२६ जेठ २०८३, मंगलबार

म यस्तो गीत गाउँछु : उत्कृष्ट गीत भएको फिक्का फिल्म

कात्तिक २०, २०७४
म यस्तो गीत गाउँछु :  उत्कृष्ट गीत भएको फिक्का फिल्म

काठमाडौं, ३१ असार–  सुदर्शन थापाले बनाउने फिल्म प्रेमकथामा आधारित हुन्छन् भन्ने कुरा दर्शकले बुझिसकेका छन् । अन्य जानराका चलचित्रभन्दा उनी ‘लभ स्टोरी’मा आधारित चलचित्रमा केही सफल पनि भएका छन् । उनका अन्य सिनेमाजस्तै ‘म यस्तो गीत गाउँछु’ पनि सामान्य प्रेमकथामाथि बनाइएको सरल चलचित्र हो ।

सिनेमाको कथानक सामान्य छ । पल (पल शाह) र छायाँ (पूजा शर्मा) को भेट प्रहरीको भ्यानमा हुन्छ । सामान्य कारणले पक्राउ परेको पलको भेट अर्की युवतीसँग हुन्छ । ठूलो गल्तीविनै प्रहरीले समाएका पल र छायाँलाई प्रहरीले एउटै हतकडी लगाइदिन्छ । पल पक्राउ परेपनि भाग्नु छ । तर दुवैको हातमा एउटै हतकडी लगाइएको हुँदा उनीहरु सँगै भाग्छन् । एक अर्कासँग दुवै अन्जान भए पनि कथानकमा यस्तो अवस्था आइदिन्छ कि, उनीहरुले एकअर्कालाई विश्वास गर्नुपर्ने हुन्छ । यसरी शुरु भएको कथानक यस्तै स–साना र नाटकीय बन्दै अगाडि बढ्छ ।
मुलतः सिनेमा ठीकै छ । मसालेदार फिल्म मन पराउने दर्शकका लागि यो सिनेमा राम्रो खुराक बन्न सक्छ । यद्यपि पल र पूजाले आफ्नो भूमिकालाई ‘बोल्ड’ बनाउन सकेका छैनन् । कथानक र संवादमा सुदर्शन थापा चुकेका छन् ।

चलचित्रमा निर्देशकले साहित्यिक भाषाको समेत प्रयोग गरेर संवादलाई अझ बलियो बनाउन त खोजेका छन्, तर दर्शकले फिल्ममा मौलिकता खोज्छन् भन्ने कुराको हेक्का राखेनन् । भलै सिनेमाको कथानक त्यति कमजोर भने छैन । केही संवादहरुले फराकिलो फिल्ममा मज्जाले जमेका छन् । कथानक सलल बगेको छ । सिनेमा हेर्दा कुनै न कुनै कुराले दर्शक ‘कन्भिन्स’ बन्छन् । फिल्मको राम्रो पक्ष यही हो ।

कथानकजस्तै चलचित्रमा अभिनय पक्ष पनि औसत छ । निर्देशकले कुनै पनि पात्रलाई गतिशील बनाउन सकेका छैनन् । सबै पात्रको उही खालको चरित्रको प्रस्तुतिकरणले सिनेमालाई औसत बनाएको छ । पल शाहको अभिनय अन्य कलाकारको तुलनामा केही आकर्षक त देखिन्छ तर, उनको अभिनय पूरै सिनेमाभरि एकनासको लाग्छ । पूजाको अभिनयले दर्शकलाई ‘रियालिटी’ मा लैजान सक्दैन । अभिनय औसत छ । बरु बेलाबेलामा डाक्टरको भूमिकामा देखिने राजाराम पौडेलको अभिनय भने अब्बल लाग्छ । दर्शकलाई हँसाउने उनको अभिनय कला चरित्र सुहाउँदो छ ।

सिनेमाले बेलाबेलामा हसाउँछ । बेलाबेलामा इमोसनल बनाउँछ । बेलाबेलामा कलाकारले नाटक नै धेरै देखाए भन्ने पारिदिन्छ ।

चलचित्रको आकर्षक पक्ष यसको गीत संगीत हो । गीत संगीतले फिल्मलाई छुट्टै हाइप दिएको छ । म्युजिकल स्टोरी लाग्ने फिल्मको पाश्र्व ध्वनि पनि आकर्षक लाग्छ । ध्वनि संयोजनले हलमा फिल्म हेरिरहेका दर्शकलाई सराउण्ड बनाइराख्छ ।

सञ्जय लामाको छायांकन शील्प लोभलाग्दो छ । धेरै दृश्यमा उनले क्यामेरालाई सलल बगाएका छन् । तर पनि उनले आफ्नो सिनेम्याटिक प्लटलाई बिम्बात्मक तरिकाले प्रस्तुत गर्न सकेका भए अझ आकर्षक हुन्थ्यो । धेरैजसो दृश्यमा उनले पल र पूजाको क्लोजअप शटमा नै धेरै खर्च गरेका छन् । सिनेमामा अटेका कतिपय दृश्य, गीत तथा अन्य दृश्यमा प्रयोग गरिएका विभिन्न प्रप्सले फिल्मलाई ओजिलो भने बनाएको छ । निर्देशकको यही खुबीले गर्दा पनि चलचित्र हेर्दा दिक्क लाग्दैन ।

चलचित्रमा नोटिस गर्न मिल्ने राम्रा पक्ष जति छन्, त्यति नै यसमा कमजोर पक्ष पनि छन् । जस्तो कि, कथानक अगाडि बढ्दै जाँदा चलचित्रका केही दृश्यलाई बढी नै नाटकीय बनाइएको छ । प्रहरीलाई पूर्णतः कमजोर बनाइएको छ । प्रहरी भ्यानबाट भागेका पल र छायाँलाई किन प्रहरीले खोजी गर्दैन? श्रीमान श्रीमती झगडा गरिरहेका बेला भ्यानबाट भाग्न सक्ने स्थिति कसरी बन्छ? पलको बाल्यकाल त ठीक छ तर पछि के भयो? प्रहरीले खोजी गरिरहेको पललाई एकैपटक छायाँको घरमा आएर प्रहरीले नाटकीय ढंगले भेट्याउँछ? यस्ता प्रश्न दर्शकको मनमा आइरहन्छन् ।

अर्थात, निर्देशक थापाले विषयवस्तु उठाएका छन् । तर पर्याप्त कारण कतै दिन सकेका छैनन् ।
यति हुँदाहुँदै पनि फिल्मले दर्शकको ध्यान खिच्छ ।

निष्कर्षतः लभ स्टोरी मन पर्नेका लागि सिनेमा मनोरञ्जन दिन्छ । नेपाली सिनेमा हेर्ने दर्शकका लागि सिनेमाले मनोरञ्जन पक्कै दिनेछ ।

salt training

कमेन्ट गर्नुहोस्