
चालू आर्थिक वर्ष २०७८/७९ मा अघिल्लो आर्थिक वर्षको तुलनामा अर्थतन्त्रको वृद्धिदर सामान्य रूपमा सुधार भएको छ । अर्थमन्त्री जनार्दन शर्माले शनिबार संसदमा पेश गरेको चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण अनुसार, यस वर्ष नेपालको अर्थतन्त्रको आकार ५.८४ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो वृद्धिदर ४.२५ प्रतिशत मात्रै थियो ।
यस वर्षका कोभिड महामारी न्यूनिकरण भएको र उर्जा क्षेत्रको उत्पादन र विस्तारले आर्थिक वृद्धिमा योगदान गरेको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।
आगामी आर्थिक वर्षको बजेट सार्वजनिक हुनुअघि अर्थमन्त्रालयले आर्थिक सर्वेक्षण सार्वजनिक गर्ने गरेको छ । जेठ १५ मा आगामी आर्थिक वर्षको बजेट संसदमा प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार आइतबार अर्थमन्त्री शर्माले संसदमा आगामी आर्थिक वर्षको अनुमानित आय र व्ययको विवरण प्रस्तुत गर्ने कार्यक्रम छ ।
चालु आर्थिक वर्षमा उद्योग क्षेत्रको मूल्य अभिवृद्धि सबैभन्दा धेरै अर्थात ८.१ प्रतिशत रहेको छ । त्यसैगरी, कृषिको २.३ प्रतिशत र सेवा क्षेत्रको ६.६ प्रतिशतले वृद्धी हुने अनुमान रहेको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।
त्यसैगरी, चालु आर्थिक वर्षमा कुल गार्हस्थ उत्पादन ४८ खर्ब ५१ अर्ब ६२ करोड रहेको अर्थमन्त्रालयले बताएको छ । जसमा बागमती प्रदेशको योगदान सबैभन्दा धेरै ३६.९ प्रतिशत रहेको छ भने कर्णाली प्रदेशको सबैभन्दा कम ४.१ प्रतिशत रहेको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।
नेपालीको प्रतिव्यक्ति आय १३८१ डलर पुगेको छ । आर्थिक वर्ष ०७८/७९ को आर्थिक सर्वेक्षण अनुसार नेपालीको आय एक वर्षमा १०.८ प्रतिशतले बढेको छ ।
यसअघि आर्थिक वर्ष ०७७/७८ मा १२४६ डलर रहेको प्रतिव्यक्ति आय चालु आर्थिक वर्षमा १३८१ डलर पुग्ने अनुमान गरिएको हो ।
चालु आर्थिक वर्षको फागुनसम्म कुल बस्तु निर्यात ८२.९ प्रतिशतले बढेको छ । त्यस अवधिमा १ खर्ब ४७ अर्ब ७५ करोड बराबरको बस्तु निर्यात भएको छ ।
उक्त अवधिमा कुल बस्तु आयात ३८.६ प्रतिशतले बढेर १३ खर्ब ८ अर्ब ७३ करोड पुगेको छ ।
व्यापार घाटा भने ३४.५ प्रतिशतले बढेर ११ खर्ब ६० अर्ब ९९ करोड पुगेको छ । आर्थिक वर्ष २०७७/७८ मा व्यापार घाटा ८ खर्ब ६३ अर्ब २१ करोड मात्रै थियो ।
२०७८ फागुनसम्म आन्तरिक ऋण ८९ अर्ब ५० करोड आन्तरिक ऋण परिचालन भएको छ । सोही अवधिसम्ममा ९ अर्ब ४६ करोड अनुदान र १६ अर्ब ६१ करोड ऋण गरी कुल १ खर्ब २६ अर्ब ७ करोड बैदेशिक ऋण सहयोग प्रतिवद्धता आएको अर्थमन्त्रालयले बताएको छ ।
चालु आर्थिक वर्षको फागुनसम्म रेमिट्यान्स आउने क्रम १.७ प्रतिशतले घटेको छ । सोही अवधिसम्म ६ खर्ब ३१ अर्ब १९ करोड मात्रै रेमिट्यान्स नेपाल भित्रिएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ३ खर्ब ४२ अर्ब ३३ करोड रेमिट्यान्स नेपाल भित्रिएको थियो ।
२०७८ को फागुन मसान्तसम्म विदेशी विनिमय सञ्चिति ११ खर्ब ७१ अर्बमा सीमित भएको छ । यसले ६.७ महिनाको मात्रै बस्तु तथा सेवा आयात धान्न सक्छ । चालु आर्थिक वर्षमा विदेशी विनिमयको सञ्चिति असाध्यै कमजोर अवस्थामा पुगेको छ ।
यस्तो छ आर्थिक सर्वेक्षणको पूर्णपाठ