
सशस्त्र प्रहरी बलमा ३० वर्षे सेवा अवधि हटाएर ३२ वर्षे बनाउने चलखेल शुरू भएको छ ।
स्रोतका अनुसार अहिले गृहमन्त्रालयबाट मौखिक स्वीकृति लिएर प्रस्ताव अर्थ मन्त्रालयमा पुगेको छ ।
अर्थ मन्त्रालयका अधिकारीहरू अहिले छलफलमा छन् । केही महिनाअगाडि प्रहरी महानिरीक्षक (आईजीपी) पुष्पराम केसी बढुवा भएका थिए ।
सेवा अवधिका कारण अगामी १८ गते अर्थात् ९ दिनपछि उनी अनिवार्य अवकाशमा जाँदैछन् ।
तर केही व्यक्तिहरू सशस्त्र प्रहरी नियमावली २०७२ लाई संशोधन गरेर आईजीपी केसीको समयावधि बढाउन लागिपरेको स्रोतको दाबी छ ।
सशस्त्र प्रहरी बल नेपालको नियमावली २०७२ को नियम ६५ उपनियम १ (क) सच्याउन चलखेल भइरहेको हो । यो नियममा सेवा अवधि ३० वर्ष पूरा भएमा अनिवार्य अवकाशमा जाने व्यवस्था छ ।
सेवाअवधि बढाउने चलखेलले बढुवाको आशमा बसेका तल्लो तहका अधिकारीहरूमा निराशा पैदा भएको छ ।
सशस्त्रमा माथिल्लो तहमा खाली नहुँदा तल्लो तहका अधिकृतहरू १६/१७ वर्षसम्म एउटै पदमा अड्किएर बसेका थिए ।
यसरी अड्किएकाहरूलाई ३ दिनअगाडि मात्र बढुवा सिफारिश गरिएको थियो ।
सेवा अवधि ३२ वर्षे बनाउँदा फेरि त्यसरी नै तल्लो तहमा अड्किने भय रहेको अधिकारीहरू बताउँछन् ।
‘बल्ल–बल्ल बढुवाको लाइन खुलेको थियो । फेरि ३२ वर्षे बनाउने चलखेल भएपछि त्यही हविगत दोहोरिने भयो,’ सशस्त्र प्रहरीका एक निरीक्षक (इन्स्पेक्टर)ले लोकान्तरसँग भने, ‘तल्लो तहका कर्मचारीहरूको कसैलाई चिन्ता छैन ।’