पुस १८, २०८०
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
असार २३, २०७९
युक्रेन युद्धसँगै रुसले पश्चिमसँगको सम्बन्ध औपचारिक रूपमै विच्छेद गरेको देखिन्छ । पश्चिमप्रति अनुराग राख्ने रुसी रणनीतिकारहरू समेत त्यसबाट विरक्त भएर एसियातर्फ रुसको ध्यान जानुपर्ने पैरवी गर्न थालेका छन् ।
त्यसैक्रममा रुसका अग्रणी रणनीतिकार दिमित्री ट्रेनिनको एउटा आलेख तीन दिनअघि (४ जुलाईमा) रुसी सञ्चारमाध्यम आरटीमा प्रकाशित भएको छ । ट्रेनिन पहिला पश्चिमसँग सम्बन्ध घनीभूत बनाउने खेमाका उदारवादी विचारक थिए भने अहिले पश्चिमले रुसको अस्तित्वलाई नै संकटमा पार्ने किसिमका गतिविधि गरिरहेको देखेपछि उनमा परिवर्तन आएको छ । आरटीको लेखमा ट्रेनिनले रुसको बृहद् रणनीतिको विशद चर्चा गरेका छन् ।
रसियन इन्टरनेसनल अफेयर्स काउन्सिलका सदस्य ट्रेनिनका अनुसार, अब मस्कोले पश्चिम र पूर्वका बीचमा बस्ने छुट पाउँदैन । युक्रेन युद्ध शुरू भएसँगै पश्चिम र रुसबीच पहिल्यै कोरिएको विभाजनको रेखा थप गहिरिएको छ ।
पश्चिमसँगको सम्बन्धमा आएको यो निर्णायक विभाजन तीन कारणले महत्त्वपूर्ण रहेको ट्रेनिन लेख्छन् । पहिलो, पश्चिमले एकजुट भएर रुसविरुद्ध आर्थिक प्रतिबन्ध लगाएको तथा रुसलाई कमजोर बनाउन हातहतियार सहयोग गरिरहेकाले अब पश्चिमसँग सुमधुर सम्बन्ध राख्न नसकिने स्थिति आएको छ ।
त्यसो त युक्रेनविरुद्ध आक्रमण गर्दा रुसमाथि पश्चिमले प्रतिबन्ध लगाउँछ भन्ने कुरा थाहा पाएरै निकै सोचविचार गरी रुस सरकारले कदम चालेको थियो । प्रतिबन्धको कडा असरबाट बच्नका लागि पहिले नै उपाय अपनाएर मात्र आक्रमण थालिएको थियो ।
हुन पनि रुसमाथिको प्रतिबन्धको असर उल्टै पश्चिम (र बाँकी विश्व) लाई परिरहेको छ । यसले विश्व अर्थतन्त्रलाई थप क्षति गरिरहेको छ ।
तर पश्चिमले रुसविरुद्ध जति कठोर प्रतिबन्ध लगाउँदै जान्छ गैरडलरीकरण त्यति नै बढ्दै जान्छ । फलस्वरूप अमेरिकी मुद्राको विश्वव्यापी प्रभुत्व कमजोर बन्दै जान्छ । वास्तविक बहुध्रुवीयता त्यसपछि सम्भव बन्छ । तथापि रुसलाई झुकाउने उद्देश्यका साथ पश्चिमले प्रतिबन्ध लगाएपछि उससँग सम्बन्ध विच्छेद गर्न रुसलाई उचित आधार प्राप्त भएको छ ।
दोस्रो, सोभियत संघको पतन भएपछि पश्चिमा मुलुकहरूको सहायतामा रुसको पुनरुत्थान भएको हो तर अहिले तिनै पश्चिमाहरू रुसविरुद्ध उभिएकाले पश्चिमको भरपर्दो विकल्प खोज्नैपर्ने बाध्यता रुसलाई छ । त्यो विकल्प एसियाली तथा अफ्रिकी मुलुकहरूले उपलब्ध गराउनेछन् ।
तेस्रो, पश्चिमी सभ्यता तथा क्रिस्चियन धर्मसँग आत्मीयता राख्ने रुसको अभिजात वर्ग पनि पश्चिममा चलिरहेको छाडावादी (वोक) प्रवृत्तिसँग आजित छ । त्यस्तो वोक प्रवृत्ति परम्परागत रुसी संस्कृतिको विरोधी रहेको उनीहरूको सोच छ ।
पोहोर साल रुसको अग्रणी थिंकट्यांक भाल्दाई डिस्कसन क्लबले आयोजना गरेको कार्यक्रममा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पनि पश्चिममा चलिरहेको निषेध संस्कृति (क्यान्सल कल्चर), वोक संस्कृति तथा तेस्रोलिंगीहरूलाई दिइएको अनावश्यक महत्त्वको आलोचना गरेका थिए । रुसको परम्परागत संस्कृतिसँग त्यो मेल नखाने उनको भनाइ थियो । अर्थात्, रुसको अभिजात वर्गका मानिसहरू अब पश्चिमसँग सभ्यतागत आत्मीयता कायम राख्न नसकिने निष्कर्षमा पुगेका छन् ।
पश्चिमसँग यसरी सम्बन्धविच्छेद गरेपछि रुसले बाँकी विश्वसँग आत्मीयता बढाउनुपर्ने सुझाव ट्रेनिनले दिएका छन् । यस्तो आत्मीयता विस्तारको उचित कारण पनि विद्यमान छ ।
विगत ३० वर्षमा गैरपश्चिम ग्लोबल साउथले उल्लेखनीय प्रगति गरेको छ । विशेषगरी चीनको प्रगति त असाधारण किसिमको छ । पश्चिमले रुसमाथि प्रतिबन्ध लगाउनुअघि नै चीनले रुससँग व्यापक व्यापारिक साझेदारी गर्दै आएको थियो । अनि अमेरिकाको खटनपटन नमान्ने गरी स्वतन्त्र हैसियत देखाउने भारत, साउदी अरब, टुर्किये र इरान जस्ता मुलुकहरू पनि रुससँग कारोबार गर्न लालायित छन् ।
यस्तो अनुकूल वातावरण निर्माण भइरहेको अवस्थामा रुस अब पश्चिमप्रतिको निर्भरतालाई उल्लेख्य रूपमा घटाउन समर्थ भइसकेको छ । त्यसैले गर्दा ट्रेनिनले गैरपश्चिम मुलुकहरूसँगको सम्बन्धलाई प्राथमिकता दिनुपर्ने बताएका हुन् । ब्रिक्स मुलुकहरूसँगको आर्थिक अवसरको विस्तृत लेखाजोखा तत्कालै गर्न पनि उनले सिफारिश गरेका छन् ।
ट्रेनिन, बेलारुसी चिन्तक युरी एम यार्मोलिन्स्की, मस्को स्टेट युनिभर्सिटी अफ इन्टरनेसनल रिलेसन्सका रेक्टर एभी तोर्कुनोभ लगायतका लेखकहरूको आलेख अध्ययन गर्दा के थाहा हुन्छ भने पश्चिमसँग रुसीहरू विगत केही समययता बिच्किँदै आएका छन् । युक्रेन युद्ध गराउने गरी नेटोको आक्रामक विस्तार भएसँगै पश्चिमप्रति रुसीहरूको मोहभंग भएको हो ।
पश्चिमको क्रमशः पतन तथा गैरपश्चिमको क्रमिक उदयका कारण विश्व राजनीतिमा दीर्घकालीन परिवर्तन आउने पूर्वानुमानका साथ रुसले आर्थिक केन्द्र बन्दै गएको एसिया प्रशान्त क्षेत्रसँगको सम्बन्ध सुधारमा जोड दिन थालेको हो । त्यस क्षेत्रमा प्रभाव बढाउन रुसलाई चीन र भारतको साथ अपरिहार्य छ ।
त्यसैअनुसार पोहोर साल रुसले जारी गरेको राष्ट्रिय सुरक्षा रणनीतिमा रुसी परराष्ट्रनीतिका लक्ष्यहरूको चर्चा गरिएको छ । त्यसमा चीन र भारतसँगको सहकार्य बढाउने, आसियान लगायतका क्षेत्रीय बहुपक्षीय संस्थालाई समर्थन गर्ने र क्षेत्रीय स्थिरता कायम राख्न सहयोग गर्ने उल्लेख छ ।
बृहत्तर युरेसियाली साझेदारी निर्माण गर्ने लक्ष्यका साथ एसिया प्रशान्त क्षेत्रका मुलुकहरूसँग सक्रियतापूर्वक सम्बन्ध विकसित गर्न पुटिनले पनि परराष्ट्र अधिकारीहरूलाई निर्देशन दिएका छन् । त्यो सम्बन्ध आर्थिक तथा साथै सामरिक पनि हुनेछ ।
मस्कोका लागि रुस–चीन साझेदारीको उच्च महत्त्व छ किनकि युरोपेली बजार गुम्न लागेको अवस्थामा चिनियाँ बजारले रुसी अर्थतन्त्रलाई जोगाइराखेको छ । त्यस्तै ठूलो बजार भएका नाताले भारतसँगको सुमधुर सम्बन्ध पनि रुसी अर्थतन्त्रलाई जीवित राख्न आवश्यक छ ।
रुसको एसियाली नीतिमा चीनलाई सन्तुलनमा राख्न पनि भारतको साथ अपरिहार्य रहन्छ । भारतको साथ नपाउँदा रुस चीनप्रति बढी निर्भर रहनुपर्ने हुनाले ‘जुनियर पार्टनर’ को हैसियतमा बस्नुपर्ने हुन्छ र रणनीतिक स्वायत्तता गुमाउँछ ।
त्यसैले रुसले रुस, इन्डिया, चाइना (आरआईसी) साझेदारीमा बढी जोड दिने गरेको हो । अमेरिका र चीनको द्विध्रुवीय प्रभुत्व नबनोस् र विश्व बहुध्रुवीय रहिरहोस् भन्ने रुसको आकांक्षालाई भारतको साथले साकार पार्नेछ ।
त्यस्तै इरानसँगको सम्बन्ध पनि रुसको बहुध्रुवीय विश्वको आकांक्षाका लागि महत्त्वपूर्ण सेतु हो । भारतसँग स्थल सम्पर्क कायम गर्नका लागि इरान महत्त्वपूर्ण कडी भएकाले रुसका परराष्ट्रमन्त्री गत महिना इरान पुगेर सुमधुर सम्बन्धको सुनिश्चितता गराएका थिए भने इरानका परराष्ट्रमन्त्रीले त्यसअघि भारत पुगेर सभ्यतागत सम्पर्कको कुरा झिकेका थिए ।
रुसको मस्कोबाट भारतको मुम्बईसम्म पुग्ने ७२ सय किलोमिटर लामो जल, स्थल तथा रेलमार्ग नर्थ साउथ ट्रान्सपोर्ट कोरिडोर इरानको बाटो हुँदै जानेछ । त्यस मार्गको परीक्षण सन् २०१४ मै गरिएको थियो र त्यसको सञ्चालनमा तीनै मुलुकहरू गम्भीर छन् । गत जुन ११ मा रुसले लेमिनेट गरिएका काठको एक जत्था त्यही बाटो भएर भारततर्फ पठाएको छ ।
अमेरिकी विश्लेषक एन्ड्रु कोरीब्कोका अनुसार, नवविकसित विश्व व्यवस्थामा प्रभावशाली तेस्रो ध्रुव बनाउनका लागि यी तीन देशले यस्ता प्रकारका सम्पर्क योजनासहितका अन्य क्षेत्रमा पनि सहकार्य गर्न खोजेका हुन् ।
कोरीब्कोले टुर्कियेसँग रुसको सम्बन्धलाई पनि एसियाकेन्द्रित रुसी रणनीतिको आधारशिला बनाउनुपर्ने तर्क गरेका छन् । नेटो साझेदारहरूको दबाबमा नपरी टुर्कियेले रुसमाथि प्रतिबन्ध लगाउन मानेको छैन अनि रुससँग कृषि, वाणिज्यिक, ऊर्जा तथा पर्यटन कारोबार जारी राखेको छ ।
तर टुर्कियेको रणनीति अस्थिर किसिमको छ र आफ्नो फाइदाका लागि ऊ पश्चिमसँग पनि लहसिन सक्छ । त्यसलाई विचार गर्दै रुसले टुर्कियेसँगको सम्बन्धलाई सुमधुर राखिरहन जोड दिनुपर्ने कोरीब्को लेख्छन् ।
विश्व व्यवस्था परिवर्तनको संघारमा पुगेको यस संक्रमणकालीन अवस्थामा रुस राज्यको अस्तित्व जोगाउने संजीवनी बुटी नै एसियाली मुलुकहरूसँगको सम्बन्ध विस्तार भएको ट्रेनिनको लेख पढ्दा अनुभव हुन्छ । तर रुसले रणनीतिक स्वायत्ततालाई पनि उच्च महत्त्व दिने हुनाले पश्चिमसँग भत्केको सम्बन्धको क्षतिपूर्तिका रूपमा पूर्वसँग पूर्ण निर्भर हुने भूल गर्ने छैन ।
आत्मनिर्भर विकासको रणनीतिलाई रुसले अंगीकार गर्नेछ र त्यसमा उससँग भएको प्रचुर प्राकृतिक स्रोतले भरपूर सहयोग गर्नेछ । हालै मात्र रुसले उत्तरी ध्रुवमा रहेको पेचोरा सागरमा विशाल तेल भण्डार पत्ता लगाएको छ ।
पश्चिमसँग सम्बन्ध विच्छेद गरेर पूर्वतर्फ केन्द्रित हुन थालेको रुससँग नेपालले पनि सम्बन्ध विस्तार गर्नु जरूरी छ । सोभियत संघसँग निकट सम्बन्ध राखेको नेपाल त्यसको पतनपछि केही टाढिएको हो ।
नेपालमा रहेका अमेरिकापक्षधर नवउदारवादीहरूले यसमा योगदान गरेका हुन् । अहिले तिनीहरूकै हालीमुहाली रहेकाले युक्रेन युद्ध शुरू भएपछि संयुक्त राष्ट्रसंघमा रुसविरुद्ध मतदान गरेर नेपालले महाभूल गरेको छ । तैपनि त्यसलाई बिर्संदै रुससँगको सम्बन्ध अघि बढाउनु अहिलेको आवश्यकता हो ।
संसारभरि नवीकरणीय ऊर्जाका लागि मारामारी भइरहेको बेलामा नेपालको जलविद्युत् सम्भाव्यतामा रुसको पनि चासो रहेको पाइन्छ । त्यस्तै नेपालमा रहेका खनिज पदार्थ उत्खननमा पनि रुस इच्छुक छ ।
अनि नेपालको पहाडी इलाकाका लागि अनुकूल हेलिकप्टरहरू रुसबाटै आउने गरेका छन् भने रुसले नेपाललाई आफ्ना विमानहरू पनि दिन खोजेको छ । रुससँग आर्थिकका साथै सांस्कृतिक सम्बन्ध पनि बढाउनुमा नेपालको हित देखिन्छ ।
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...