रुसका राष्ट्रपति भ्लादिमिर पुटिन टर्कीका राष्ट्रपति रेचेप तैयिप एर्दोआनलाई कुर्नुपर्दा छटपटिएको भिडियो सार्वजनिक भएको छ ।
इरानमा मंगलवार आयोजित रुस, टर्की र इरानको शिखर सम्मेलनमा ४८ सेकेन्डसम्म एर्दोआनलाई कुर्दा पुटिनले औंला चलाएको अनि दिक्क मानेको टीभी क्यामरामा कैद भएको छ ।
पुटिनसँग हात मिलाएर तस्वीर खिचाउनका लागि एर्दोआन समयमा आइपुगेका थिएनन् ।
एर्दोआनले अपमान गरेको ठानेर पुटिन छटपटिएको उनका आलोचकहरूको कथन छ ।
दुई वर्षअघि एर्दोआन मस्को पुग्दा पुटिनले उनलाई दुई मिनेट कुराएका थिए । कुर्ने क्रममा दिक्क मानेर एर्दोआन कुर्सीमा समेत बसेका थिए । अहिले पुटिनलाई कुराएर एर्दोआनले त्यसको बदला लिएको बताइएको छ ।