२६ जेठ २०८३, मंगलबार

तस्वीरमा हेर्नुस्, फोटो खिच्न कस्तो जोखिम मोल्छन् फोटोपत्रकार ?

कात्तिक २०, २०७४
तस्वीरमा हेर्नुस्, फोटो खिच्न कस्तो जोखिम मोल्छन् फोटोपत्रकार ?
काठमाडौं, ३० असार – आन्दोलन, जुलुस, भूकम्पको समयमा पनि  जोखिम मोलेर फोटो खिच्न तल्लिन रहने गर्छन् फोटोपत्रकारहरु ।


सँधै अरुको फोटो खिचेर प्रदर्शनी गर्ने फोटोपत्रकारहरुले शुक्रबार भने आफ्नै पीडाहरुलाई समेटेर आर्ट काउन्सिलमा फोटो प्रदर्शनी गरेका छन् ।



फोटोपत्रकारले फोटो खिचाइका क्रममा भोगिने विभिन्न समस्याहरुका बारेमा जानकारी दिने उदेश्यले फोटो पत्रकार नेपालले दुईदिने फोटो प्रदर्शनी शुरु गरेको छ ।


प्रदर्शनीको उदेश्य फोटो पत्रकारहरु कति जोखिममा काम गर्छन् र जोखिमलाई कसरी न्युनीकरण गर्ने ।
तस्वीरमा आन्दोलनका क्रममा फोटोपत्रकारको क्यामरा फुटेको, आन्दोलनकारी र प्रहरीको चपेटामा भोगेको पीडा लगायत फोटोपत्रकारहरुका जोखिमपूर्ण यात्राहरु समेटिएका छन् ।


आन्दोलनका क्रममा अग्रभागमा रहेर फोटो खिच्नु पर्ने कारण जोखिम पनि उतिकै रहने फोटोपत्रकार क्लबका अध्यक्ष विकास कार्कीले बताए ।


जोखिमयुक्त अवस्थामा पनि तस्वीर खिच्न अग्रसर रहने फोटोपत्रकारहरु कार्यक्षेत्रमा असुरक्षित रहने  गरेको अध्यक्ष कार्कीले बताए ।


प्रदर्शनीमा फोटोपत्रकारले भोगेका विभिन्न पीडा झल्किने ४५ वटा तस्वीरहरु राखिएका छन् ।
फोटो प्रदर्शनीको उद्घाटन् सभामुख ओनसारी घर्तिमगरले गरिन् ।  जनयुद्धको समयमा जापानबाट आएका दुई फोटोपत्रकारले तस्वीर खिच्नकै लागि आफ्नो ज्यान समेत जोखिममा राखेकोे उदाहरण सभामुख घर्तिले कार्यक्रममा सुनाइन् ।

लडाकुले बन्दुक भिरेर लडाइँमा गए जस्तै फोटोपत्रकारले पनि क्यामरा लिएर जोखिमको यात्रा तय गर्न तयार रहने गरेको बताउँदै सभामुख घर्तिले फोटोपत्रकारिता निकै चुनौतीपूर्ण पेशा रहेको बताइन् ।



नेपालकै पहिलो फोटोपत्रकारका रुपमा रहेका गोपाल चित्रकारले नेपालमा फोटो पत्रकारका समस्याका बारेमा अहिलेसम्म पनि कुनै निकायले चासो नदेखाएकोप्रति गुनासो पोखे ।



नेपालमा फोटोपत्रकारहरु निकै असुरक्षित रहेको भन्दै उनीहरुको लागि सुरक्षा सम्बन्धी तालिमहरु सञ्चालन गर्नुपर्ने उनले बताए । फोटो प्रदर्शनीलाई इन्टरनेशनल मिडिया सपोर्टले सहयोग गरेको थियो ।


सूचना तथा संचार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले पत्रकारिता समाजको मुख्य अंग भएका कारण पत्रकार महासंघ मार्फत गरिएको दुर्घटना बिमा पर्याप्त नभएको बताउँदै पत्रकारहरुले भोग्नु परेको जोखिमलाइ न्युनिकरण गर्दै जानुपर्ने र यसका लागि अबसर दिन आग्रह गरे । प्रदर्शनी आइतवारसम्म सम्म चल्नेछ ।


फोटो खिचेर प्रदर्शनीको उद्घाटन गर्दै सभामुख ओनसरी घर्ति ।

तस्वीर स्रोत : फोटोजर्नालिस्ट क्लब नेपाल

salt training

कमेन्ट गर्नुहोस्