बेलायतका राजकुमार चार्ल्स मंगलवार त्यहाँको संसद् पुगेर राज्यप्रमुखको भूमिका निर्वाह गर्दैछन् । उनले रानी एलिजाबेथको भाषण संसदमा वाचन गर्नेछन् ।
सोमवार राति बकिंघम राजदरबारले संसद्को पहिलो बैठकमा रानी एलिजाबेथले सम्बोधन नगर्ने घोषणा गरेको थियो । चिकित्सकहरूको सल्लाहबमोजिम रानी संसद् नजाने भएकी हुन् । वृद्धावस्थाका कारण उनलाई हिँडडुलको समस्या छ ।
रानीका जेठा छोरा चार्ल्स आफ्ना छोरा विलियमसँग संसद् पुगेर संसदमा सम्बोधन गर्नेछन् । उनले आगामी वर्षका लागि सरकारको नीति तथा कार्यक्रम घोषणा गर्नेछन् ।
संसद्को पहिलो बैठक वर्षैपिच्छे प्रमुख घटनाका रूपमा आयोजना गर्ने गरिएको छ । लाखौं मानिसले त्यसको टीभी प्रसारण हेर्ने गरेका छन् ।