×

Nic Asia
Marvel

आलेख

'गणतन्त्रले के दियो भन्नेहरूलाई मुखभरिको जवाफ'

काठमाडाैं | बैशाख १३, २०७९

TVS INSIDE

१९ औं शताब्दीमा अन्य देशमा लुई पास्चर, माइकल फराडे, अल्फ्रेड नोबेलजस्ता महान वैज्ञानिक जन्मिँदा १७ औं शताब्दीबाट शुरू भएको गोर्खा साम्राज्य किन पुरातन युगमै बाँच्न बाध्य भयो ? हाम्रोमा त्यस्ता महान वैज्ञानिकहरू नै जन्मिएनन् कि जन्मिएर पनि गाई गोठाला, भैँसी गोठाला, भेडा गोठाला र सुंगुर गोठाला बन्न बाध्य भए ? बेलायतको गुलामी सहेर पनि २० औं शताब्दीमा आइपुग्दा छिमेकी देश भारतले बीआर अम्बेडकर, रवीन्द्रनाथ टेगोरेजस्ता महान् दार्शनिक जन्मायो । यो भूमिमा जन्मिएका 'सम्भावना'हरू किन गाई गोठाला, भैँसी गोठाला, भेडा गोठाला र सुंगुर गोठाला बन्न बाध्य पारिए ?

IME BANK INNEWS
morang Auto yamaha

लोकतान्त्रिक अधिकारबाट पूर्ण वञ्चित रहँदै शताब्दीयौंसम्म ज्ञानविज्ञानको बहसबाट टाढा बस्नुपरेको परिस्थितिमा यतिखेर बल्ल नेपाली जनताहरू असीमित प्रश्न र सम्भावनाको बीचमा उभिएर ‘क्वान्टम फिजिक्स’को गन्थन–मन्थन गरिरहेका छन् । युवाहरूले कहिले मोटरसाइकलको इन्जिनबाट बनेको हेलिकप्टर बनाइरहेका छन्, त कहिले सोलारबाट चल्ने काठको गाता भएको गाडी बनाइरहेका छन् ।


Advertisment
NMB BANK
Saurya island

गणतन्त्र नेपालका यस्ता लोभलाग्दा प्रतिभाको सम्मान गर्नु त कता हो कता ? केही अभिजात्य वर्गका मानिसहरू पञ्चायतकालमा भुँडी फुलाउनका लागि मात्रै थुपारेको अकुत सम्पत्ति राज्यलाई सगौरव फिर्ता गर्नुको साटो गणतन्त्रले हामीलाई केही पनि दिएन भनेर जनताको आँसु, रगत र पसिनाले लेखिएको धर्मनिरपेक्ष संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको  संविधानलाई सतीले सरापेको भन्दा पनि अझै डरलाग्दो सराप दिइरहेका छन् । मानौं कि यो देशमा दिनका लागि सराप र आशीर्वादबाहेक केही छैन ।

कुपोषण लागेर, हैजा आएर, गलगाँण पलाएर बिल्लीबाठ भएका निमुखा नेपाली जनतालाई गाँस, बाँस, कपास दिनुको साटो, भोकमरीले लाखौं शिशुहरू आँखा नदेख्दै परलोक जाँदा कुनै आहार, औषधिमूलो दिनुको साटो वर्षौंवर्ष साहुको घरमा ३ पुस्ते गोठाला बसेर, हलो जोतेर, भारी बोकेर पनि एकछाक पेटभरी खाना नपाउनेहरूलाई श्रमिक हक दिलाउनुको साटो, जन्मिँदै अपवित्र घोषित हुन पुगेका दमित, हेलितलाई नारकीय जीवनबाट मुक्ति दिलाउनुको साटो शिकार आरक्षमा जनावर हेर्न दूरबिन बोकेर जाने जिग्मेसिग्मेले पनि बेलाबेलामा गणतन्त्रले जनतालाई केही दिएन भनेर प्रेस विज्ञप्ति निकाल्ने गरेका छन् ।

Vianet communication
Maruti inside

जनतालाई प्रश्न गर्ने अधिकारबाट वञ्चित गरेर, जनतालाई ज्ञान आर्जन गर्ने, वादविवाद र प्रतिवाद गर्ने अधिकारबाट छेकबार गरेर, जनतालाई यो समुदाय र त्यो समुदायमा विभाजित गरेर, जनतालाई यो वर्ग र त्यो वर्गमा परिभाषित गरेर, यो भूमिमा जन्मिन सक्ने सम्भावित कैयौ अलबर्ल आइन्सटाइन, ग्यालिलियो, सेक्सपियर, मार्टिन लुथर किंग, लि क्वान यू र डार्बिनहरूलाई २ शताब्दीभन्दा धेरै केवल रैती मात्रै बनाइदिनेहरू को हुन् ? त्यो कुरा थाहा पाउन कुनै ध्यान, तपस्या गरेर इन्लाइटमेन्ट प्राप्त गर्न जरुरी छैन । 

गणतन्त्र घोषणा भएको २ दशक पनि भएको छैन तर आज नेपाली युवाहरूको सोच निकै उच्च भएर गएको छ । शहर र गल्लीहरूमा ठूलाठूला महलहरू ठडिनु मात्र विकास हैन, मानिसहरूको सोच रचनात्मक त्यतिखेर पैदा हुन्छ, जतिखेर दिमागमा आजादीको विकास हुन्छ । हिजो होटलमा थपुवा भात मागेर खान डराउनेहरू आज म चलाउँछु देश भनेर राष्ट्रपतिको कुर्सी माग्ने भइसकेका छन् । हिजो रैती ठानिएकाहरूको आज तर्कसंगत तर्क गर्ने तरिका कुनै कन्फ्युसियस, प्लेटो, एरिस्टोटल, लुडविग विटगेन्स्टाइनको भन्दा कम छैन । विश्वलाई हल्लाउने सपुत भोलि यही माटोमा जन्मिनसक्छ । 

मानव जाति र समाजको विकास गतिको क्रमिक सिद्वान्त हेर्दा र नेपालमा भएका युद्ध, आन्दोलन र गणतन्त्रले दूरदराजमा रहेका नेपाली जनताको चेतनास्तर ह्वात्तै बढाइदिएको छ । औंठा छापको ल्याप्चे लगाएर ठगिएका हाम्रो पूर्खाहरूले एटीएम कार्डबाट आफ्नो वृद्धभत्ता निकाल्न थालेका छन् । ‘कालो अक्षर भैंसी बराबर’ भनेर नेपाली जनताको अपमान गर्ने कालो युगबाट बिस्तारै यो भूमि उज्यालो युगमा प्रवेश गरेको छ । शाहीतन्त्रले नेपाली शब्दकोशबाटै चिरहरण गरेको वाक् स्वतन्त्रता, समानता, समावेशिता, नैसर्गिक हकअधिकार के हो भन्ने केही कुरा बुझ्न अब फेरि कुनै अर्को बिसे नगर्चीको बयान पढिरहनुपर्दैन ।

हो, गणतन्त्रले परिश्रम नगरी भुजा ज्यूनार गर्ने काजी साहेबहरूलाई राम्राराम्रा जग्गाजमिन बक्सिस दिएको छैन, छोराछोरीलाई सिधै जर्नेल, कर्नेलको उपाधि दिएको छैन । सरकारी कागजातमा हुकुमी तोक लागेको छैन । साँच्चै भन्ने हो भने गणतन्त्रले केही दिएको छैन । मान्छेलाई अमान्छे भन्न दिएको छैन । सोझासाझालाई झूटो आरोपमा जेल हाल्न दिएको छैन ।

आज कर्णालीमा जन्मिएर राज्यको उत्पीडनले थिलोथिलो भएकी झोवा विकहरू संसदमा उभिएर आफ्नो हक अधिकारको कुरा नडराई राख्न सक्ने भएकी छन् । काठमाडौं बाहिर पनि नेपाल छ र भन्ने समेत थाहा नपाएका नाफाका शुक्रकिटहरू झोवा विकको सम्बोधन सुनेर खुबै हाँसेका थिए । संसदमा नासाका वैज्ञानिकहरू आएर बस्दैनन् भन्ने तिनीहरूले बुझ्नुपर्छ । मधेशका महिलाहरू आफ्नै लवच र बान्कीमा संसद भवनको टेबुल ठटाइरहेका छन् । सीमान्तकृत आदिवासीहरू त्यही संसद् भवनभित्र आफ्नो गुमेको पहिचान खोजिरहेका छन् । 

हो, गणतन्त्रले परिश्रम नगरी भुजा ज्यूनार गर्ने काजी साहेबहरूलाई राम्रा, राम्रा जग्गाजमिन बक्सिस दिएको छैन, छोराछोरीलाई सिधै जर्नेल, कर्नेलको उपाधि दिएको छैन । सरकारी कागजातमा हुकुमी तोक लागेको छैन । साँच्चै भन्ने हो भने गणतन्त्रले केही दिएको छैन । मान्छेलाई अमान्छे भन्न दिएको छैन । सोझासाझालाई झूटो आरोपमा जेल हाल्न दिएको छैन । दुःखको कुरा त यो छ कि पारस शाहलाई जाबो हेलमेट नलगाएर बाइक चढ्न पनि दिएको छैन तर पूर्व कमलरी शान्ता चौधरीलाई गणतन्त्रले धेरै कुरा दिएको छ । छ्यालब्याल हुने गरी दिएको छ । 

जमिनदारहरूको घरमा आधुनिक दास बनेर नर्कको जीवन बिताइरहेकी चौधरीको गणतान्त्रिक आजादी झट्ट हेर्दा रानी ऐश्वर्या जस्तो देखिने बनाएको छ । कसैलाई रानीको झल्को मेटाउनुछ भने उनैलाई हेर्दा भयो । यदि गणतन्त्रमा रानी हुन्छ भने जनताकै छोरी रानी हुन्छ । नेपाल आमाको कोखबाट जन्मिएका सबै छोराछोरीहरू यो देशका राजा हुन्, यो देशका रानी हुन् ।

आधुनिक दासका रूपमा रहेका हजारौं कमलरीहरूलाई जमिनदारको घरबाट निकालेर मान्छेको पहिचान दिलाएको गणतन्त्रले नै हो । सयौं वर्षदेखि आफ्नै भूमिमा पिल्सिएका आदिवासी, जनजाति, मधेशी, दलित, महिला, उत्पीडित वर्ग समुदायलाई मान्छे भएर जन्मिनु, बाँच्नु र मर्नुको अर्थ गणतन्त्रले सिकाएको छ ।

आफैं जन्मिएको गाउँ हेर्नुहोस्, आफ्नै टोल हेर्नुहोस्, आफ्नै पानीपँधेरो पनि हेर्नुहोस्, मन्दिर र स्कूलहरू पनि हेर्नुहोस् । हिजो चोखो र पवित्रताको नाममा मूल बाटोमा हिँड्न समेत प्रतिबन्धित भएकाहरू आज सर, म्याडम बनेर नमस्कार खाँदैछन् । सबैको मातृभाषा राष्ट्रिय भएको छ । सबैको पोशाक राष्ट्रिय भएको छ, सबैको पहिचान राष्ट्रिय भएको छ । एक भाषा, एक धर्म र एक संस्कृतिको चरम दमनबाट जनताहरूले आजादी पाएका छन् ।

देशभित्रका राष्ट्रियताहरू एकजुट हुने शृंखला अगाडि बढेको छ । चीन, युरोप र अमेरिकामा दशकौं अगाडि सम्पन्न सांस्कृतिक क्रान्ति नेपालमा प्रारम्भ भएको छ । 

मलाई आरक्षण चाहिन्न भनेर १ जना दलित युवा उफ्रिएको छैन, मलाई संघीयता मन परेन भन्ने १ जना मधेशी छैन, समावेशीताले लाज लाग्यो भन्ने १ जना आदिवासी, जनजाति छैन । बरु गणतन्त्रले मानिसहरूलाई अधिकारको भोक जगाएको छ । यिनै भोकहरूको भोकमरीमा परेर अझै पनि नवराज विकहरू ज्यूँदै भेरी नदीमा बगाइन्छन् । जात थाहा पाएपछि विद्यार्थीहरू डेराबाट निकालिन्छन् र नेपाल त पुरानै राम्रो थियो भन्ने विभेदकारी सोच बोकेका एकथान नक्कली राष्ट्रवादीहरूले अझै पनि छोरी नदिने र कोठा नदिने कुरालाई निजी अधिकारसँग जोड्छन् । होटलमा बसेर रक्सी पिउनु निजी कुरा हो तर रक्सी पिएर गाडी चलाउनु निजी कुरा होइन भन्ने कुरा ती जान्दैनन् ।

हिजो कुनै एक जात, एक धर्म, एक भाषा, एक भेषभुषा र एक पहिचानको मानकमा यो देशको राष्ट्रियता खडा गरिएको थियो र त्यसको सिंहासनमा थियो राजतन्त्र । राज्य राजनीतिले चलेको थिएन, भारदारहरूले चलाएका थिए र ती भालदारहरू उत्पीडित समुदायको अधिकारको चिरहरण गरिरहेका थिए । जंगबहादुरपछि जन्मिएका कैयौ जंगबहादुरहरूले यो भूमिको माटोसँग जरा जोडिएको सपुतहरूलाई नै आन्तरिक शरणार्थी बनाइदिए । फूलबारी जस्तो देशभित्र विभेदको काँडा उम्रियो । फलस्वरूप जसले खेतबारी बनायो, उसैले खान पाएन । जसले बाजा बजायो, उही नाँच्न पाएन ।

यसो हुँदा जसरी हिउँदको महिनामा बुढो रुखहरू हिउको भार थाम्न नसकेर ढल्छन्, त्यसरी नै २५० वर्ष राजकाज गरेको शाहीतन्त्र आफ्नै श्रीपेच थाम्न नसकेर ढलेको हो । संयोग र परिस्थितिले कोही विष पिउने हुन्छन्, कोही अमृत पिउने निस्किन्छन् । कोही सिंगो पृथ्वी नै हनुमान बनेर टाउकोमा बोक्न सक्छन्, कोही ३ किलोको श्रीपेच पनि धान्न सक्दैनन् । भगवान् शिवले समुन्द्र मन्थन गरेर यो जगतलाई जोगाउन काटकुट विष खाएका थिए । दरबारको खोपीमा श्रीपेच ढल्काएर बसेका राजाले २१औं शताब्दीका जनताको महत्त्वाकांक्षी चेत बुझ्न कुनै समुद्र मन्थन गरेनन्, कालकुट विष पनि खाएनन् ।

देश भनेको कसैको पूर्खाले आर्ज्याको निजी सम्पत्ति नभई हामी सबैको सामूहिक घर हो । यो घरभित्र हामी सबै अटाउनुपर्छ । जसरी इन्जिनीयरले घर बनाउँदा एउटा मात्रै पिल्लर बाङ्गो राखिदियो भने सानो हावाहुरी, सानो भूकम्प आउँदा पनि त्यो घर गर्ल्याम्मै ढल्छ, त्यसरी नै देशका पिल्लरहरू आदिवासी, जनजाति, दलित, मधेशी तथा उत्पीडित वर्गलाई कमजोर बनाइयो भने देशको राष्ट्रियता पनि ढल्छ । जबसम्म देशको राष्ट्रियता मजबुद हुँदैन, तबसम्म देश देशजस्तै बन्दैन । 

सधैं हल्लिरहने घरजस्तो नदेखिएको देशलाई बल्ल गणतन्त्रले घरजस्तो बनाउन लागेको छ । तथाकथित शुद्रको छोरा पनि अब पिल्लर बन्न सक्नेछ, देश भित्रका होचा–अग्ला पिल्लरहरूलाई बराबर बनाउने इन्जिनीयरिङ गरिरहेको छ । २०६४–२०७५ सालसम्मको कूल तथ्यांक हेर्दा कूल १४ हजारमध्ये १ हजार ५०० भन्दा धेरै दलितहरू सरकारी सेवामा प्रवेश गरेर यो देशको सेवा गर्ने मौका पाएका छन् । अन्य उत्पीडित समुदायको पनि देश निर्माणका निम्ति प्रशंसनीय सहभागिता रहिआएको छ । 

हिजो चप्पल लगाएर हिँडेकाहरू आज गाडी चढे भनेर कतिपयले आरोप लगाउँछन् । हुम्ला, जुम्ला चारैतिर सडक पुगेपछि महात्मा गान्धी जस्तो खाली खुट्टा हिँड्ने कुरा हुँदैन । जनताको शासन चलेपछि आज सडक नपुगेको, स्कूल नपुगेको, अस्पताल नपुगेको कुनै गाउँ छैन । यो कसैले जादु, टुनामुना गरेर भएको होइन, गणतन्त्रकै कारण सम्भव भएको हो ।

यतिधेरै विकास हुँदा पनि कसैलाई देश बर्बाद भएको महशुस हुन्छ भने  केही महिना पाटन अस्पतालको दालभात खान गए हुन्छ । वैश छँदा हड्डी समेत चपाएर निलेका १ जना पञ्चायती न्यायाधीश आफू शाकाहारी भएको घोषणा गर्दै केही महिना अगाडि मात्रै शान्तिको खोजीमा काशी गएका छन्, त्यतातिर जान पनि सकिन्छ । 

गणतन्त्रमा धेरै राजा भए भन्ने सुनिन्छ । १ जना रुकुम वा खै कता घर भएका खेमबहादुर घर्ती नाम गरेका मनुवाले श्रीपेच चोर्न खोजेका थिए अरे ! राजा भएका भए उनै भएका होलान् । अरु त थाहा छैन । संघीय लोकतान्त्रिक गणतन्त्रमा कोही पनि राजा हुन सक्दैन । गणतन्त्रमा नेताको छोरा नेता हुनसक्छ तर राजाको छोरा राजा त हुनै सक्दैन ।

गणतन्त्रमा तपाईं–हामी सबै राजा हौं । केही गर्लफ्रेन्डको राजा, कोही श्रीमतीको राजा, कोही दोहोरीको राजा, कोही मौलाकोटको राजा, कोही रक्सी पिएपछिको राजा । पुराना राजा त पुरानै कागजको १० रुपैयाँको नोटमा छन् होला । चन्द्रागिरीतिर पनि १ जना ढकाल थरका हुण्डी साहुले राजाको मूर्ति बनाएका छन् अरे भन्ने सुन्नमा आएको छ । कसैका राजा भए उतै होलान् । 

गणतन्त्रका कारण विदेश जानुपर्‍यो भनेर चिल्लीबिल्ली गरेको सुनिन्छ । राजाको शासनमा त जनतालाई राहदानी मिले पो विदेश जानु त ! हिजो देशभित्र विदेश थियो । मधेशका जनता काठमाडौं आउँदा भिसा लिनुपर्थ्यो । मानिसहरू काठमाडौं आउँदैन्थे, नेपाल आउँथे । आजको खुला अर्थनीति, खुला प्रतिस्पर्धामा विदेश नगएर ब्ल्याक होलमा जाने त ?

गणतन्त्रका कारण विदेश जानुपर्‍यो भनेर चिल्लीबिल्ली गरेको सुनिन्छ । राजाको शासनमा त जनतालाई राहदानी मिले पो विदेश जानु त ! हिजो देशभित्र विदेश थियो । मधेशका जनता काठमाडौं आउँदा भिसा लिनुपर्थ्यो । मानिसहरू काठमाडौं आउँदैन्थे, नेपाल आउँथे । आजको खुला अर्थनीति, खुला प्रतिस्पर्धामा विदेश नगएर ब्ल्याक होलमा जाने त ? चिनियाँ नागरिकहरू, भारतीयहरू संसारभर गएर काम गरिरहेका छन् । अरबमा नेपालीहरू मात्र होइन, बेलायतीहरू पनि काम गर्छन् । विदेशमा सबैभन्दा धेरै काम गर्न जाने अमेरिकीहरू हुन् । अब नेपालीहरू विदेश जानु नै गरीबीको द्योतक हो भने राहदानी वितरण गर्न बन्द गरे भइहाल्यो नि ! 

एउटा डोजर देख्दा बिहेको जन्तीजस्तै लाइन लगाएर हेर्न जाने व्यक्तिहरू रहेको देशमा आज डोजर नभएको कुनै गाउँ छैन । हिजो ट्रयाक्टरको ट्रलीमा बसेर हिँड्नुपरेको थियो, गणतन्त्र आएपछि बुलेट बाइक नभएको कुनै घर नै छैन । पञ्चायतकालमा जस्तो खान नपाएर कोही मरेको समाचार आएको पनि छैन । धेरै रगत बगेकी सुत्केरीलाई हेलिकप्टरमा उद्धार गरेकै छ । लोकल कुखुराको मासु खान पाइने होमस्टे सञ्चालन गर्न राज्यले रकम दिएकै छ । जिल्ला–जिल्लामा मेला महोत्सव लागेकै छ । बिहे दर्ता, जन्मदर्ता, मृत्यु दर्ता भएकै छ । जंगलमा लालीगुराँस फूलेकै छ, डाँफे नाँचेकै छ । नदीमा पानी बगेकै छ, हिमालमा हिउँ परेकै छ । 

आदिम हिमवत कालखण्डका मेहनती कुसुण्डाहरूले, त्यतिखेरका चेपाङहरूले, त्यतिखेरका भैंसी गोठालाहरूले बनाएको देशलाई कुनै राजा टुपलुक्क झुल्किएर बनाएका हुन् भन्दै आजको दिनमा पनि केही मानिसहरू चोकमा शालिक खडा गर्दै हिँडेका छन् र राजा आऊ देश बचाऊ भन्दै प्रजातन्त्रका लागि लडेका नेताहरूको अपमान गरिरहेका छन् । गणतन्त्रभन्दा त राजतन्त्र नै ठीक छ भन्नु भुस्याहा कुकुर स्वर्ग पुगेपछि पनि आची खोजेर हिँडेको जस्तै हो । काँध खुल्किएर घाउ नै बने पनि खच्चडले भारी बोक्न नपाएर चिच्याहटका साथ कराएजस्तै शाहीतन्त्रको भारी बोक्न नपाएर पढे–लेखेकै मानिसहरू पनि एकोहोरो कराएको देख्दा उदेक लाग्छ । 

नेपाल देश राजाले बनाएको हो भन्नु, नेपालमा खरखजाना नभएका कारण सिस्नोघारीमा भिक्टोरियाक्रस पस्न नसक्नु, हुँदाहुँदा पवित्र देवालयबाट मूर्तीहरू क्रमशः हराउँदै जानु, आधुनिक कोतपर्व घटेर तुलानात्मक रूपमा जनप्रेमी राजाको वंश नाश हुनु तथा पशुपतिनाथले हामी सबैको कल्याण गर्न नसक्नुमा गणतन्त्रको कुनै दोष छैन । 

मानिस किन मर्छ भन्ने प्रश्नको उत्तर खोजेर हिँडेका गौतम बुद्धले एउटी चण्डालकी छोरीको हातबाट पानी खाएपछि उनको चौतर्फी आलोचना भएको थियो । गणतन्त्रको यतिधेरै प्रशंसा गर्दा केही मानिसहरूले भन्लान् – यो दिलबहादुर त प्रचण्डले जे सिकाएको छ त्यस्तै कुरा बोल्दै पो हिँड्ने रहेछ, यो मान्छे त फटाहा रहेछ ।

किनकि तिनीहरूलाई लागेको छ कि महाराजले जनताको औधी माया गरेर दरबार छाडेका हुन्, चाहेको भए जे पनि हुन सक्थ्यो तर आफू नै परमाधिपति रहेको सैनिकले साथ नदिएपछि भूपू महाराजाले थप बितण्डा गर्न नपाएको लोकवासीलाई के थाहा ?  सम्भवतः तिनीहरूलाई प्रजा मोटा भएर दरबार भत्काएको पनि थाहा छैन होला ।

TATA Below
NLIC
बैशाख १८, २०७९

‘इधम जिवेत सुखम जिवेत ऋण कृत्वा घ्रितम पिवेत’ सुन्नमा मजा आउँछ तर सुनदेखि नूनसम्म विदेशबाट आयात गर्ने देशका नागरिक हामी वर्तमानमा रमाउँछौं । संसारमा खुशी मानिसमध्ये हामी पनि पर्छाैं अर्थात् भौतिक...

जेठ ४, २०७९

रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ ।  यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...

बैशाख २१, २०७९

जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...

जेठ ९, २०७९

अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० का निम्ति प्रस्तुत गर्ने बजेटका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफलका निम्ति राष्ट्रिय सभाको बैठकमा दस्तावेजसहित आफ्ना विचारहरू प्रस्तुत गर्नुभयो । स्थानीय तहको निर्वाचन आ...

जेठ १३, २०७९

नेपाली कांग्रेसमा आबद्ध हुनुभएका महानुभावहरू साथै मेरो बुवा (गोविन्दराज जोशी)का साथीहरू, मैले आदरणीय मानेका काका ठूलोबाहरू, मेरा बुवा र हामी सम्पूर्ण परिवारले ५० औँ वर्षसम्म तपाईंसँग एउटै यात्रामा प्रजातन्त्र...

जेठ १०, २०७९

स्थानीय निर्वाचनको नतिजाले फरक तरंग सिर्जना गरेको छ । हरेक सरोकारवाला, राजनीतिका शुभचिन्तक, राजनीतिशास्त्री, राजनीतिकर्मी सबैलाई धेरै कुरा सिकाएको छ । चुनाव स्थानीय थियो, शिक्षाचाहिँ राष्ट्रिय दिएको छ । मतदात...

व्यासको मेयरमा उठेपछि कांग्रेसको आक्रमणमा परेका जोशीको लेख– बाटो बिराएका काकाहरूका नाममा

व्यासको मेयरमा उठेपछि कांग्रेसको आक्रमणमा परेका जोशीको लेख– बाटो बिराएका काकाहरूका नाममा

जेठ १३, २०७९

नेपाली कांग्रेसमा आबद्ध हुनुभएका महानुभावहरू साथै मेरो बुवा (गोविन्दराज जोशी)का साथीहरू, मैले आदरणीय मानेका काका ठूलोबाहरू, मेरा बुवा र हामी सम्पूर्ण परिवारले ५० औँ वर्षसम्म तपाईंसँग एउटै यात्रामा प्रजातन्त्र...

यौन अपराधमा हदम्याद : नेपालको कानून र अन्तर्राष्ट्रिय अभ्यास

यौन अपराधमा हदम्याद : नेपालको कानून र अन्तर्राष्ट्रिय अभ्यास

जेठ १२, २०७९

जब कुनै आपराधिक घटनाहरू समाजमा उजागर हुन्छन् त्यसपछि मुलुकको विद्यमान कानूनले के भन्छ भन्ने प्रश्न उठ्न थाल्छ । कानूनमा कुनै खालीपन रहेछ भने अभियन्ताहरूले सुधारको बाटो देखाउँछन्। समाजको वास्तविक आवश्यकता यही रहे...

ओलीको 'पर्सनल अट्याक'ले रोक्न नसकेको रेनुको विजयी यात्रा

ओलीको 'पर्सनल अट्याक'ले रोक्न नसकेको रेनुको विजयी यात्रा

जेठ १०, २०७९

केपीबा (एमाले अध्यक्ष केपी शर्मा ओली) धेरैका बा थिए, तर कतिपयका लागि उनी बाजस्ता थिएनन् । मलाई लाग्छ, बा हुनका लागि आवश्यक गुण ओलीसँग छैन । बा त्यस्तो व्यक्ति हो, जसले सबैका छोराछोरीलाई आफ्नैसरह माया गर्छ,...

ad
x