कात्तिक १३, २०८०
वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...
समय त्यस्तै २०३२ सालको अन्त्यतिर हुनुपर्छ । बहिनीको विवाहको राति भागेको गोपाल पर्सिपल्ट त्रिशूली बजार पुग्यो ।
पढ्न हिँडेको थाहा भए पनि कता जाने थाहा थिएन उसलाई । यसो त प्रथम परीक्षा पास गर्नासाथ कथावाचक बन्ने विचार नगरेको होइन उसले । यसका लागि सक्दो प्रयास पनि गरेकै हो ।
तिनताका गोरखाका लामिछाने थरी पण्डित जानेमाने विद्वान्मा गनिन्थे । उनको ख्याति पश्चिम १ नम्बर नुवाकोट, धादिङदेखि ३ नम्बर लमजुङ, तनहुँसम्म फैलिएको थियो । त्यस्ताको पछि लागेपछि राम्रै पण्डित बनिन्छ भन्ने लागेर उनीसमक्ष गएको पनि हो तर पण्डित बाजे यति व्यस्त थिए कि फुर्सद निकाल्नै सकेनन् । त्यसपछि निराश भई थप पढाइका लागि हिँडेको थियो ऊ ।
त्रिशूली बजार पुगेपछि एउटा होटलमा बस्ने निधो गर्यो गोपालले । त्यतिबेला होटलमा खाने ग्राहकलाई बस्न सित्तैमा दिने चलन थियो त्रिशूलीतिर । साँझ खाना खाने बेला पल्लो गाउँका इण्डियन लाहुरे गुरुङ दाइसित भेट भयो उसको, जो छुट्टी सकिएर फर्किंदै रहेछन् देहरादून ब्यारेकतिर । उसलाई देख्नासाथ सोधे, ‘कता हिँड्या बाज्या ? निको चाल ‘छ्यान’ नि । ‘क्या नाम डिस्टप’ भाग्या त होइनौ ?’
‘हो दाइ ! भागेरै हिँड्या हुँ ।’
‘क्यान भाग्या हौ नि ?’
‘पढौं कि भनेर ।’
‘भन्याभा’ हुन्थेन घरमा क्या नाम ?’
‘नहुने भएर नै ।’
‘खर्च पानी बोक्या हौ कि नाइ ?’
‘छ अलिअलि ।’
‘अलिअलि भन्या कति ?’
‘गोडापाँचै सय जति ।’
‘कसले द्या’ नि तुमारा क्या नाम ?’
‘गाउँकै घले काकासित माग्या सापटी ।’
त्यसपछि लाहुरे दाइले हरिद्वार रेल्वे स्टेसनमा लगेर झारिदिए । हरिद्वार ओर्लेपछि २ रात रेल्वे स्टेसनमा बितायो उसले । दिनभर स्टेसन वरपर घुम्थ्यो, रात मुसाफिरमा सुत्थ्यो । खानाका लागि १ माना जति भुटेको चना किनेको थियो, स्टेसन नजिकैको पसलमा । भोक लागे चना चपाउँथ्यो र स्टेसनकै ‘पिनेका’ पानीले प्यास मेटाउँथ्यो ।
तेस्रो दिन बजारतिर घुम्दै जाँदा एउटा गडवाली ढावामा पुग्यो । ढावा सञ्चालक गडवालतिरका सज्जन रहेछन्, जसले आफ्नै ढावामा काम दिने दया देखाए । त्यतिबेला गर्मीका कारण सबै विद्यालय बन्द रहेछन् । खुल्नासाथ राम्रो विद्यालयमा भर्ना गरिदिने आश्वासन समेत दिएका थिए उनले ।
करीब २ महिना त्यहीँ बितायो । दिनभर काम गथ्र्यो, साँझ ढावामै सुत्थ्यो । १ दिन घुम्दै गंगा किनारतिर गएको बेला दैवले एक नेपालीसँग भेट गरायो । बझाङतिरका जोशी थरी सज्जन पढ्न आएका रहेछन् तर त्यता बस्न मन नलागेर वनारस जाने तरखर गर्दै रहेछन् । उनकै साथ लागेर गोपाल पनि वनारस पुग्यो सोही सालको जुलाईतिर । गोपाललाई नेपाली संस्कृत महाविद्यालय मंगलागौरीमा छाडेर उनी कता लागे थाहा भएन । दशाश्वमेध घाटमा गाउँले दाजु छन् भन्थे सायद त्यतै लागे होलान् ।
त्यतिबेला नेपाली संस्कृत महाविद्यालय मंगलागौरीका प्राचार्य कृष्णप्रसाद ढुंगाना थिए कडा स्वभावका, जो कोही विद्यार्थी सामुन्ने पर्नै नसक्ने । निकै केरकार गरेपछि मात्र उसलाई बस्न दिन राजी भए उनी ।
वनारसको विशेषता के भने अग्लो घर साँघुरो गल्ली, जुन हेरे पनि उस्तै, नयाँ मानिसलाई बसेको ठाउँ पहिल्याउनै गाह्रो । एक दिन घाम ओइलाउन लागेपछि घुम्न निस्केको गोपाल फर्कने बाटो नचिनेर घुम्याघुम्यै भयो । हिँड्दाहिँड्दै अलाइपुरातिर पो पुगेछ राति १० बजेतिर । त्यतिबेला चितवन माडीका मित दाइ नाता पर्ने घिमिरे दाइ अलाइपुरा मुसलमान गल्लीमा दरवानी गर्दा रहेछन्, जोसित चितवनमा हुँदै चिनजान भएको थियो ।
अचानक गोपाललाई देखेर छक्क पर्दै सोधे, ‘ओ हो ! भाइ तिमी ? कसरी यहाँ आइपुग्यौ ?’
‘के भनौं दाजु ! यस्तै भयो ।’ मसिनो स्वरमा बेलिविस्तार लगायो गोपालले ।
त्यसपछि कुनै काम खोजिदिने आश्वासन दिँदै केही दिन आफ्नै डेरामा राखे उनले । २–४ दिनपछि नजिकैको अर्को गल्लीमा राति गस्ती गर्ने काम मिल्यो, जहाँ एकसेएक वनारसी सारी उत्पादन हुने गर्थे ।
साँझ १० बजेबाट शुरू भएको ड्युटी बिहान ६ बजेसम्म चल्थ्यो । रातभर सिठ्ठी फुक्दै ‘जाकते रहो’ भनेर कराउँदै गल्ली घुम्नुपथ्र्यो । तलब महिनाको डेढ सय भारु मिल्थ्यो, जुन महिना बितेपछि घरघरमा गएर माग्नुपथ्र्यो । ऊ ड्युटी सकी बिहान विद्यालयमा गएर सुत्थ्यो, साँझ खाना खानासाथ ड्युटी जाने गथ्र्यो । करीब ३ महिना यसैगरी बितायो । रातभर ड्युटी गरेपछि दिउँसो सुत्नै पर्यो । अनि पढ्ने कति बेला ? कसैले थाहा पाए सन्काहा प्राचार्यले कतिबेला के गर्ने हुन् ? थाहा थिएन । ड्युटी छाडौ हातमुख जोर्ने अवस्था थिएन, गरौ पढ्ने अवसर मिलेन । केही दिन काम छाडी विश्वनाथ गल्लीको सदावर्त खिचडी खाएर काम चलाउने प्रयास पनि नगरेको होइन तर भने जस्तो भएन ।
अघिल्लो दिन १२ बजे खाएको खिचडीले भोलिपल्ट १२ बजेसम्म धान्नुपर्ने हुन्थ्यो । नियतिले मजबुरीसित सम्झौता गर्न सिकाए पनि प्रकृतिले स्वीकारेन ।
यत्तिकैमा दशैं मानेर पूर्वतिरका केही विद्यार्थी फर्केर वनारस फर्के । तीमध्ये १ जना जोखनराम संस्कृत पाठशाला खैरा मिर्जापुरका विद्यार्थी पनि रहेछन् । उनैबाट त्यहाँ खाने–बस्ने सहितको पढ्ने सुविधा छ भन्ने थाहा पाएपछि गोपाल पनि त्यतै लाग्यो । विद्यालय परिसर ठूलै रहेछ । कुनै पाठक थरी सज्जनले खोलेका रे बुवाको नाममा । बाहिर पढाइ हुन्थ्यो, भित्र बस्ने र खाने स्थान थियो । प्राचार्य जडाशंकर त्रिपाठी थिए साह्रै सज्जन ।
वातावरण राम्रै लागेकाले त्यहीँ बसेर पढाइ शुरू गर्यो गोपालले । छात्रावासमा बस्ने विद्यार्थी सबै नेपाली थिए । स्थानीय विद्यार्थीहरू घरबाटै आउजाउ गर्थे । समय बित्दै गयो । त्यही साल माघ महिनामा प्रयागराजमा महाकुम्भ मेला लागेको थियो । महिनाभर चल्ने मेलामा दैनिक २ करोडभन्दा बढी भक्तजनले गंगास्नान गर्थे रे !
गुरुले मेला भर्न जाने कुरा उठाउनुभएपछि गोपालले पनि सँगै जाने कुरा गर्यो । साथमा अन्य २ नेपाली विद्यार्थी पनि जान्छौं भन्न लागे । गुरुले विद्यार्थीको आग्रह टार्न सक्नुभएन र परिवारका साथमा उनीहरूलाई पनि लिएर जानुभयो, अन्तिमतिरको विशेष दिनमा गंगास्नान गर्ने गरी । मेला भर्न जाने यात्रुको भीड यति बढी थियो कि रेलको छतमा समेत सितिमिति बस्ने ठाउँ मिल्दैन्थ्यो । रेल्वे ट्राफिक जाम त्यत्तिकै, जसले गर्दा अघिल्लो दिन साँझ इलाहावाद पुग्नुपर्ने रेल भोलिपल्ट बिहान १० बजेतिर मात्र उत्रिन सफल भयो ।
मेलाको विशेष दिन त्यही भएकाले झोला शिविरमा राखेर गोपाल पनि गुरुजनको साथमा गंगाजमुना संगमतिर लाग्यो । भीडका कारण बाटो पाउन त्यति सहज थिएन । डोरी टाँगेर आउने–जाने बाटोको व्यवस्था गरेको रहेछ मेला प्रशासनले । शिविरबाट घुम्दैघुम्दै संगम पुग्दा साँझ झर्न लागिसकेको थियो । हतारहतार संगममा डुबुल्की मारी शिविरतिर फर्के सबै तर विडम्बना भइदियो के भने फर्कदा १ जना साथी छलिएछन् । शिविरमा पुगेर दिनभर सिमसिम परेको पानीले भिजेको लुगा फुकाली दोलाई ओड्ने विचारले आएको विचरा गोपाल सोही लुगाले साथीको खोजमा हिँड्न विवस भयो । माघको महिना, प्रयागराजको चिसो बालुवा, त्यसमाथि दिनभर परेको पानी किन खपिखानु हुन्थ्यो र जाडो । तैपनि स्युस्यु गर्दै हिँड्नुको विकल्प थिएन ।
तर भइदियो के भने जाडोले काम्दै मान्छेको भीडमा हराएको मान्छे खोज्न हिँडेको गोपाल कुन सड्को आफैं हराएर विपत्ता भयो, थाहा पत्तै भएन । उसको साथमा न थप लगाउने कपडा थियो, न पैसा नै । जो भएको शिविरमै राखेर हिँडेको थियो । यद्यपि गुरुजनहरूले रातभर खोज्ने प्रयास नगर्नुभएको होइन तर केही लागेन । भोलिपल्ट गुरुजनहरू निराश हुँदै विद्यालय फर्कनुभो, गोपालको भने अहिलेसम्म अत्तोपत्तो छैन । भीडले किचेर प्रयागराजमै विलीन भयो कि कुनै कुनामा बसेर दुनियाँलाई हेर्दैछ । खोज जारी छ, कतै भेटे खबर लिएर आउने वाचा बन्धनसहित आजलाई यति नै ।
वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...
त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौ...
सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...
गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...
गोपी मैनाली कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् । ...
असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...