
सेवाग्राहीको चापलाई मध्यनजर राख्दै जिल्ला प्रशासन कार्यालय रसुवाले बिहानैदेखि सेवा सञ्चालन गरेको छ ।
नागरिकता, राहदानी एवं राष्ट्रिय परिचयपत्र बनाउने लगायतका सेवा बिहान ८ बजेदेखि नै शुरू गरिएको प्रमुख जिल्ला अधिकारी नवराज जैसीले जानकारी दिए । प्रजिअले सम्पादन गर्ने सबैखाले सरकारी सेवा साउन ९ गतेसम्म दैनिकरूपले बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन गरिने उनले बताए ।
एक सय ११ मेगावाट क्षमताको रसुवागढी हाइड्रोपावरले रसुवावासीका लागि साउन १० गतेसम्म शेयर वितरण गर्ने आह्वान पत्र जारी गरेकाले नागरिकता बनाउनेको घुइँचो लाग्न थालेको छ । शेयर भर्नका लागि नागरिकतालगायतका अन्य कागजात बनाउने सेवाग्राहीको संख्या अधिक भएकाले अतिरिक्त समयमा सेवा दिन थालिएको प्रशासन कार्यालयले जनाएको छ । रसुवागढी हाइड्रोपावरले रसुवावासीका लागि खुला गरेको शेयर बिहीबारसम्ममा ३१ लाख कित्ता खपत भइसकेको हाइड्रो कम्पनीका प्रबन्ध निर्देशक छवि गैरेले जानकारी दिए ।
नयाँ एवं प्रतिलिपि नेपाली नागरिकता लिने सेवाग्राहीको संख्या दैनिक ६० जनाभन्दा बढीको भीड लाग्न थालेपछि कार्यालय समयभन्दा अतिरिक्त समयमा समेत सेवा सञ्चालन गराएको हो ।