×

Nic Asia
Marvel

संस्मरण– २

गुल्मीको गाउँ बदल्ने नायक खोज्दै कुनैबेला सिंहदरबार हाँकेका ‘सुन्तलारूखे बाबु’ !

जन्मथलोमा 'नमूना विकास' गर्ने सपना बोकेर भीरपाखासँग रमाइरहेका एक पूर्व मुख्यसचिव

गुल्मी | बैशाख १६, २०७९

TVS INSIDE

हेर्दा मैलोमैलो देखिने खैरो रंगको सामान्य टिसर्ट । खैरै रंगको पाइन्ट । शिरमा नेपाली ढाका टोपी । सामान्य जुत्ता । हातमा दुई हजार रुपैयाँ पर्ने सामान्य मोबाइल सेट । पातलो शरीर । अनुहार र शरीर हेर्दा यस्तो लाग्छ, मानौं उनी गम्भीर बिरामी परेर भर्खर निको भएका हुन् । तर, खासमा उनलाई अहिलेसम्म कुनै रोग छैन । खानपानमा शतर्कता र नियमित योगका कारण उनको शरीर स्वस्थ्य छ । मोटोपन छैन । 

IME BANK INNEWS
morang Auto yamaha

मानिसहरू वरिपरि झुम्मिछन् । ‘सर नमस्कार, आराम हुनुहुन्छ ?’ भनेर सोध्छन् । सबैलाई नमस्कार फर्काउँछन् । ‘म ठीक छु । तपाईंलाई कस्तो छ ?’ प्रायः उनको उत्तर यस्तै हुन्छ । बोली सिधा, प्रस्ट र हल्का ठाडो सुनिन्छ । अर्थात्, उनको बोलीमा कुनै कृत्रिम वा बनावटीपन छैन । जे लाग्छ, सिधासिधा भन्छन् । चाहे उनको बोलीबाट कोही रिसाओस्, वा खुशी होस् । यथार्थ कुरा गर्छन् । स्वार्थी दुनियाँमा यथार्थ नरुचाउने धेरै हुन्छन् । तर उनलाई त्यसको कुनै मतलब छैन ।  


Advertisment
NMB BANK
Saurya island

स्थानीय एक हुल युवा र वयस्कसँग केही दिनयता उनी गाउँका कुनाकाप्चा दौडिरहेका छन् । तर, कुनै तडकभडक हुन दिँदैनन् । कतै खाना खान पर्‍यो भने सामान्य खाना खाऊँ है भनेर पहिल्यै निर्देशन दिन्छन् । 

मासुभात खाने कुरा गर्‍यो भने त्यसो नगरौं भनेर शुरूमै सम्झाउँछन् । उनका यस्ता केही कुरा स्वयं उनीसँग हिँड्ने कतिपयलाई मन पर्दैन । ‘सर, अलिकति त व्यावहारिक भैदिनुस् न’ भनेर अनुरोध गर्दारहेछन् । तर अहँ, उनी मरिकाटे टसमस हुँदैनन् । 

Vianet communication
Maruti inside

स्थान हो– काठमाडौंबाट सार्वजनिक सवारीमा पूरै एक दिनको बाटो छिचोलेपछि पुगिने गुल्मीको बलेटक्सार । अनि पात्र हुन्– पूर्व राजदूत (मन्त्री सरह) एवं नेपाल सरकारका पूर्व मुख्यसचिव लीलामणि पौड्याल । 

पौड्यालको काठमाडौंमा घर छ । सरकारी कोषबाट पेन्सन बुझ्छन् । उनको सामान्य जीवनशैलीसँग म करीब १३ वर्षदेखि परिचित छु । काठमाडौंमै बसीबसी खान पुग्ने हैसियत बनाएका छन् उनले । भन्छन्, ‘दिनमा एउटा क्लास लिएँ भने पनि न्यूनतम ७/८ हजार दिन्छन् । तर म वर्षमा आधाजसो गाउँमै हुन्छु ।’

उनको जन्मथलो गुल्मीको बलेटक्सारभन्दा थोरै तल पर्ने गाउँ रानीबास हो । उनलाई गाउँमा सुन्तलारूखे बाबु भनेर चिन्दा रहेछन् । ९० वर्षीया आमासहित परिवारका केही सदस्य गाउँमै छन् ।

‘त्यत्रो पदमा पुगेको व्यक्ति किन यति तलतल आउँछन् हँ ? काठमाडौंमा ठूल्ठूला नेताको पछाडि दौडेपछि त फेरि जे भन्यो त्यही पद पाइन्छ । सामान्य मान्छेसित हिँड्छन्, गाउँको धुले बाटोमा कुद्छन् । के भयो यिनलाई ? मति त बिग्रेन ?’ पौड्याललाई गाउँमा देखेपछि कतिपयले यस्ता प्रश्न गर्दा रहेछन् । 

उनी गाउँमा फाटेको, झुत्रो सिटकभर भएको थोत्रो मोटरसाइकलमा ओहोरदोहोर गर्दारहेछन् । गाउँ आएर गल्ती गर्‍यो भन्नेहरूसँग कुनै गुनासो छैन रे । 

भने– ‘मेरो मति बिग्रियो कि भनेर चिन्ता गर्नेसँग मेरो केही भन्नु छैन ।  मेरो के स्वार्थ छ र ? म त आफू जन्मेको गाउँलाई देशकै नमूना ठाउँ बनाउन सकिन्छ कि भनेर पो लागेको छु । खै बुझेको ?’

पौड्यालको अधिकांश समय गाउँमै बितिरहेको छ । कहिले असार/साउनमा धान रोपाइँका लागि हलो जोत्दै गरेको, त कहिले धान रोप्दै गरेको तस्वीर सामाजिक सञ्जालमा आउँछ । कहिले स्थानीयलाई काममा सघाउँदै गरेका तस्वीर बाहिर आउँछन् । तर उनी आफैँलाई प्रचार मन पर्दैन । अरूले प्रचार गरिदिएको पनि खासै रुचाउँदैनन् । उनको यसपटकको गाउँ बसाई स्थानीय चुनावकेन्द्रित रहेछ ।

****

‘लीलामणि सर गाउँमै हुनु हुँदोरहेछ । अस्ति (गएको वैशाख १२ गते स्थानीय चुनावको मनोनयनका दिन) उहाँले आफ्नै गाउँको एकजना युवाको समर्थनमा गाउँमै बोल्दै गरेको सुनेको थिएँ । भेटौं होइन ?’ पाल्पाको प्रवास पुग्दै गर्दा गाडीमा मसँगै बसेका सहकर्मी सुशीलले सोधे ।

मैले तत्काल लीलामणि सरलाई फोन गरेँ । ‘रिडीबाट माथि लागेपछि मलाई सम्झाउनुहोला, बलेटक्सारमा भेटौंला,’ सरले भेट्न सहमति जनाउनुभयो ।

कुराकानी भएको करीब दुई घण्टापछि बलेटक्सारमा हाम्रो गाडी रोकियो । वरिपरिका रमणीय डाँडाकाँडामा मेरा आँखा डुल्दै थिए । सरको फोन आयो । बलेटक्सारको सामान्य होटलभित्र आउन भन्नुभयो । सरसँग ५/७ जना मानिस साथमा थिए । उनीहरूसँग मलाई परिचय गराउनुभयो । हामीले उहाँको गाउँको बसाइ, अनुभव, स्थानीय चुनावको सन्दर्भलगायत विषयमा कुराकानी गर्न चाहेको बतायौं । 

लीलामणि सर र मैले सँगै काम गरेका छौं । उहाँ सरकारको मुख्य सचिव, म तत्कालीन चुनावी मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीको एक्लो सल्लाहकार । सरसँग पुरानै चिनजान । निजामती क्षेत्रका विकृति, विसंगति, अनियमितता लगायत विषयमा सरले दिएका धेरै सूचना मेरा लागि स्कुप समाचार बनेका थिए । त्यसको कथा लामो र रोचक छ, यो आलेखमा अटाउन सम्भव छैन । 

लीलामणि सर अत्यन्त कम मानिससँग मात्र खुल्ने स्वभावको व्यक्ति । हत्तपत्त कसैलाई विश्वास नगर्ने । यो मानिसले धोका दिँदैन, यो साँच्चिकै इमान्दार छ भन्ने लाग्यो भने मात्र कसैलाई विश्वास गर्ने र विश्वास गरेपछि दिलैबाट खुल्ने । म कान्तिपुरमा काम गर्थें । मेरो बिट थियो– कर्मचारी प्रशासन । दिनदिनै सिंहदरबार जाने, कर्मचारी भेट्ने र स्कुपको खोजी गर्ने मेरो दैनिकी थियो । त्यही सन्दर्भमा उहाँसँग भेट भयो ।

शुरूमा लीलामणि सरले मलाई बालै दिनुभएन । म उहाँको सिंहदरबारस्थित कार्यकक्षमा दिनहुँजसो धाउन थालेपछि एक दिन मलाई भन्नुभयो– हुन त म अहिल्यै तपाईंलाई पूरै विश्वास गर्दिनँ । तर तपाईंको खटाइ देखेर म थोरै प्रभावित भएँ । आज एउटा सूचना दिन्छु, प्रकाशित भएपछि पहिला त्यो पढ्छु अनि थप कुराकानी गरौंला ।’

आजभन्दा करीव १३ वर्षअघि सिंहदरबारभित्र सरसँग भएको संवाद थियो त्यो । त्यसदिन सरले मलाई ठूलै खोजमूलक समाचार दिनुभयो । राज्यको ढुकुटीबाट पहुँचका आधारमा कसरी लुट मच्चाइन्छ भन्नेसँग सम्बन्धित विषय थियो त्यो ।

सरलाई शुरूमा लागेको रहेछ –पहिला त यसले यो विषयको गाम्भीर्यता बुझ्छ कि बुझ्दैन । बुझिहालेछ भने पनि कसरी लेख्छ, या प्रस्तुत गर्छ । अथवा उसको मिडियाले यो समाचार प्रकाशित गर्ने हिम्मत गर्छ कि गर्दैन ? 

म कान्तिपुर टिभी छोडेर कान्तिपुर दैनिकमा पुगेको थिएँ । सम्पादक थिए– सुधीर शर्मा । शर्मा मैले काम गरेका सम्पादकमध्ये समाचार तत्काल बुझ्ने र निडर स्वभावका लाग्थे । भोलिपल्ट कान्तिपुर दैनिकको फ्रन्टपेजमा लीलामणि सरले दिएको सूचनामा आधारित समाचार मुख्य समाचारका रूपमा मेरो बाइलाइनमा प्रकाशित भयो ।  

समाचार प्रकाशित भएकै बिहान लीलामणि सरको फोन आयो । खासमा उहाँले बिहानै त्यो समाचार पढ्नुभएछ । दिउँसो सिंहदरबारमा आउन भन्नुभयो । ‘ल तपाईं मेरो नजरमा पास हुनुभयो । समाचारको प्रस्तुतिमा इमान्दारिता छ । सूचना तोडमोड नगरी जस्ताको तस्तै प्रकाशित गर्नुभएछ । म तपाईंजस्ता इमान्दार युवालाई प्रोत्साहित गर्ने प्रशासक हुँ । अब नियमित सम्पर्कमा बस्नुस् है ।’ यति भनेपछि उहाँ कार्यकक्षबाट निस्कनुभयो । त्यसपछि चाहिँ सरसँग घनिष्टता बढ्यो । सरकै सहयोगमा लगभग सयको हाराहारीमा मैले कान्तिपुर दैनिक, रिपब्लिका अंग्रेजी दैनिक र बीबीसीमा स्कुप न्युज प्रकाशन/प्रशारण गर्ने अवसर पाएँ ।

पाठक वृन्द,

मैले यो आलेखमा लीलामणि सर र मेरो सम्बन्धको प्रसंग उल्लेख गर्नुको अर्थ छ । नेपालमा थोरै मात्र यस्ता प्रशासक छन् जो मेहनत गर्ने इमान्दार युवालाई हौसला दिन्छन्, प्रोत्साहन र अवसर दिन्छन् । हो, गुल्मीको रुरुक्षेत्र गाउँपालिकाका त्यस्तै इमान्दार, मेहनती र सम्भावना भएका एकजना युवालाई गाउँपालिकाको अध्यक्षमा जिताउन हौसला दिने र माहोल बनाउन सघाउने उद्देश्यले लीलामणि सरको यसपटकको गाउँ बसाई केन्द्रित रहेछ ।

ती युवा रहेछन्– ३२ वर्षीय यदु ज्ञवाली । 

‘विमलजी, तपाईंलाई विश्वास नलाग्ला यो भाइ (आफ्नो छेउतिर देखाउँदै जहाँ ज्ञवालीसहित हामी ४/५ जना बसेका छौंं) चाहे म सरकारमा हुँदा होस् या रिटायर्ड भएपछि, रातदिन गाउँको चिन्ता गर्छ । दाइ फलानो बिरामी परेर काठमाडौं आएको छ, उपचार गराउने पैसा नभएर वीर अस्पतालको प्राङ्गणमा ढलेको छ भनेर फोन गर्छ । कहिले गाउँको खानेपानी समस्याको कुरा गर्छ । कहिले मोटरबाटोको कुरा गर्छ । कहिले स्कूलको कुरा गर्छ । आफ्नो व्यक्तिगत केही कुरा गर्दैन । खाली गाउँका जनताको समस्या लिएर आउँछ । कहिलेकाहीँ दिनमा चार–पाँचपटकसम्म फोन गर्छ । गाउँमा कोही बिरामी पर्न हुँदैन, उसैलाई खोज्छन् । समस्या आयो, उसैलाई खोज्छन् । कोही दुर्घटनामा पर्यो, उसैलाई खोज्छन् । अनि उसले मलाई आधार मान्दोरहेछ । मलाई फोन गरेर दाइ यस्तो समस्या भयो, केही गर्न सकिन्छ कि भनेर भन्छ । एक दिन होइन, दुई दिन होइन, वर्षैभरि, सधैंभरि । गाउँ बनाउँछु भनेर अध्यक्षमा उम्मेदवारी दिएको छ । उसको विगतको काम गराइबाट गाउँका जनता खुशी छन्  । म आफैँ प्रभावित छु । अनि यो जस्तो युवाले नजिते परिवर्तन कसरी सम्भव हुन्छ ? त्यसैले उसले जित्नुपर्छ भन्ने मेरो मान्यता छ । मैले सक्दो सहयोग गर्दैछु । ऊ जस्तो सम्भावना भएको युवालाई सहयोग नगर्ने हो भने त म पनि फटाहा ठहर्ने भए नि !’

लीलामणि सरले समर्थन जनाएका ती युवा सत्ता गठबन्धनको तर्फबाट गुल्मीको रुरुक्षेत्र गाउँपालिका अध्यक्षका उम्मेदवार हुन् । उनी नेकपा (माओवादी केन्द्र)मा आबद्ध युवा रहेछन् । गाउँमा उनको लोकप्रियता राम्रो पाइयो । हामीले लीलामणि सरसँगको कुराकानीपछि गुल्मीको तम्घास पुग्नुअघि गाउँका थुप्रै स्थानीयसँग ती युवाको बारेमा बुझ्यौं । धेरैको प्रतिक्रिया थियो, हाम्रो सुखदुःखको छोरो उही हो ।’

सामान्य परिवारमा हुर्केका उनले अध्यक्षमा जितेपछि गाउँको मुहार फेर्ने योजना सुनाए । पैसा खर्च गरेर चुनाव लड्ने आफ्नो हैसियत नभएपनि गाउँमा आफूले गरेको कामप्रति भरोसा गरेर गाउँलेले मत दिने उनको विश्वास देखियो ।

उनै युवा (यदु ज्ञवाली) को चुनाव प्रचारमा खटिएका गाउँका अर्का सक्रिय व्यक्ति रहेछन्– भुवनेश्वर अर्याल । ‘तपाईंहरू काठमाडौंबाट आएको पत्रकार । हाम्रा कुरामा विश्वास नगर्न पनि सक्नुहुन्छ,’ आफ्नो कुरा राख्दै गर्दा गला अवरुद्ध भएका अर्यालले सुनाए, चुनाव प्रचार र मतदान गर्ने तरिका सिकाउन गाउँका करीब ६० जना युवालाई तालिम दिएको छु । ती युवा विचरा रातदिन खटिरहेका छन् । तर उनीहरूको बाइकमा हालिदिन तेल किन्ने पैसा पनि दिन सकेका छैनौं ।’

यस्तो महंगीमा कसरी पैसाको जोहो गर्नुहुन्छ ? जवाफमा ज्ञवालीले भने– ‘मेरो सहारा भनेकै लीलामणि दाइ र भुवनेश्वर दाइ हो । उहाँहरूलाई सक्दो सहयोग गर्न भनेको छु । मसँगै पढेका कतिपय साथीभाइ विदेश छन् । उनीहरूले थोरैथोरै सहयोग गर्ने भएका छन् । यसैगरी चलाउने हो । अरु उपाय छैन ।’

कुराकानी सकिनै लाग्यो । लीलामणि सरले एकपटक आफ्नो गाउँको घर हेर्न र ९० वर्षीय आमा भेट्न घर जाऔं भनेर प्रस्ताव राख्नुभयो । सरले त्यही थोत्रो बाइक स्टार्ट गर्नुभयो । हाम्रो गाडीले उहाँको बाइकलाई पछ्यायो ।

करीब एक किलोमिटर जति तल गाउँमा पुगेपछि सरको घर आइपुग्ने रहेछ । घर पुग्नुअघि अलि भिरालो रहेछ । त्यही भिरालोको बीचमा मोटरबाटो बनाइएको रहेछ । ‘हेर्नुस् त, बाटो यति अप्ठ्यारो छ, तर पिच छैन । आफ्नो घरलाई ध्यानमा राखेर बजेट खन्यायो भन्लान् भनेर मैले मुख्य सचिव हुँदा या सचिव हुँदा यहाँ बजेट छुट्टयाउन पहल नै गरिनँ,’ सरले सुनाउनुभयो ।

एकैछिनमा सरको घर पुगियो । एउटा पूर्व मुख्यसचिव जन्मेको गाउँको घर । घर वर्षौंअघि बनाउँदा जस्तो थियो, अहिले पनि त्यस्तै छ । अति सामान्य । देशका कैयौं प्रशासकका काठमाडौंमै बनाइएका अत्याधुनिक र ल्याभिस घरमा म पुगेको छु । लीलामणि सर पनि आम कर्मचारी जस्तो घुस, भ्रष्टाचार र अनियमिततामा रमाउने प्रशासक भैदिएको भए या त गाउँको यो घर सम्पत्ति उहिल्यै बेचेर शहरमा रमाइरहेका हुने थिए । या गाउँको पुर्ख्यौली सम्पत्तिको संरक्षण गरौं भनेर पुरानो घरलाई थप मर्मत गरेर चिटिक्क पार्थे होला । तर उहाँको गाउँको घर सामान्य रहेछ ।

 

घरको आँगनमा त्यही थोत्रो मोटरसाइकल रोकेपछि सर ९० वर्षीया आमा (टीकादेवी पौड्याल) लाई खोज्न लाग्नुभयो । एकैछिनमा आमा कोठाबाट बाहिर निस्कनुभयो, मुस्कुराउँदै । आमाको मुहार हँसिलो । बोली पनि फरासिलो ।

‘त्यति ठूलो पदमा पुगेको छोरा उतै शहरमा नबसेर घरी घरी गाउँ आउनुहुन्छ । यस्तै पदमा पुगेका अरूका छोरा त शहरमै रमाउँछन् नि आमा ?’ मेरो प्रश्न सुनेपछि हाँस्दै आमाले भन्नुभयो– ‘उसले त गाउँको माया गर्छ । मलाई पनि असाध्यै माया गर्छ । आइरहन्छ । महिनौं यतै बस्छ । आफैँ पकाएर खान्छ । यही त राम्रो हो नि बाबु, होइन र ?

मलाई लीलामणि सरको बाल्यकाल बुझ्न मन लाग्यो । ‘आमा, सरका राम्रा नराम्रा बानी के–के हुन् ? सानो हुँदा कत्तिको दुःख दिनुहुन्थ्यो ? 

‘यसले कहिल्यै दुःख दिएन । नराम्रो बानी नै थाहा भएन । केही पनि छैन । सधैँ आमा के खाने ? के लगाउने ? के ल्याइदिऊँ भनेर सोध्छ । मलाई यसको माया भए पुग्छ । भनेको खान, लगाउन दिएकै छ, म खुशी छु ।’

लीलामणि सर जन्मेकै गाउँले अरू थुप्रै बहालवाला र पूर्व प्रशासक जन्माइसकेको छ । चारजना त पूर्वसचिव छन् त्यही गाउँका । तर, सरबाहेक अरू प्रशासक गाउँमा जाने, धूलो माटोसँग जुध्ने हिम्मत गर्दैनन् । ती शहरमै रमाइरहेका छन् ।

लीलामणि सर अपवाद हुनुहुन्छ । उहाँ पदमा बहाल रहँदा पनि हरेक वर्ष दशैँ मनाउन जन्मघर पुग्नुहुन्थ्यो । आमा बुवालाई भेट्न चाडबाडबाहेक अरू बेला पनि पुग्नुहुन्थ्यो । सर मात्र होइन, उहाँका बहिनीहरू पनि आमालाई भेट्न गाउँ आइरहनुहुनेरहेछ । वैशाख १५ गते हामी सरको घर पुग्दा काठमाडौंमा सेभ दी चिल्ड्रेनमा काम गर्ने सरकी बहिनी पनि आमा भेट्न गाउँ पुग्नुभएको रहेछ । 

‘मैले अघि भाञ्जाको प्रसंग सुनाएको थिएँ नि विमलजी, ऊ यही बहिनीको छोराको कुरा गरेको थिएँ । बहिनीतिर देखाउँदै सरले भन्नुभयो ।

लीलामणि सर जब सपरिवार गाउँ पुग्नुहुन्छ, परिवारका अरू सदस्यलाई बारी खन्न लगाउनुहुँदो रहेछ । केही वर्ष अघिको दशैंमा सरको बहिनीका छोरा (भाञ्जा) दशैंको टीका लगाउन मामाघर आएका बेला लीलामणि सरले बारी खन्न लगाउनुभएछ । बारी खन्दै गर्दा भाञ्जाको हातमा बेस्सरी फोका उठेछन् । ‘भाञ्जाले तीन महिनासम्म हातको उपचार गरिरहनुपर्‍यो,’ सरले हाँस्दै भन्नुभयो ।

गाउँमा बस्दा समय मिल्नासाथ सर आफैँ बारी खन्न निस्कनु हुँदोरहेछ । ‘सरलाई राज्यले फेरि कुनै ठूलो जिम्मेवारी दियो भने गाउँ बिर्सेर काठमाडौंतिरै रमाउने त होइन नि?’

मेरो प्रश्न नसकिँदै लीलामणि सरको जवाफ आयो, पहिला पदमा हुँदा पनि म कहाँ गाउँ नआउने मानिस हो र ? झन् अहिले त गाउँको बारीमा अगरउट (बहुमूल्य वनस्पति जुन सौन्दर्यको सामग्रीमा प्रयोग गरिन्छ) रोपेको छु । त्यसले परिणाम दिन कम्तीमा १५ वर्ष लाग्छ । मतलब, १५ वर्ष त म त्यसै पनि गाउँ आइरहन्छु,’ हाँस्दै सरले थप्नुभयो । 

छिनछिनमा लाभहानीको हिसाब गरेर कदम चाल्ने चरम स्वार्थी दुनियाँमा लीलामणि पौड्यालको गाउँप्रतिको माया लोभलाग्दो मात्र होइन धेरैका लागि उदाहरणीय छ । उहाँ गाउँमा वास्तविक परिवर्तन ल्याउने उत्कट चाहना बोकेरै होमिनुभएको देखियो ।

घरबाट बिदा हुन लाग्दै गर्दा भन्नुभयो, ‘विमलजी, यदि यदुले गाउँपालिका अध्यक्ष जित्यो भने हामी यो ठाउँलाई नेपालकै रोलमोडल गाउँको रूपमा विकास गर्छौं, ताकि सिंगो देशले विकास कसरी गर्नुपर्छ भनेर सिक्न हामीकहाँ आउनुपरोस् । मानिसहरू गाउँ छाडेर शहरतिर गइरहेका छन् । हामी शहर छाडेर यो गाउँमा बस्न मोहित पार्ने हिसाबले विकास गर्नेछौं ।’

‘सरको यो सपना पूरा होस्, शुभकामना !’ यति भनेपछि म र सहकर्मी सुशील पन्त सरसँग छुट्टियौं ।


TATA Below
NLIC
बैशाख २६, २०७९

नेपालकै होचो स्थान भनेर चिनिएको झापाको कचनकवललाई यसपटक स्थानीय तह चुनावले फेरि राष्ट्रिय राजनीतिको चर्चामा ल्याएको छ । कचनकवलमा भइरहेको चुनावी गठबन्धनलाई राष्ट्रिय रूपमा नै चासोका साथ हेरिएको छ । स्थानीय ...

बैशाख २१, २०७९

कैलालीको गोदावरी नगरपालिकाको अत्तरियास्थित विष्ट टोलका मतदाता नेताहरूले यसअघि गरको प्रतिबद्धता पूरा नगरेको र जनताका पक्षमा काम नगरेको भन्दै असन्तुष्ट छन् । गोडेपानी खोलाले विष्ट टोललाई बर्सेनि समस्या दिन्छ भन...

बैशाख २२, २०७९

जिउमा ब्लाउजजस्तो देखिने एकसरो पातलो र मैलो कपडा । सामान्य धोती । खुट्टामा उति नै सामान्य चप्पल । चाउरी परेको मुहार । वैशाखको ४० डिग्री तापक्रमका बीच दैनिक १२ घण्टा दाउराको आगो र धूवाँवरिपरिको बसाइले हुनसक्छ...

बैशाख २८, २०७९

सडक दुर्घटनाले मात्रै नेपालको कूल गार्हस्थ उत्पादनको करीब ०.८ प्रतिशत आर्थिक क्षति हुने अनुमान छ । सडक निर्माणकै कारण पहाडी क्षेत्रमा सबैभन्दा बढी पहिरो जाने गरेको छ । सडक बनाएकै कारण पहाडी क्षेत्रमा वार्षिक २...

जेठ १४, २०७९

सरस्वती दर्लामी (चिदी) पाल्पाको बगनासकाली गाउँपालिकाको नवनिर्वाचित अध्यक्ष हुन् । नेकपा एमालेबाट गाउँपालिका अध्यक्षमा निर्वाचित चिदी लुम्बिनी प्रदेशकै एक्ली गाउँपालिका अध्यक्ष हुन् । स्थानीय तह निर्वाचनबाट लुम्बिन...

बैशाख २५, २०७९

देशैभर सत्तारुढ ५ दलीय गठबन्धनले आगामी वैशाख ३० गते हुने स्थानीय चुनावको माहोल तताइरहेको छ । कैलालीको टीकापुरमा वैशाखको ३४ डिग्री गर्मीलाई बेवास्ता गर्दै प्रमुख राजनीतिक दल नेकपा माओवादी केन्द्र र कांग्रेस...

व्यासको मेयरमा उठेपछि कांग्रेसको आक्रमणमा परेका जोशीको लेख– बाटो बिराएका काकाहरूका नाममा

व्यासको मेयरमा उठेपछि कांग्रेसको आक्रमणमा परेका जोशीको लेख– बाटो बिराएका काकाहरूका नाममा

जेठ १३, २०७९

नेपाली कांग्रेसमा आबद्ध हुनुभएका महानुभावहरू साथै मेरो बुवा (गोविन्दराज जोशी)का साथीहरू, मैले आदरणीय मानेका काका ठूलोबाहरू, मेरा बुवा र हामी सम्पूर्ण परिवारले ५० औँ वर्षसम्म तपाईंसँग एउटै यात्रामा प्रजातन्त्र...

यौन अपराधमा हदम्याद : नेपालको कानून र अन्तर्राष्ट्रिय अभ्यास

यौन अपराधमा हदम्याद : नेपालको कानून र अन्तर्राष्ट्रिय अभ्यास

जेठ १२, २०७९

जब कुनै आपराधिक घटनाहरू समाजमा उजागर हुन्छन् त्यसपछि मुलुकको विद्यमान कानूनले के भन्छ भन्ने प्रश्न उठ्न थाल्छ । कानूनमा कुनै खालीपन रहेछ भने अभियन्ताहरूले सुधारको बाटो देखाउँछन्। समाजको वास्तविक आवश्यकता यही रहे...

ओलीको 'पर्सनल अट्याक'ले रोक्न नसकेको रेनुको विजयी यात्रा

ओलीको 'पर्सनल अट्याक'ले रोक्न नसकेको रेनुको विजयी यात्रा

जेठ १०, २०७९

केपीबा (एमाले अध्यक्ष केपी शर्मा ओली) धेरैका बा थिए, तर कतिपयका लागि उनी बाजस्ता थिएनन् । मलाई लाग्छ, बा हुनका लागि आवश्यक गुण ओलीसँग छैन । बा त्यस्तो व्यक्ति हो, जसले सबैका छोराछोरीलाई आफ्नैसरह माया गर्छ,...

ad
x