२६ जेठ २०८३, मंगलबार

अस्ट्रेलियामा बढ्यो नेपालीको संख्या, आप्रवासीहरूमध्ये शीर्ष ११औं स्थानमा

असार १४, २०७९
अस्ट्रेलियामा बढ्यो नेपालीको संख्या, आप्रवासीहरूमध्ये शीर्ष ११औं स्थानमा

अस्ट्रेलियामा नेपाली मूलका व्यक्तिहरूको संख्या बढेको ताजा जनगणनामा देखिएको छ । 

द गार्डियन पत्रिकामा छापिएको खबरअनुसार, उक्त देशमा रहेका आप्रवासीमध्ये नेपालीहरू शीर्ष ११औं स्थानमा छन् ।

भारतीयपछि नेपालीहरूको संख्या अस्ट्रेलियामा ह्वात्तै बढेको पाइएको छ । 

सन् २०२१ मा गरिएको जनगणनामा थप ७० हजार नेपालीको गणना गरिएको थियो । त्यो अघिल्लोभन्दा १२३.७ प्रतिशतको वृद्धि हो । जनगणनामा नेपालीको कुल संख्या एक लाख २२ हजार ५०६ पाइएको छ । 

सन् २०१७ पछि अधिकांश नेपाली आप्रवासीहरू स्किल्ड र पार्टनर भिजामा आएको अस्ट्रेलियाको गृह मन्त्रालयले जनाएको छ । नेपालीहरूमाझ नर्सिङ, अकाउन्टिङ र कूक सबभन्दा लोकप्रिय व्यवसाय हुन् ।

बिजनेस डेभलोपमेन्ट म्यानेजर मदनमणि अधिकारी सन् २०१९ मा अस्ट्रेलियाका स्थायी बासिन्दा बनेका थिए । उनी नेपालबाट त्यहाँ अन्तर्राष्ट्रिय विद्यार्थीका रूपमा पुगेका थिए । 

अधिकारीका अनुसार, युवा नेपालीहरूले देशमा करीयर बनाउन संघर्ष गर्नुपर्छ तर अस्ट्रेलियाले सेटल हुनका लागि विशाल अवसर दिन्छ । 

‘उता नेपालमा धेरै मानिसलाई अस्ट्रेलियाको जीवनशैली र अवसरको बारेमा जानकारी छ,’ उनले बताए ।

‘यहाँ मानिसहरूले सजिलै उपलब्धि हासिल गरेको उनीहरू देख्छन् । नेपालमा त्यो उपलब्धि पाउन निकै गाह्रो छ । नेपालीहरू मिहिनेती र काममा लगनशील हुन्छन् तर नेपालमा राजनीतिक अस्थिरता र न्यून आर्थिक वृद्धि छ । त्यसले पनि नेपालीहरूलाई अस्ट्रेलिया जान प्रेरित गरेको छ,’ उनले थपे । 
 

salt training

कमेन्ट गर्नुहोस्