तर त्यसको एक घण्टाभित्र कलेजका अधिकारीहरूले उनलाई बोलाएर उनको समग्र प्राप्तांकबाट २.५ प्रतिशत कटौती गरिने जानकारी दिए किनकि उनले आफ्ना ‘सबभन्दा राम्रा चार विषय’ मा नेपालीलाई समावेश गरेकी थिइन् । विश्वविद्यालयमा नेपालीलाई ‘प्राज्ञिक विषय’ का रूपमा सूचीबद्ध नगरिएको कारण यसो गरिएको बताइयो । अब २.५ प्रतिशत कटौती भएपछि उनी कटअफ लिस्टमा परिनन् र उनले चौथो कटअफ कुर्नुपर्ने भयो ।
विश्वविद्यालयलाई सोध्दा उनलाई नेपालीका साथसाथै तमिल, मलयालम, ओडिया, कन्नड र मराठीमा पनि अंक कटौती हुने जानकारी दिइयो जबकि यी भाषाहरू भारतीय संविधानको आठौं अनुसूचीमा समावेश छन् ।
विश्वविद्यालयले यी भाषाहरूलाई आधुनिक भारतीय भाषाको सूचीमा राखेको छैन, त्यसैले यिनीहरूलाई ‘सबभन्दा राम्रो चार विषय’ मा समावेश गर्न मिल्दैन, अधिकारीहरूले बताए ।
यी भाषा पढाउने कुनै विभाग नभएको विश्वविद्यालयको तर्क छ । तर अध्यापकहरूका अनुसार विश्वविद्यालयले भाषाहरूको सूची लामो समयदेखि अद्यावधिक गरेको छैन ।
हिन्दी, अंग्रेजी, फारसी, पञ्जाबी, संस्कृत, ऊर्दू, बंगाली र अरबी जस्ता भाषालाई सूचीमा राखिएको छ । यो नियमका कारण विद्यार्थीहरू अप्ठ्यारोमा परेका छन् । नेपाली पढ्न चाहने ती विद्यार्थीले भनिन्, ‘मैले नेपालीमा राम्रो अंक ल्याएको छु त्यसैले यसलाई मैले ‘सबभन्दा राम्रो चार’ मा समावेश गरें । हाम्रो प्लस टू तहमा यो अनिवार्य विषय हो । तर अहिले मैले चौथो कटअफ लिस्ट कुर्नुको विकल्प छैन ।’
दी इन्डियन एक्सप्रेसबाट